Logo
Logo

६ महिनामा १ लाख ९० हाजर अफगान शरणार्थी इरानबाट निर्वासित



एजेन्सी । छिमेकी देशहरूमा अफगान शरणार्थीहरू विरुद्धको अत्याचार बढ्दै जाँदा, विगत छ महिनामा करिब एक लाख ९० हजार अफगानीहरूलाई इरानबाट निर्वासित गरिएको टोलो न्यूजले विश्लेषकहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

विश्लेषकहरूका अनुसार देशमा रोजगारीको अभाव र मानवअधिकार उल्लङ्घनका कारण मानिसहरू गैरकानूनी बाटो भएर इरान, टर्की जस्ता छिमेकी देशहरूमा पलायन हुन बाध्य भएका छन् । ‘मलाई आशा छ हाम्रो देश विकसित भएको छ र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना हुनेछन्। मैले इरानमा धेरै समस्याहरू देखेको छु’, निर्वासित अब्दुल गफोरले भनेका छन् ।

शरणार्थी र स्वदेश फिर्ता प्रान्तीय विभागका प्रमुख सादिकुल्लाह नसरतले विगत छ महिनामा निमरोज बन्दरगाहबाट निर्वासित ६८ हजार २५८ भन्दा बढी शरणार्थीहरूलाई सहायता प्रदान गरिएको बताएका छन् ।

इरानमा जबरजस्ती पठाइएका शरणार्थीहरूले पनि आफूले भोग्नुपरेको चुनौतीप्रति निराशा व्यक्त गर्ने गरेका छन् । युद्धग्रस्त अफगानिस्तानको कमजोर अवस्थाबारे गुनासो गर्दै अर्का निर्वासित खुदादले भने, ‘मैले कुनै खुसीका दिन देखेको छैन। म सधैं काममा लागें तैपनि मलाई निकालियो।’

इरानमा अफगान आप्रवासीको बढ्दो सङ्ख्याको मुख्य कारण अफगानिस्तानको राजनीतिक अस्थिरता र आर्थिक संकट हो। काबुलमा सत्तामा पुगेपछि, इस्लामिक समूहले आधारभूत अधिकारहरू-विशेष गरी महिला र केटीहरूको अधिकारहरूलाई कडा रूपमा प्रतिबन्धित गर्ने नीतिहरू लागू गरेको र त्यसले गम्भीर समस्या निम्त्याएको बताइएको छ ।

ह्युमन राइट्स वाचका अनुसार तालिबानले निजामती सेवामा नेतृत्वदायी पदबाट सबै महिलाहरूलाई निष्कासन गरेको छ भने अधिकांश प्रान्तहरूमा छात्राहरूलाई माध्यमिक विद्यालयमा जान प्रतिबन्ध लगाइएको छ ।

इस्लामिक स्टेटको अफगान शाखासँग सम्बन्धित सशस्त्र समूहहरूले हजारा, अफगान शिया, सुफी र अन्य जातिहरूलाई लक्षित गरी बम विष्फोट गराएको छ जसमा सयौंको मृत्यु र घाइते भएका छन्। शान्तिसुरक्षाको स्थिति पनि दयनीय छ ।

यसअघि वैशाखमा छिमेकी मुलुक पाकिस्तान र इरानमा शरण लिएका नागरिक १ हजार ९४ जना अफगानी नागरिक स्वदेश फर्किएको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले जनाएको छ ।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार सन् २०२१ को अगस्टदेखि मूलतः छिमेकी देशहरूबाट छ लाख ५३ हजार भन्दा बढी अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका भने केही अन्य देश निर्वासित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्