Logo
Logo

मतदान : सुनिश्चित भविष्यलाई



मतदानका दिन
सत्ते, म आफैँ खसेको थिएँ मतपेटिकामा नै
नतिजा निस्किएपछि मलाई
त्यहाँबाट उतार्ने विजेता
बेपत्ता थियो ।

‘द ब्यालेट इज स्ट्रन्गर द्यान अ बुलेट’– अब्राहम लिन्कनले दिएको यस परिभाषाले मतदानको सम्पूर्ण अर्थ दिन्छ । बुलेट अर्थात् बन्दुकले नसकेर कयौँ विद्रोहीले ब्यालेट नै रोजेका छन्, कोलम्बिया, श्रीलङ्का, टाढा किन हाम्रै नेपालमा पनि जनयुद्ध आखिर शान्तिसम्झौतामा गएर टुङ्गिएको हो ।

प्रजातान्त्रिक समाजमा यो एक शक्तिशाली अहिंसात्मक औजारमध्ये एक हो, जसको हामीले प्रयोग गर्नैपर्छ । निर्वाचनमा एक मत मात्र पनि अमूल्य हुन्छ । हामीले परिवर्तन चाहेर मात्र हुँदैन, यसका लागि मतदान केन्द्रमा गएर मतदान गर्नैपर्छ । जुन कुराले गहिरो अर्थ राख्छ, त्यसमा हामी मौन बस्यौँ भने हाम्रा दिन सकिन्छन् । हामीले मत दिएनौँ भने इतिहासको उपेक्षा र भविष्यप्रति विश्वासघात हुने छ ।

सबै दल र उम्मेदवार उस्तै हुन् भन्यौँ भने पूर्वाग्रह हुन्छ । तपाईं मत दिन नगएमा चुनावबाट गलत मान्छे छानिन सक्छ । सबै उस्तै हुन् भन्ने तपाईंलाई लागेको छ भने तपाईं किन आफैँ उठ्नुहुन्न त ? तपाईंलाई चुनावमा उम्मेदवार हुन कसले रोकेको छ र ?

सबै उस्तै हुन्नन्, १९ र २० को फरक त होला नि । अनि पुरानालाई मन पराउनुहुन्न भने नयाँ पनि त छान्न सक्नुहुन्छ नि । नयाँलाई पनि परीक्षण गर्न दिनुहोस् । बूढाहरू नभए तन्नेरी पनि छन् । बाघ बूढो र स्याल तन्नेरी मात्र भनेर हुँदैन भन्नुहुन्छ भने बाघैलाई दिनोस् । सरकारमा गइसकेकाहरूलाई दिन्न भन्ने लाग्छ भने कहिल्यै सदनमा नगएकाहरू पनि मैदानमा छन् ।

यो एक्काइसौँ शताब्दी हो । समाज निकै खुला भइसकेको छ । नयाँले पनि ढाँटे भने अर्काे चुनावमा फेरि हराइदिनुस् । अहिलेको जमानामा पनि कोही पैसाले भोट जित्छु भन्ने ठान्छन् भने कि तिनले मतदातालाई जनावर सोचेका छन् कि ती आफैँ महामूर्ख हुन् ।

राजनीति र निर्वाचनलाई गाली नगर्नुहोस्, यसलाई अझ सही बाटोमा ल्याउन सक्नेलाई मत दिनुहोस् । मतदान भनेको विवेक दान हो, आवेगमा हैन विवेकले मतदान गर्नुहोस् र भविष्यका लागि ढुक्क हुनुहोस् ।

कोही मूर्ख हुन चाहन्छ भने हुन दिनोस्, भोट विद्वान्लाई पनि दिन सक्नुहुन्छ । हेर्नाेस्, मतदान भनेको तपाईंका लागि मात्र नभएर हाम्रा सन्ततिको भविष्यका लागि पनि हो । सारा देशको भविष्य त तपाईंकै हातमा पो रहेछ ।

हामी सबै प्रायः समान रूपले नै जन्मेका हौँ । यदि हामी सबै समान हौँ भन्ने लाग्छ भने मतदान गर्नैपर्छ, पर्खने कुरै छैन । तपाईंलाई मतदान गर्ने अधिकार दिलाउन धेरैले ज्यानको बाजी मारेका छन् । त्यसैले मतदान गरौँ ।

अहिलेका कोही कसैले बहिष्कार नारा दिएका छन् भने तिनको इतिहास पनि हेर्नाेस्, तीमध्ये अधिकांश एकपल्ट संसदीय प्रजातन्त्रमा विश्वास भएर सांसद, मन्त्री भइसकेकाहरू हुन् ।

तिनले भनेको हामीले किन मान्ने ? मतदान गर्नुअघि एक पल्ट पार्टी र उम्मेदवारहरूका घोषणापत्र, तिनको इतिहास, तिनले मञ्च वा सञ्चारमाध्यममा बोलेका कुरा पनि अध्ययन गरिदिनुहोला, नत्र तिनको मेहनत खेर जाला । सबैलाई चिन्नुहोस् र तिनको भूत, वर्तमान जानेर भविष्यमा के गर्लान् भनी विश्लेषण गर्नुहोस् ।

वास्तवमा यो निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको हो जसले मुलुकका लागि आवश्यक ऐनकानून बनाउँछन् । जनताका सुखसुुविधाका लागि आवश्यक ऐन बनाउन सक्ने उम्मेदवारलाई मत दिनुहोस् ।

मुलुकमा कानून, संविधान र लोकतन्त्रको रक्षा र समृद्धि दिन सक्नेलाई चिन्नुहोस् । राष्ट्रको सीमा रक्षा गर्न सक्ने, गुमेको भूमि फिर्ता ल्याउन सक्ने तथा राष्ट्र र राष्ट्रियता बचाउन सक्नेलाई बुझ्नुहोस् ।

राजनीति र निर्वाचनलाई गाली नगर्नुहोस्, यसलाई अझ सही बाटोमा ल्याउन सक्नेलाई मत दिनुहोस् । मतदान भनेको विवेक दान हो, आवेगमा हैन विवेकले मतदान गर्नुहोस् र भविष्यका लागि ढुक्क हुनुहोस् ।

‘चर्काे घाममा मतदान गर्न
घण्टौँ उभिरहेको थिएँ
बेहोश भएर लडेछु कुन बेला
त्यतिबेला मलाई पानी छम्कने
कुनै उम्मेदवार थिएनन् ।’
(‘नदी बग्दैन’, २०७८)

[email protected]

प्रतिक्रिया दिनुहोस्