Logo
Logo

कर्णाली : प्रतिनिधिसभातर्फ ६ क्षेत्रको नतिजा सार्वजनिक, कहाँ को विजयी ?



सुर्खेत । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जित निकालेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ ।

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित भएका छन् । उनले २२ हजार ८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाए । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।

सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार विसी पराजित भएका छन् । थानीको पक्षमा ३४ हजार ६ सय २५ मत आउँदा एमालेका अमृतकुमार विसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे ।

त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरेका छन् ।

थापाले १८ हजार दुई सय ५६ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार चार सय सात मत प्राप्त गरे । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले चार हजार ६ सय दुई मत प्राप्त गरे ।

यता क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन् । उनले एमालेका लक्ष्मी पोख्रेललाई एक सय ५३ मतान्तरले हराएका हुन् ।

यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार एक सय २० मत ल्याएर पराजित भए ।

यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार सात सय मतसहित स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई पराजित गरेका छन् । शाहले १९ हजार सात सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्