काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् । देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि ज्याज दिन तयार रहेको बताएका हुन् ।

उनले भने, ‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन । जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’
कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएको बताउँदै उनले जनताका प्रतिनिधिबाहेक कसैले पनि ‘हाइज्याक’ गर्न नसक्ने बताए । ‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । नेपाली जनताको पार्टी हो,’ देउवाले भने, ‘जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन ।’
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतबाट फेरि पनि न्याय पाउनेमा विशवस्त भएको दोहोर्याए ।
पूर्वसभापति देउवाले २३–२४ भदौ २०८२ को घटना षडयन्त्र भएको पनि दाबी गरे । ‘त्यो षडयन्त्र थियो हेर्नुस् । जो डेमोक्रेसीका लागि लडे, जेल जीवन बिताए, ती नेताका सन्तान, आश्रम छानिछानी जलाइएको छ,’ देउवाले भने । कांग्रेसका संस्थापक नेताहरूका छोराहरू आफूसँग रहेको भन्दै उनले सुवर्णशमशेरका सन्तानहरूसँग पनि कुरा गर्ने बताए ।


















