Logo
Logo

दूध उत्पादक किसानसामु समस्यै–समस्या


0
Shares

प्रकाश धौलाकोटी, तेह्रथुम (रासस) ।
तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको छैन ।
उहाँलाई गोठभरि एक दर्जन गाई पाल्ने धोको छ । त्यसका लागि आवश्यक इच्छाशक्ति र जमीन पनि छ उहाँसँग । तर, लगानी गर्ने रकम जुटाउन नसक्दा उहाँले व्यावसायिक गाईपालन गर्न सक्नुभएको छैन । सस्तो ब्याजमा ऋण लिएर गाईपालन गर्न प्रयत्न गरे पनि गाउँका जग्गा धितो लिएर बैंकले ऋण नदिँदा र सुलभ ब्याजदरमा ऋण नपाउँदा समस्या भएको उहाँले बताउनुभयो ।
‘सरकारले किसानलाई हेपेको छ, किसानले उत्पादन गर्छ र त्यसलाई सबैले उपभोग गर्छन,’ उहाँ भन्नुहुन्छ, ‘तर सरकारको नीति चाहीँ तिनै किसानलाई अपहेलना गर्ने किसिमको छ ।’ युवालाई यो पेशामा लाग्न सरकारी नीतिले प्रोत्साहन नमिल्ने गरेको उहाँको अनुभव छ । भट्टराईको जस्तै दुखेसो छ, छथर गाउँपालिका–१, आङ्दिमका किसान राजकुमार पन्तको पनि ।

चार दूधालु गाई पालेर मासिक ३० हजार रुपैयाँ आम्दानी गरिरहनु भएका पन्तले गाईपालनलाई नै मुख्य पेशा बनाउनुभएको छ । आफूसहित अन्य दुई जनालाई रोजगारी दिनुभएका उहाँ गाईपालनमा थुप्रै सम्भावना देखे पनि समस्याहरुको थुप्रो रहेको बताउनुहुन्छ । ‘ढुवानीमा समस्या छ, उन्नत जातका घाँसमा लगानी छैन, दूध बेच्यो, भुक्तानी समयमा हुँदैन,’ उहाँ भन्नुहुन्छ ।
दुग्धजन्य व्यवसायबाट आर्थिक लाभ लिन चाहने किसानले उतिकै समस्या भोगिरहेका उहाँले बताउनुभयो । गाउँपालिकाका हरेक वडामा गाउँ–गाउँसम्म पनि सडक पुगेको छ तर, बाह्रै महिना सवारी चल्दैनन् । पन्त भन्नुहुन्छ– ‘सडक त छन्, तर भरपर्दा छैनन्, त्यसैले ढुवानीमा हामीले घोडाको प्रयोग गरिरहेका छौँ ।’
उहाँका अनुसार अहिले पनि गाउँबाट सङ्कलन केन्द्रसम्म पिठ्युँमा क्यान बोकेर दूध ढुवानी गनुपर्ने अवस्था छ । भट्टराई र पन्तजस्तै छथर गाउँपालिकाका धेरै किसानले यस्तै समस्या सुनाउँछन् । यहाँको आम्दानीको स्रोतमध्ये दूध र दुग्धजन्य उत्पादन मुख्य हुन् । किसानले दुग्धजन्य वस्तुबाट आम्दानी त लिएका छन्, तर थाकका थाक समस्या पनि बोकेर बसेका छन् ।
छथर गाउँपालिकाबाट किसानले दैनिक सरदर ५ हजार लिटर दूध बिक्री गरिरहेका छन् । गाउँपालिका क्षेत्रभित्रका अधिकाँश दूध यहाँको छथर दुग्ध उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको चिस्यान केन्द्रमार्फत खरिद–बिक्री भइरहेको छ । गाउँपालिका क्षेत्रका हमरजुङ, फाक्चामारा, पञ्चकन्या, सुदाप, ओख्रे र आङिदमका किसानले करीब एक दर्जन सहकारीहरुले सञ्चालन गरेका सङ्कलन केन्द्रमार्फत चिस्यान केन्द्रमा दूध पठाउँछन् ।
यहाँ उत्पादित दूध स्थानीय छुर्पी उद्योगहरु, धरान डेरी र हिलेस्थित डेरीले खरिद गर्दैआएका छन् । दूधबाटै छथर गाउँपालिकाका किसानले मासिक ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छथर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बुद्धि खुलालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘किसानले आम्दानी पनि लिइरहेका छन् तर, त्यसबाट जति आम्दानी लिन सकिने हो, त्यति चाँही लिन सकेका छैनन् ।’ दूध ढुवानी गर्ने कृषि सडकहरु बाह्रै महिना सवारी सञ्चालन गर्न योग्य छैनन् ।
किसानलाई विना धितो सस्तो ब्याजमा ऋण पाउने व्यवस्था छैन । उन्नत जातका गाई खरिद गर्न प्रतिगोटा डेढ लाख रुपैयाँसम्म पर्छ । बीउका लागि साँढेहरु उपलब्ध छैनन् । कृत्रिम गर्भाधानका लागि प्रविधिज्ञहरु छैनन् । उन्नत जातका घाँस र आधुनिक प्रविधिको गोठ व्यवस्थापनमा किसानलाई प्राविधिक ज्ञान छैन । किसानका समस्याबारे बताउँदै अध्यक्ष खुलालले भन्नुभयोे– ‘धेरै समस्या छन् जुन प्रत्यक्ष÷अप्रत्यक्ष छन् । सामान्य ढङ्गले समाधान हुने समस्यामा पनि सरकारी निकायको चासो गएको छैन ।’
जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामध्ये सबैभन्दा धेरै दूध उत्पादन हुने क्षेत्र छथर नै हो । यसबाहेक लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिकामा पनि गाईपालन गर्ने किसानहरुको सङ्ख्या बढ्दो छ । मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकामा उत्पादन भएको दूधले स्थानीय मागलाई नै धान्न सकेको छैन ।
म्याङलुङ्गमा किसानले उत्पादन गरेका दूधले बजारको मागलाई धान्न सकेको छैन । लालीगुराँस नगरपालिकामा उत्पादित दूध किसानले दुग्ध विकास संस्थानलाई बिक्री गर्दैआएका छन् । सडक राम्रो नभएको भन्दै संस्थानले छथर क्षेत्रमा उत्पादित दूध लैजान नमानेको किसानको गुनासो छ । ‘दूध त निजीले पनि लैजान्छन्, तर पैसा ढिलो दिन्छन, कतिले दिँदैनन,’ सोल्माका किसान दिलकुमार लिम्बुले भन्नुभयो ।
‘हामी किसानले उत्पादन गर्छौँ तर, त्यसको उचित बजार व्यवस्थापन गर्न सरकारले सघाएन,’ उहाँले गुनासो गर्नुभयोे । दुग्ध विकास संस्थानले पनि किसानलाई प्रोत्साहन मिल्ने गरी काम गर्न नसकेको उहाँले बताउनुभयो । दुग्ध उद्यमी किसानहरुको ठूलो आशा छ स्थानीय तह र जनप्रतिनिधिहरुमाथि । अहिले स्थानीय सरकारको रुपमा रहेका गाउँपालिका र नगरपालिकाहरुमा जनप्रतिनिधि निर्वा्चित भएर आएपछि किसानलाई समस्या राख्न सजिलो भएको छ । तर जनप्रतिनिधिले भने किसानका समस्यामा केन्द्रित हुन मेसो पाएका छैनन् । जिल्लाका कुनै पनि स्थानीय तहले दूध उत्पादक किसानलाई लक्ष्य गरी खास कार्यक्रम राखेका छैनन् । किसानले जनप्रतिनिधिहरु मार्फत उत्पादित दूधको बजारीकरण, विना धितो सस्तो ब्याजमा ऋण, अनुदान, कृत्रिम गर्भाधानको व्यवस्था, उन्नत जातका गाई र घाँस खरिदका लागि अनुदान, उन्नत गोठ निर्माणमा अनुदानलगायतको व्यवस्था गर्न माग गरेका छन् । किसानहरुको मागबारे थाहा पाएर पनि पहिलो वर्ष केही गर्न नसकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।
आगामी वर्ष किसान लक्षित कार्यक्रमहरुलाई प्राथमिकता राखेर आफ्नो कार्यकालमा सिङ्गो गाउँपालिका गाईपालनको विशेष पकेट क्षेत्रको रुपमा विकास भइसक्ने उहाँले बताउनुभयो । जिल्लाका किसानले वार्षिक बीस करोड रुपैयाँ भन्दा बढीको दूध उत्पादन गर्ने गरेका थिए । किसानले आर्थिक वर्ष २०७३÷७४ मा मात्रै २४ करोड रुपैयाँ बराबरको दूध उत्पादन गरेका जिल्ला पशुसेवा कार्यालयको तथ्यांक छ । सो वर्ष जिल्लामा ६ हजार ७० मेट्रिक टन दूध उत्पादन भएको थियो जसको सरदर बजार मूल्य २४ करोड २८ रुपैयाँ भन्दा बढी हुन्छ । आर्थिक वर्ष २०७२÷७३ मा २३ करोड ९२ लाख रुपैयाँको मात्रै दूध उत्पादन भएको थियो ।
जिल्लामा उत्पादन भएको दूधमध्ये करीब ७ हजार २ सय लिटर दूध दैनिक रुपमा जिल्ला बाहिर निर्यात हुने गरेको कार्यालयका पशु विकास अधिकृत लोकनाथ ढुंगानाले बताउनुभयो । यहाँको दूध दुग्ध विकास संस्थान विराटनगर, जीवन विकास डेरी, कामधेनु सहकारी संस्था, तरहरा लगायत ठाउँहरुमा निकासी हुन्छ । आर्थिक वर्ष २०७३/७४ मा जिल्लाबाट १० करोड २२ लाख रुपैयाँ बराबरको दूध जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार जिल्लामा उत्पादन भएकामध्ये २ हजार ५५५ मेट्रिक टन दूध मात्रै जिल्लाबाहिर निकासी भएको हो । यहाँ दूध प्रतिलिटर सरदर ४० रुपैयाँका दरले किनबेच भइरहेको छ ।
जिल्लाका किसानले उत्पादन गरेको दूध सहकारी संस्था र चिस्यान केन्द्र गरी ३६ भन्दा बढी स्थानबाट दैनिक सङ्कलन हुने गरेको छ । जिल्लामा हाल १० वटा व्यावसायिक कृषि फार्म खुलेका छन् । जिल्लामा २०५१ सालमा इलामबाट उन्नत जातका गाई ल्याएर गाईपालन शुरु गरिएको थियो ।
कार्यालयका अनुसार जिल्लामा २ हजार २०३ वटा उन्नत जातका सहित ६५ हजार ८ सय ५५ वटा गाई पालिएका छन् । यस्तै, १५ हजार ८०३ वटा उन्नत जातका सहित ४३ हजार १७३ वटा भैँसी पालिएका छन् ।

प्रतिक्रिया दिनुहोस्