Logo
Logo

‘समानुपातिकमा हामीलाई जनताको भोट आएन’


लक्ष्मण केसी, नेता, एकीकृत समाजवादी


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा करिब–करिब आइसकेको छ । नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ गठबन्धनबाट प्राप्त निर्वाचन क्षेत्रमा राम्रो सफलता प्राप्त गरेको छ । यद्यपि, समानुपातिकमा भने अपेक्षित परिणाम ल्याउन सकेको छैन । यस्तो अवस्थामा चुनावी समीक्षा, वाम–लोकतान्त्रिक गठबन्धनको आवश्यकता र विकल्पबारे एकीकृत समाजवादीका संगठन विभाग प्रमुख लक्ष्मण केसीसँग गरिएको संवाद ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई कसरी विश्लेषण गर्नुभएको छ ?
यो चुनावमा मुख्यगरी दुई गठबन्धन थिए । एउटा, केपी शर्मा ओली नेतृत्वको गणतन्त्र विरोधी प्रतिगामीबीच गठबन्धन थियो । ओली आफै पनि गणतन्त्र विरोधी हुन् । उनले गणतान्त्रिक आन्दोलनलाई बयलगाढाको संज्ञा दिएको कुरा त स्मरण गराइराख्नै पर्दैन । ओलीको नेतृत्वमा राजावादीहरू, संघीयता विरोधीहरू, देशलाई टुक्र्याउन चाहनेहरू, व्यवस्था विरोधीहरूको प्रतिगमनकारी गठबन्धन थियो । ओली नेतृत्वको प्रतिगमनकारी गठबन्धन पराजित भएर सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनले विजय प्राप्त गरेको छ । यसअर्थमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा आवद्ध वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । विखण्डनकारीहरू, विभाजनकारीहरू, असंवैधानिक रुपमा संसद विघटन गर्ने संविधान विरोधीहरू भन्नेहरू पराजित भएका छन् । तर, उनीहरूले पनि केही मत प्राप्त गरेका छन् । त्यो चाहिँ गठबन्धन दलहरूकै कारण उनीहरूलाई फाइदा भएको हो । यद्यपि, हाम्रो वाम–लोकतान्त्रिक गठबन्धन निर्वाचनमा सफल भएको छ ।

भनेपछि आम रुपमा वाम–लोकतान्त्रिक गठबन्धन प्रभावकारी भएन भन्ने हो ?
वाम–लोकतान्त्रिक गठबन्धनको दुईतिहाइ मत आउँछ कि भन्ने आम बुझाइ थियो । तर, गठबन्धनका सबै दलको ठ्याक्कै एउटै एजेण्डा नहुँदा र गठबन्धनका कारण अपेक्षित डेलिभरी दिन नसक्दा जनतामा केही आक्रोश पनि देखियो । त्यो आक्रोशको मत नयाँ पार्टीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको देखिन्छ । हुन् त, त्यो स्वतन्त्र पार्टीको आफ्नै कुनै वैचारिक, सैद्धान्तिक विषय स्पष्ट छैन । को व्यक्ति चुनाव लडेको छ भन्ने पनि थाहा छैन । त्यस्तो उम्मेदवारले जिते, केही स्वतन्त्रले पनि जिते । आक्रोशको भोट त्यतातिर गयो । गठबन्धनका केही भोट पनि त्यतातिर गएको देखियो । सुझबुझपूर्ण रुपमा भोट हाल्ने अवस्था वाम–लोकतान्त्रिक गठबन्धनले सिर्जना गर्न नसकेको कारणले पनि अरुले फाइना लिन पुगे । यी कारणले वाम–लोकतान्त्रिक गठबन्धनले अपेक्षित परिणाम ल्याउन सकेन । तर, जुन रुपमा परिणाम आएको छ, यसलाई वाम–लोकतान्त्रिक शक्तिको जितको रुपमा हेर्नुपर्छ ।

गठबन्धन छ, जितिहालिन्छ भन्ने बढी आत्मविश्वासी हुँदाको परिणाम त होइन यो कतै ?
गठबन्धन हुँदा सहज रुपमा चुनाव जितिन्छ भन्ने एउटा मनोविज्ञानले पनि असर गर्यो । धेरै मतदातालाई मतदान केन्द्रमा पुर्याउन ध्यान नदिएको देखिएको छ । शहरी क्षेत्रमा पेशा, व्यवसाय गरेर बसेका वा छोटो समयका लागि काम विशेषले बाहिर गएका मतदाता मतदानमा गएको देखिएन । हाम्रो पार्टीको सन्दर्भमा बुझ्न खोज्नुभएको हो भने, हामी गठबन्धनमा थियौँ । गठबन्धनमा भएका कारणले गर्दा हामीले धेरै थोरै स्थानमा प्रत्यक्षमा उम्मेदवारी दियौँ । प्रत्यक्षमा उम्मेदवार कम भएका कारण चुनावी अभियान थोरै स्थानमा सीमित हुने स्थिति बन्यो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हामी जम्मा २० क्षेत्रमा मात्र चुनाव लड्यौँ । प्रदेशमा पनि थोरै क्षेत्रमा मात्र हाम्रा उम्मेदवार रहे । उम्मेदवार नभएका क्षेत्रमा भोट खसाल्न उत्प्रेरित गर्ने पंक्ति नभएको कारण समानुपातिकमा मत कम खसेको देखिन्छ । गठबन्धनका अरु दलको हकमा पनि त्यही भयो । नेपाली कांग्रेसको पनि केही क्षेत्र उम्मेदवार थिएनन्, नेकपा माओवादी केन्द्रको पनि अवस्था त्यही नै रह्यो । त्यसकारण मतदातालाई मतदान केन्द्रसम्म पुर्याउने काममा अलिकलि कमजोरी भयो कि भन्ने लाग्छ । दोस्रो के देखियो भने, ६ महिनाको बीचमा दुई वटा निर्वाचन भए । स्थानीय तह निर्वाचनमा मतदाताले पाँच वर्षमा एक पटक आउने अवसर हो भनेर पेशा, व्यवसाय थाँती राखेर, आफ्नै खर्चमा भोट हाल्न गए । तर, ती मतदाता अहिले मतदान गर्न पुगेनन् । त्यसकारण ६–७ प्रतिशतको अन्तरमा भोट घट्यो । जबकि, मतदाताको संख्या भने थपिएको छ । त्यसकारण पनि गठबन्धनको पक्षमा अपेक्षित परिणाम नआएको हुन सक्छ । यद्यपि, गठबन्धन दलहरूको बहुमत आउने निश्चित भइसकेको छ ।

एकीकृत समाजवादीको ७७ वटै जिल्लामा कमिटी छ, अधिकांश पालिकामा पनि कमिटी छ । तर, समानुपातिकमा त्यो ढंगले किन मत आएन ?
हामीले हाम्रो पंक्तिलाई चुनावमा परिचालित हुन भन्यौँ । आवश्यक प्रचार सामग्रीसहित नेता तथा कार्यकर्ता चुनावमा परिचालित भएकै अवस्था हो । तर, समानुपातिक निर्वाचन प्रणालीका सन्दर्भमा हामीले बुझाउन नसकेको कारण पनि असर परेको हुन सक्छ । आम मतदाताहरूमा बुझाइ नै फरक रहेछ– प्रत्यक्षलाई निर्वाचनको रुपमा लिने, समानुपातिकलाई निर्वाचनकै रुपमा नलिने । जे छ, ठिकै छ । पार्टीका हामी छदैछौँ, समानुपातिकमा हामी समर्थक, शुभचिन्तकहरूले भोट हालेपछि भइहाल्छ भन्ने रुपमा लिएर पार्टी पंक्तिबाट जनतासँग भोट माग्ने काम पनि प्रभावकारी रुपमा भएन । त्यसकारण समानुपातिकमा कार्यकर्ता पंक्तिको भोट आयो, जनताको भोट आएन भने हामीलाई लागिरहेको छ ।

प्रत्यक्षमा २० मध्ये १० क्षेत्रमा निर्वाचित सांसदहरूले ५–१० हजार मतान्तरमै जितेको देखिन्छ । तर, समानुपातिकमा उम्मेदवार छनोटमै कमजोरी भएर पो हो कि अपेक्षित परिणाम आउन नसकेको ?
उम्मेदवार छनोटमा ध्यान नदिएर, कमजोरी भएको होइन । प्रत्यक्ष तर्फका उम्मेदवारलाई प्रतिस्पर्धाको रुपमा लिने र समानुपातिकलाई प्रतिस्पर्धाको रुपमा नलिने मनोविज्ञानले केही काम गरेको देखिन्छ । हाम्रो निर्वाचन प्रणालीको बारेमा हामीले आम मतदाताहरूलाई शिक्षा प्रदान गर्न सकेका रहेनछौँ । प्रत्यक्ष र समानुपातिक दुबै छुट्टाछुट्टै प्रतिष्पर्धा हो है भन्ने हिसाबले बुझाउन नसकेको जस्तो लाग्छ । निर्वाचन आयोगले पनि पर्याप्त मात्रामा मतदाता शिक्षा दिन सकेको देखिएन । उम्मेदवार छनोटमा समस्या भएको होइन । हामीले केन्द्रबाट सिधै बन्दसूचीमा नाम समावेश गर्ने काम गरेनौँ । निश्चित मापदण्ड बनाएर, मापदण्डको आधारमा क्षेत्रीय निर्वाचन कमिटीहरूबाट आएका नामबाटै हामीले समानुपातिकको बन्दसूची तयार परेका हौँ । क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले छनोट गरेको नामको आधारमा केन्द्रले अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको हो । त्यसकारण उम्मेदवारी छनोटमा समस्या भएको होइन, निर्वाचन प्रणालीको बारेमा बुझाउन नसकेको हो ।

कसरी बुझाउनुपर्ने थियो ?
समानुपातिकमा पार्टीहरू चुनाव लड्छन, त्यो भनेको पार्टीका हरेक सदस्य चुनाव लडेको हो भन्ने विषय हामीले बुझाउन सकेनौँ । त्यसकारण प्रत्यक्षमा जहाँ चुनाव लडेका छन्, त्यहाँ मात्रै प्रतिष्पर्धा हो भन्ने स्थिति बन्यो । त्यो मामिलामा हामी कतै चुक्यौँ कि जस्तो लाग्छ । आगामी दिनमा यस्ता कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ, बढ्छौँ ।

अब, यही वाम–लोकतान्त्रिक गठबन्धन अगाडि बढ्छ कि विकल्प खोज्नु हुन्छ ?
दुई वटा गठबन्धन चुनावमा थिए । सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धन एक नम्बरमा आएको छ । र, ओली नेतृत्वको गठबन्धन दोस्रो भएको छ । जुन उदेश्यले गठबन्धन बनेको थियो, त्यसलाई जनताले अनुमोदन गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धन बहुमतमा देखिन्छ । हामीले अहिले वाम–लोकतान्त्रिक गठबन्धनको विकल्प सोचेका छैनौँ । मलाई लाग्छ, हाम्रो पार्टीले वाम–लोकतान्त्रिक गठबन्धनको विकल्प खोज्दैन । यद्यपि, पार्टीले चुनावको समीक्षा र औपचारिक निर्णय गर्न बाँकी नै छ ।

केपी ओलीले सम्वाद अगाडि बढाउनु, एमाले नेताहरूबाट पनि मिल्नुपर्छ भन्ने कुरा आउनुको पछाडि केही रहस्य लुकेको छ कि ?
मृत्युपछिको उपचारको कुनै अर्थ रहँदैन । पहिला हामीले कम्युनिष्ट आन्दोलन जोगाउनका निम्ति हाम्रो तर्फबाट अनेक प्रयत्न गर्यौं । त्यसलाई ओली गुटले कमजोरीको रुपमा लिएर हामी एक्लै चमत्कार गरेर देखाउँछौँ भन्ने दम्भ, अहंकार, घमण्ड देखायो । त्यो दम्भ, अहंकार, घमण्डलाई जनताले पराजित गरिदिएका छन् । त्यसकारण उनीहरूले प्रयत्न गरेका हुन सक्छन । तर, ओली करेक्सन अझै भइसकेका छैनन् । जबसम्म करेक्सन हुँदैन, तबसम्म त्यो विषयमा हामी सोच्दैनौँ ।

प्रदेशको अवस्था के छ ?
संघमा प्रत्यक्षतर्फ हामीले अपेक्षा गरेअनुसारको नभए पनि राम्रो परिणाम आएको छ । प्रदेशहरूमा पनि हामीले राम्रै उपस्थिति देखाएका छौँ । सबै परिणाम आउन त बाँकी नै छ । प्रत्यक्षले समानुपातिकलाई छायामा परेको जस्तै, संघको निर्वाचनले प्रदेशलाई छायामा पार्दो रहेछ । गठबन्धनबाट हाम्रो पार्टीले प्रदेश सभातर्फ जहाँ–जहाँ उम्मेदवार उठाएको थियो, त्यहाँ राम्रै परिणाम पाएका छौँ ।

सुदूरपश्चिम प्रदेशसभाको एउटा क्षेत्रमा एक्लै लडेर पनि एकीकृत समाजवादीले जित्यो । कतिपय क्षेत्रमा गठबन्धन हुँदा पनि परिणाम सकारात्मक आउन सकेन । यसलाई कसरी हेर्नुहुन्छ ?
जहाँ हाम्रो संगठन राम्रो छ, त्यहाँ सहज जित हात पारिएको छ । एक्लै निर्वाचन लडेर पनि जितिएको छ । सुदूरपश्चिममा त्यही भएको हो । गत स्थानीय तह निर्वाचनमा पनि एक्लै लडेर हामीले थुप्रै ठाउँमा निर्वाचन जितेका छौँ । खास पालिकाबाहेक गठबन्धन नहुँदा पनि हामीले राम्रै परिणाम ल्याएका थियौँ । संघ र प्रदेशको हकमा पनि छुट्टाछुट्टै चुनाव लड्ने स्थितिमा पनि हामीले राम्रै परिणामा ल्याउने थियौँ । तर, एमालेले पनि एउटा गठबन्धन गरेर गएको अवस्था र कांग्रेस, माओवादी लगायतका दलहरू पनि गठबन्धन गरेर जाने अवस्थामा हामी पनि वाम–लोकतान्त्रिक गठबन्धनमा सामेल भयौँ । जहाँ संगठन बलियो छ, त्यहाँ सहज जित हात पार्यौं, संगठन कमजोर भएको ठाउँमा भोट ट्रान्सफर त्यति धेरै हुन सकेन । अर्काकै बलमा सबै जित्नुपर्छ, जितिन्छ, जित्नुपथ्र्यो भन्ने अपेक्षा गर्नु पनि त्यति राम्रो कुरा होइन । राजनीतिक इमान्दारिताको हिसाबले हामीले जति इमान्दारिता देखायौँ, अरु पार्टीले पनि देखाउनुपथ्र्यो भन्नु त स्वाभाविक नै हो ।

गठबन्धन गर्दा प्रत्यक्षमा फाइदा पुगेपनि समानुपातिकमा असर गर्यो नि होइन ?
गठबन्धनका कारण मात्रभन्दा पनि हामीले पर्याप्त मात्रामा जनतालाई बुझाउन नसकेको कारण हो जस्तो लाग्छ । हामीले प्रत्यक्षमा राम्रै परिणाम प्राप्त गरे पनि समानुपातिकमा सोचेजस्तो मत नआएकाले पार्टीलाई नयाँ ढंगले परिचालित गर्ने, संगठित गर्ने ढंगले अनौपचारिक छलफल भइरहेको छ । चुनावको सबै परिणाम आइसकेपछि औपचारिक रुपमै हामीले समीक्षा गर्ने छौँ । र, संगठन निर्माणको चार वर्षे योजना बनाएर अगाडि बढ्ने छौँ । नेकपा (एकीकृत समाजवादी) नयाँ ढंगले अगाडि बढ्यो भन्ने सन्देश हामी दिने छौँ ।

संगठन विभागको तर्फबाट देशभरका नेता तथा कार्यकर्तालाई के आह्वान छ ?
एउटा आत्मविश्वासको साथ हामी अगाडि बढ्यौँ, व्यवस्थित कार्ययोजनासहित अगाडि बढ्यौँ भने राम्रो गर्न सकिन्छ । हामीसँग नीति छ, विचार छ । अनुभवी परिपक्व नेतृत्व छ, युवाको साथ छ । संगठनात्मक योजना पनि छ । संरचना पनि छ । यसलाई परिचालित गरेर थप स्पातिलो बनाउनुपर्ने आवश्यक छ । ७७ वटै जिल्लामा, सबै पालिकामा र अधिकांश वडामा कमिटी हुँदा पनि समानुपातिकमा राम्रो मत नआउँदा कमिटीहरू चुस्त भएनन् कि भन्ने महसुस गरेका छौँ । त्यसकारण पार्टीका सबै सदस्यले कमजोरीप्रति मम भनेर अगाडि बढ्नुपर्छ । गठबन्धन हुँदा पार्टीले हाम्रो जिल्लालाई प्राथमिकतामा राखिदिएन भन्ने कारणले पनि नैराश्यता छाएको देखियो । त्यसकारणले गर्दा हामीले जे क्षति बेहोर्यौ, जुन पीडा हामीलाई भएको छ, यसलाई इखको रुपमा लिएर शक्तिमा बदल्ने गरी अगाडि बढ्नका निम्ति आह्वान गर्दछु । र, पार्टीले ल्याउने सांगठनिक योजनालाई पूरा गर्नका लागि तयार रहन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्