Logo
Logo

खतरा नाप्ने त्यो दुस्साहस



भूमिगत जीवनको अनुभव नौलो थियो । मनलाई भने अझै बानी परेको थिएन । स्वतन्त्रता र समानताको निम्ति भनेर हिँडेको मान्छे उल्टो कसैको शरणमा लुकेर दिन बिताउनु अचम्मको विरोधाभास थियो । मेरो स्वभावको उल्टो थियो । तर जेलमा बस्नुभन्दा त आफ्नो साथीको घरमा स्नेहका साथ बस्न पाउनु, कुराकानी गर्न पाउनु, मनमा आएका कुरा आदान–प्रदान गर्न पाउनु कता हो कता राम्रो थियो । त्यसैले पनि ती दिनहरु अविस्मरणीय छन् ।

पार्टीको निम्ति ठूला जिम्मेवारी लिने कार्यकर्ताको खाँचो नै थियो काठमाडौँमा, अझ महिला कार्यकर्ता त झन् कहाँ पाउनु ! अलि अगाडि नै मैले काठमाडौंकै जिल्लास्तरका अनेक कामको जिम्मेवारी पाइसकेकी थिएँ । तर यतिबेला सुरक्षा खतराका कारण स्वतन्त्रताका साथ दौडधुप गर्न सक्ने अवस्था रहेन ।

अहिले जस्तो मोबाइल फोन त कहाँ हुनु ! उबेलाको ल्याण्डलाइन फोन पनि थिएन । पार्टीबाट भने म प्रतिको विश्वास र मेरो सुरक्षाको समेत ख्याल राखेको अनुभव हुँदा पार्टीप्रतिको आस्था झन्–झन् बढ्दै गएको थियो । मसँग कुरा गर्ने त्यो बेलाका एकजना केन्द्रीय नेताको कुरा गर्ने, बुझाउने शैली निकै राम्रो थियो ।

त्यसले पनि थप प्रभावित पार्दै थियो, मलाई । एउटा बैठकमा मैले भनेकी थिएँ– ठूलो जिम्मा लिन अझै सक्षम भइसकेकी छैन भनेर । उनले भने– ‘तपाईं त्यतिका संघर्ष गरेर आउनुभएको कमरेड हुनुहुन्छ, तपाईंमाथि धेरै भरोसा र विश्वास छ पार्टी केन्द्रकै…।’ सुनेपछि एकछिन भावुक भएँ, नतमस्तक भएँ र पार्टीले दिएका जति सबै जिम्मा काँधमा थापेँ ।

तर, म अझै भूमिगत नै थिएँ, साथी र बहिनीहरुसँग एउटै कोठामा लुकेर बस्न बाध्य थिएँ । निकै दिन घर फर्किन नसक्ने भएपछि आमाले पनि विस्तारै बुझ्नुभयो मेरो अवस्था । आखिर आमा न हो, आफ्नो सन्तानमाथिको खतरा बुझेपछि कति चिन्तित हुनुभयो होला ? कसरी चित्त बुझाउनुभयो होला !

मलाई पनि आमाको पीर त बेस्सरी लाग्थ्यो । तर… आमाको मनलाई अलि सहज होला भनेर आमाले चिनेकै साथीको घरमा सुरक्षित छु भनेर खबर पठाएँ– पूर्णलक्ष्मी बहिनी नै गइन् आमालाई भेट्न ।

आमाको ऋण यो संसारमा सबैभन्दा बढी हुन्छ भन्छन् । त्यसमाथि मैले त अनेक किसिमका सन्त्रास पनि थपिदिएकी थिएँ । यो जन्मभर नै जति दुःख गरे पनि आमाको ऋण त तिर्न नसकिने रहेछ भन्ने कुरा निकै पछि मात्र बोध भयो मलाई ।

अब त केही गर्छु भने पनि आमा नै यो संसारमा हुनुहुन्न । राममाया आमा पनि उत्तिकै आदरणीय र मायालु स्वभावको हुनुहुन्थ्यो । उहाँले संसार छोड्नुभएको पनि निकै वर्ष भइसक्यो । भूमिगत जीवनको बारेमा कसैसँग कुरा गर्दैगर्दा आमाहरुप्रतिको श्रद्धा झनै बढ्छ । भावुक हुन्छु । आमालाई धर्ती नै मान्छु– जस्तै दुःख पनि खप्नुपर्ने सन्तानको निम्ति !

सुरक्षा खतरा भएरै म भूमिगत भएकी थिएँ । तर, त्यो खतरा कति ठूलो थियो, मलाई थाहा थिएन । कति समयसम्म त्यसरी बस्नुपर्ने हो त्यो पनि थाहा थिएन । यस्तै बेला एउटा महत्वपूर्ण बैठकमा जानुपर्ने भयो– पाटन लगनखेलको एउटा सेल्टरमा ।

कसरी पुग्ने, सबै पार्टीले नै व्यवस्था गर्यो । लामै बाटो थियो तर बसमा जान मिल्दैन थियो । बिहान सबेरै झिसमिसेमै अगाडि दुई जना पुरुष कार्यकर्ता र पछाडि पनि दुई जना हुँदै मलाई मिटिङ गर्ने घरमा पुर्याइएको थियो । त्यतिबेलासम्म शायद कुनै साथीहरुसँग कारको त कुरै भएन, मोटरसाइकल पनि थिएन होला कि ? बाटो त लामै थियो ।

मिटिङस्थलमा केन्द्रीय तहका कामरेडहरु रहेछन्– कोही मैले चिनेका, कोही नचिनेका । दिनभरिको मिटिङ सकिएपछि फेरि त्यसैगरी झमक्क साँझ परेपछि अँध्यारोमा कामरेडहरुले मेरो सेल्टरसम्म पुर्याइदिएको कुरा सम्झिँदा त्यो समय र अहिलेका दिनमा पार्टीको अवस्था कति फरक भइसकेछ भन्ने कुरा अनुभूत गर्छु ।

भूमिगत जीवनदेखि विस्तारै मलाई झर्को लाग्न थाल्यो । त्यसरी लगातार साथीको घरमा लुकेर बस्दा एक किसिमको छटपटी नै भयो । म आफैँलाई लाग्यो– म माथि वारेन्ट छ भन्छन्, तर यो पनि एउटा भ्रम मात्र पो हो कि ! एक साँझ बहिनी पूर्णलक्ष्मीलाई साथी लिएर अलि भिन्दै कपडा लगाएर बाहिर निस्कें– कसैको अनुमति नै नलिइकन ।

बाहिर निस्कनुपर्ने कुनै काम थिएन । खतरा जाँच्ने कौतुहल मात्र थियो । ज्याबहालबाट जैसिदेवल हुँदै वसन्तपुर अनि नयाँ सडकदेखि अलि पर वटु वीर अस्पतालसम्म हिँडे । केही देखिएन । मलाई झनै लाग्यो– बेकारको डर पो बोकेकी रहिछु ! तर फर्किने बेला भने वटु नाधेर नयाँसडक पुग्न लाग्दा एक जना मान्छेले पछ्याइरहेको चाल पाएँ । बहिनीको हातलाई कस्सेर समाएँ । उनले कुरा बुझिन् ।

न्यूरोड जनसेवामा पुग्नै लागेपछि म अलिकति आत्तिएँ– जनसेवाको पुलिस चौकी सम्झेर । मसिनो स्वरमा पूर्णलाई भनें– तिमी मलाई छोडेर अलग्ग भएर घर पुग्नु म अलि पछि आउँछु ।

बहिनी अगाडि बढेपछि त्यो मान्छे एकछिन अलमलिएछ क्यारे । एक्लै थियो त्यो । म स्वाट्ट दमकल पछाडिको गल्लीमा पसें । साथी पूर्णशोभाको घर त्यहीं थियो । तर त्यहाँ नपसिकन म अर्कै एकजना बहिनी ज्ञानीमैयाको घरमा पसेँ ।

एउटा डम्बरकुमारीको ओढ्ने मागेँ र त्यही ओढेर बूढी मान्छेको भेषमा फेरि अर्को गल्ली हुँदै झोछेँ न्हूसाल बालसेवा स्कुल पुगेँ । त्यो मान्छे त दोबाटोमा पर्खेर बसेको रहेछ । धन्न त्यसले मलाई चिनेन । कोही बूढीमान्छे नै ठान्यो होला । त्यसरी बचेँ म !

त्यसपछि फटाफट ठूलो पाइला गर्दै लगनको बाटो भएर शेल्टरमा फर्केँ । राममाया आमा चिन्तित हुनु हुन्थ्यो । बहिनीले कुरा सुनाई सकेपछि सबैलाई चिन्ता लाग्ने नै भयो । आफैले आफैलाई भनेँ– ‘आज त बचिस् बुढी !’

झोछेंको गल्लीमा हुर्केकी म । गल्लीहरु नचिन्ने त कुरै भएन । ती गल्लीहरु नै मेरा निम्ति भूमिगत बाटा पनि भैदिए । जनतासँगको सम्बन्ध कति गाढा र न्यानो थियो त्यो बेला । त्यो बेला साथ दिने, न्यानो माया गर्ने आमाहरु, साथीहरु, बहिनीहरु सम्झेर मनमा कृतज्ञता उर्लिन्छ ।

त्यो कृतज्ञता व्यक्त गर्ने शब्द पाउँदिन । मलाई जस्तै कति भूमिगत नेताहरुलाई साथ दिएको थियो, जोगाएको थियो, पालेको थियो काठमाडौँले ! काठमाडौँका जनताले ! अहिले उनीहरु सबैले खोला तरिसकेपछि लौरो बिर्सेका छन् । यो शब्द जति कठोर लागे पनि अचम्मै लाग्नचाहिँ अब छोड्यो । तर आफैँले त कसरी बिर्सन सकिन्छ र !

प्रतिक्रिया दिनुहोस्