Logo

‘यथार्थ’ भित्रको यथार्थ


श्रीहरि फुँयाल


निश्चय नै हो बाआमाका कथा–व्यथा कागजका पन्नामा लेखेर कहिल्यै सकिँदोरहेनछ । भनेर पनि सकिँदोरहेनछ र देखेर पनि सकिँदोरहेनछ । यही कुरालाई लिएर लेखक कृष्णमणि पराजुलीले बा–आमाका कथाहरुलाई समेटेर ‘यथार्थ’ नामक पुस्तकमा बडो मार्मिक ढंगबाट प्रस्तुत गर्नुभएको छ ।

उहाँले आफ्नो बा–आमाको कथामात्र उजागर गर्नुभएको छैन, धेरै बा–आमाका कथा–व्यथा यो पुस्तकमा उतार्नुभएको छ । लामो समयसम्म सरकारी सेवामा रहनुभएका पराजुलीको यो लेखन शैलीलाई सराहना गर्नैपर्दछ र लेखकलाई धन्यवाद दिनै पर्दछ ।

झट्ट हेर्दा पुस्तक अलि ठूलो देखिए पनि पढ्दै जाँदा अझै ठूलो भइदिए हुन्थ्यो जस्तो पनि लाग्दछ । किनकि जति पढ्दै गयो उति पढुँपढुँजस्तो लागेर आउँछ ।

भाषा सरल हुनुका साथै उहाँले देखेका, भोगेका र अनुभव गरेका विषयवस्तुलाई यथार्थरुपमा उतार्न सक्नु नै लेखकको सराहनीय पक्ष हो । उहाँले उठान गर्नुभएका विषय सरसर्ती हेर्दा नै जिज्ञासा लाग्ने किसिमका देखिन्छन् ।

विभिन्न ४५ वटा विषय छनोट गरी सबैमा उत्तिकै आफ्ना यथार्थता चित्रण गर्न सक्नु पनि लेखकको अर्को सफलता हो भन्न सकिन्छ । पुस्तकको प्रारम्भमा नै तारा बनेका बा मेरा, बाको बुइँ चढ्ने रहर, तारा बनेकी आमा मेरी, आमा !

चिताबाट लेखेको चिठ्ठी, आमा नभएको दशैँ, न मिलन न जलन, १०२ वर्षसम्म काम गरेकी मेरी आमाको तलब खोई ?, आकाश त हाम्रै हो भन्ने लाग्थ्योजस्ता शीर्षकहरु हेर्दा नै जिज्ञासा बढ्छ र नपढी मनै मान्दैन ।

उहाँको बा उहाँको जन्म नहुँदै बित्नुभएको रहेछ । बाल्यकालमा लेखकलाई यो कुरा थाहै हुन सकेनछ । धेरै वर्षसम्म पनि बाको विषयमा उहाँ अन्धकारमा नै रहनुभएछ ।

कसैले पनि तेरा बा त मरिसके भनेर नभनिदिएको कारणबाट उहाँलाई धेरै चिन्ता परेछ र बाको विषयबारे उहाँमा धेरै जिज्ञासा आइरहेछन् पनि । तर, उहाँको कौतुहलता पछिसम्म पनि मेटिन नसकेको कुरा उहाँले उल्लेख गर्नुभएको छ ।

लेखक कृष्णमणि पराजुलीले बा–आमाका कथाहरुलाई समेटेर ‘यथार्थ’ बडो मार्मिक ढंगबाट प्रस्तुत गर्नुभएको छ । आफ्नो बा–आमाको कथामात्र उजागर गर्नुभएको छैन, धेरै बा–आमाका कथा–व्यथा यो पुस्तकमा उतार्नुभएको छ ।

अरुका बाले आफ्ना छोराछोरीलाई विद्यालय लगेका र ल्याएका दृश्यहरुले उहाँको मन रुनसम्म रोएको देखिन्छ । त्यसैले उहाँको बालमनोविज्ञानमा सबैका बा हुने, मेरा बा किन नहुने, अरुका बाजस्तै मेरा बा पनि मलाई विद्यालयमा किन लिन नआउनु भएको होला, मेरा बा कहाँ हुनुहोला, कहिले आउनुहोलाजस्ता प्रश्नहरु सधै उहाँको मनमा आइनै रहँदा रहेछन् । यी प्रश्नहरुको उत्तर नपाउँदा उहाँ चिन्ताको घेरामा रहनुभएको कुरा लेखकले राम्रोसँग उल्लेख गर्नुभएको छ ।

यस्ता जिज्ञासा कतिसमयसम्म राख्ने ? कसलाई सोध्ने ? कसरी सोध्नेजस्ता कुराले उहाँलाई धेरै सताएको कुरा उहाँको लेखाइमा झल्किन्छ । परिवारको कान्छो सन्तान भएको हुँदा आमाको माया बढीमात्रामा उहाँमा नै भएको देखिन्छ । आमा जहाँ गयो उतै पछि लाग्ने हुँदा आमा र छोराबीच एक प्रकारको घामछायाँजस्तै देखिनुहुन्छ ।

लेखकको मनमा बाको विषयमा विभिन्न जिज्ञासा भए पनि जिज्ञासा मेटाउने काम भने आमाबाट मात्र हुन्छ भन्ने लागेछ र एकपटक भने आफ्ना उत्सुकता मेटाउनको लागि ठूलै आँट गरेर सोध्नु भएछ– ‘आमा ! हाम्रो बा कहाँ हुनुहुन्छ ?’

यो प्रश्न आमाले सुनेको नसुन्यै गर्नु भएछ । अनि लेखकलाई अचम्म लागेर आएछ । यसअघि जहिले पनि बोलिरहने आमा त्यस दिन पटक्कै बोल्नु भएनछ । त्यसबेला आमा पिँढीको पल्लो छेउ जाँतोको अडेस लाएर टपरी गाँसिरहनु भएको रहेछ । धेरै समय बितिसक्दा पनि आमा नबोल्नु भएकाले आमा रिसाउनुभयो कि भन्ने लेखकलाई लागेछ । अनि मनमनै भन्नुभएछ ‘बेकार मैले किन सोधेँ ?’

धेरै बेरपछि आमाले अल्छी लागेजस्तो निन्याउरो मुख लगाउँदै भन्नुभएछ– ‘कान्छा ! तेरा बा त आकाशमा तारा बन्न जानुभएको छ ।’ यसो भन्दा उहाँलाई अचम्म लागेर आएछ– मान्छे पनि कसरी तारा बन्ने होला ? आकाशमा किन जानुभएको होला ? कहिले आउनुहोला ? बा पक्कै आउनुहुन्छ र आउँदा राम्रा लुगा र मिठा खानेकुरा पक्कै ल्याइदिनु हुनेछ भनेर खुसी भएको कुरा लेखकले उजागर गर्नुभएको छ ।

उहाँलाई सधैँ पिरलो लाग्ने विषय भनेको अरुका बा सबै यही बस्ने मेरा बा मात्र किन आकाशमा जानुपर्ने होला भन्ने कौतुहलता झनै उहाँको मनमा रहेको देखिन्छ । पछि ठूलो भएपछि मात्र थाहा भएछ कि उहाँको बा त उहाँ नजन्मिँदै बितिसक्नुभएको रहेछ ।

यसरी हेर्दा लेखकको बाल्यकाल निकै नै मार्मिक रहेको देखिन्छ । यसकारणले गर्दा पनि जीवनका विभिन्न पक्षसँग जोडिएका विषयहरु पढ्दा निकै नै मन छुने देखिन्छन् ।

लेखकले आफ्नो विषयमा मात्र लेख्नुभएको छैन । अन्य कतिपय विषयहरुका बारेमा पनि राम्रोसँग कलम चलाउनुभएको छ । नदी किनारका आमाहरुका कष्टकर जीवन, आमाले बुझेको गरिबी र बाले बुझेको विकासबारे यथार्थ चित्रण गर्नुभएको छ ।

त्यस्तैगरी धर्ती माताको रोदन, इन्द्रमाया, मृत्यु पनि डराउँदोरहेछ, रुन्छ मन किन रुँदैन, खुसी हुन्छ मन किन हुँदैन, कोख एउटै हुँदैमा सबै आफ्ना हुँदैनन्, कानुनले नचिनेको मान्छे, धत् मान्छेको जात, विदेशमा बसेका छोराछोरीलाई एउटा बाबुले लेखेको चिठीजस्ता विषयहरूले सबैको मन अवश्य नै छुनेछन् ।

त्यस्तैगरी मृत्यु पनि डराउँदोरहेछ भन्ने शीर्षकमा लेखक धेरैपटक मृत्युको नजिकै पुगेर पनि बाँच्न सफल हुनुभएको कुरा उल्लेख गर्नुभएको छ । त्यसैले अहिलेको जीवनलाई उहाँले नाफाको रुपमा लिनुभएको छ ।

लेखकको जीवनमा धेरैपटक रुनुपर्ने अवस्था आएको र धेरैपटक खुसी भएको कुरा पनि उल्लेख गर्नुभएको छ । भनाइको तात्पर्य जीवन सधैँ सिधा रेखामा हिँड्न सक्दैन । कहिले उकाली चढ्नुपर्छ, कहिले ओराली झर्नु पर्दछ । जीवनको चरित्र भन्नु नै आरोह–अवरोह हो भन्ने कुरालाई राम्रोसँग प्रष्ट्याउनुभएको छ । त्यसैले धेरै विषय र क्षेत्र यो पुस्तककले समेटेको हुँदा सबैको लागि उपयोगी नै देखिन्छ ।

मान्छेको जात यति लोभीपापी रहेछ कि एउटै कोख भए पनि घात–प्रतिघात गर्दछ भन्ने कुरालाई राम्रोसँग स्पष्ट पार्नुभएको छ । हुन पनि हो हाम्रो समाज यसरी बिग्रिँदै गएको छ कि धन, सम्पत्ति र पैसाको लागि मानिसले जे पनि गरेका हुन्छन् । यस कारणले पनि समाजमा हत्या, हिंसा, चोरी, डकैतीजस्ता घटना यत्रतत्र घटि नै रहेका छन् ।

अन्त्यमा, लेखकले लेख्नुभएका सबै विषयहरू यो सानो समीक्षामा विवेचना गर्न सम्भव नभएको हुँदा यति भन्दै धन्यवाद दिन चाहन्छु, धन्यवाद !

(समीक्षक, कवि तथा साहित्यकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्