Logo
Logo

‘छन्दसाधना पुरस्कार’बाट भट्टराई र सत्याल पुरस्कृत



काठमाडौं । छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना छन्दसाधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ ।

कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष २५ हजार नगदसहितको विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्षदेखि १५ हजार नगदसहितको छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना अग्रज कवि र एक जना अनुज कविलाई पुरस्कृत गरेको हो ।

काठमाडौँमा आयोजित एक समारोहमा प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्रा.डा. माधव पोखरेलले वरिष्ठ कवि रामचन्द्र भट्टराईलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ र युवाकवि सुदेश सत्याललाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कवि भट्टराईले आफ्ना कवितामा नेपाली जनताको बोली बोलेर र युवाकवि सत्यालले वर्तमान युगको र युवाहरूको आवाज सम्प्रेषण गरेर दुवै स्रष्टाहरूले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गरे ।

उनले भने, ‘डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको जोडीले हराउन लागेको छन्दकविता लेखनलाई विश्वव्यापीकरण गर्नका लागि महत्त्वपूर्व भूमिका खेल्नुका साथै सिर्जना एवम् प्रशिक्षणका माध्यमबाट नेपाली छन्दकवितालाई माथि उठाउनमा विशिष्ट योगदान दिँदै आएकाले उहाँहरूद्वारा स्थापित र सञ्चालित छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने एक जना विशिष्ट साधक र एक जना युुवा साधकलाई सम्मानित तथा पुरस्कृत गरेर सबै पुस्तालाई थप हौसला प्रदान गरेको छ ।’

डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राज्ञ डा. देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको हो ।

कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत ८२ वर्षीय वरिष्ठ कवि रामचन्द्र भट्टराईले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्दै एउटा सशक्त वैचारिक कविता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्