Logo
Logo

राजनीतिक संकट अन्त्यका लागि सुडानमा भएको सहमतिको अमेरिकाद्वारा स्वागत



एजेन्सी । संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले सोमबार सुडानका सेना र नागरिक नेताहरू बीच गत वर्ष सैन्य विद्रोहबाट उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्नका लागि भएको प्रारम्भिक सम्झौतालाइ स्वागत गरेका छन् । दुवै पक्षले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संयुक्त राज्य अमेरिका, नर्वे, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बेलाइतले ‘प्रारम्भिक राजनीतिक रूपरेखाको सम्झौतालाई स्वागत गर्दछ’, अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सेना प्रमुख अब्देल फताह अल-बुर्हानले सन् २०२१ अक्टोबरमा सत्ता कब्जा गरेपछि सुडान राजनीतिक अशान्ति र आर्थिक उथलपुथलले ग्रसित छ । जुन २०१९ मा तानाशाह ओमार अल-बशीरको अपदस्थ पछि थप राजनीतिक जटिलता थपिएको छ ।

सोमबार, बुरहान, अर्धसैनिक कमाण्डर मोहम्मद हमदान डगालो र अन्य थुप्रै नागरिक समूहहरू, विशेष गरी फोर्स फर फ्रिडम एन्ड चेन्ज (एफएफसी) – विद्रोहमा अपदस्थ गरिएको मुख्य नागरिक गुट समेत संक्रमणकालीन व्यवस्था स्थापना गर्ने उद्देश्यले प्रारम्भिक सम्झौतामा पुगेको हो । अमेरिका लगायत देशले यस सम्झौतालाई नागरिक नेतृत्वको सरकार स्थापना गर्न र चुनावमा परिणत हुने सङ्क्रमणकालीन अवधिमा सुडानलाई मार्गदर्शन गर्न संवैधानिक व्यवस्थाहरू परिभाषित गर्ने दिशामा एक आवश्यक पहिलो कदमको रूपमा स्वागत गरेको छ।

संयुक्त राष्ट्रसंघ, पश्चिमी कूटनीतिज्ञहरू साथै साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूको उपस्थितिमा उक्त सम्झौता भएको एफएफसीले जनाएको छ। तर केही नागरिक समूहहरूले भने यसमा असन्तुष्टि जनाउँदै यसलाई विश्वासघातको रूपमा संज्ञा दिएका छन् ।

‘हामी सबै सुडानीहरूलाई यो वार्तामा तुरुन्त र राम्रो विश्वासका साथ संलग्न हुन आग्रह गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ । साथै उनीहरूले सबै पक्षहरूलाई सुडानको राष्ट्रिय हितलाई सङ्कीर्ण राजनीतिक उद्देश्यभन्दा माथि राख्न’ आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्