Logo
Logo

बैंक ठगी काण्डले एसपीको सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ । प्रदेश नम्बर पाँचको दाङ जिल्ला माफियाहरुको चलखेलको केन्द्र बन्दै गएको छ । गुन्डागर्दीदेखि तस्करीसम्मको धन्दाले जिल्लामा नवधनाढ्यहरु बढिरहेका छन् । जसको असर प्रहरीमा समेत देखिएको छ ।

दाङमा प्रहरी प्रमुखको सरुवामा समेत यस्तै माफिया समूह सक्रिय हुन थालेको छ । गत वर्ष ६ महिनामा एक समूहले एक एसपीलाई दाङबाट सरुवा गरेको थियो । अहिले माफियाको स्वार्थ पूरा गर्न नसक्दा नौ महिनामा नै एसपीको सरुवा भएको छ ।

दाङमा एसपी बेलबहादुर पाण्डेलाई हटाएर जनक भट्टराईलाई पठाइएको छ । एउटा बैंक ठगी काण्ड र उपनिर्वाचनको चलखेलका कारण उनलाई अवधि नपुगी हटाइएको स्रोत बताउँछ । यस विषयलाई प्रधानमन्त्री कार्यालयले गम्भीरतापूर्वक लिनुपर्छ । १८ करोड बैंक ठगी काण्डका अभियुक्तहरुलाई जोगाउन नमान्दा एक समूहले उनको सरुवाका लागि दौडधुप गरेको थियो । १० अभियुक्तलाई पक्राउ गरेकै दिन गतसाता उनको सरुवा भयो ।

पछिल्लो १० वर्षमा प्रहरीले बैंकिङ ठगीमा एक हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाइसकेको छ । तर पनि बैंकिङ क्षेत्रमा कर्मचारीकै मिलेमतोमा हुने अनियमितता रोकिएको छैन । देवः विकास बैंकमा पनि करिब १८ करोड हिनामिनाको गरेको आरोपमा बैंकका कर्मचारीसहितका व्यक्तिहरुमाथि अनुसन्धान चलिरहेको छ ।

बैंकका नारायणपुर शाखाका प्रबन्धक समिर बुढाथोकीले नाटकीय शैलीमा बैंकको १७ करोड ९९ लाख ९० हजार आफन्तहरुको खातामा ट्रान्सफर गरेर अनियमितता गरेका थिए । बैंकको सिस्टममा सो रकम कर्जा दिएको देखाएर उनले अनियमितता गरेका हुन् । बुढाथोकीसहित ११ जनालाई दाङ प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएकै बेला एसपी पाण्डेको सरुवा भएको हो । जुन प्रकरणमा दाङका केही शक्तिशाली व्यक्तिसहित ५४ जनााथि अनुसन्धान चलिरहेको छ ।

तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंकको प्रबन्धक हुँदा बुढाथोकीले त्यसरी अनियमितता गरेका हुन् । सो बैंक हाल देवः विकास बैंकमा मर्ज भइसकेको छ । बैंक मर्ज भइसकेपछि पनि उनी बैंकको नारायणपुर शाखाका प्रबन्धकका रुपमा कार्यरत थिए ।

अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार सुरुमा उनले नक्कली बैंक अकाउन्टहरु बनाएका थिए । ती बैंक अकाउन्टबाट ४९ जना आफन्तको नाममा पैसा ट्रान्सफर गराएका थिए । त्यसरी निकालेको पैसा जग्गा र मिटरब्याजमा लगानी गरेको अनुसन्धानमा देखिएको छ । त्यसरी अनियमित तरिकाले पैसा लिने ४९ जनाविरुद्ध नै प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ । यसमा बैंकका माथिल्लो तहका कर्मचारीहरुसमेत तानिन सक्ने स्रोत बताउँछ ।

यस्तो किमिसको बैंकिङ अपराधमा नेपालमा पहिलोपटक देखिएको हो । धेरैजसो बैंकिङ अपराधहरु धितोमा चलखेल गरेर हुन्छ । तर, बैंकको सिष्टमलाई नै थाहा नहुने गरी १८ करोड एक कर्मचारीले अनियमितता गर्न सफल भएका थिए । बैंकको सुपरिवेक्षण प्रणाली कमजोर हुँदा यसरी उनले ठग्न सफल भएका हुन् । आर्थिक वर्षको अन्तिममा हिसाब मिलानमा मात्र उनको बदमासी पत्ता लागेको थियो ।

सुरुमा बैंकले सिआईबीमा पत्राचार गरेकोमा सिआईबीले दाङ प्रहरीलाई निवेदन पठाएको थियो । दाङका तत्कालिन एसपी पाण्डेले राष्ट्र बैंकबाट बिज्ञ मगाएर अनुसन्धान गरेका हुन् ।

प्रहरी अनुसन्धानमा तानिएकाहरु सबै बुढाथोकीका आफन्त हुन् । केही थाहा नभएका बृद्ध उमेरका आफन्तलाई समेत खाता खोल्न लगाएर सो खातामा पैसा हालेर उनले फसाएको समेत प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही–१० का ४७ वर्षीय बसन्तबहादुर बस्नेत र उनका छोरा २६ वर्षीय अर्जुन बस्नेतसहित ४५ वर्षीय झगबहादुर बस्नेत ३७ वर्षीय उज्जवल आचार्य, ५४ वर्षीय सन्तकुमार पौड्याल, वडा नम्वर ८ का ४३ वर्षीय बसन्त बुढाथोकी छन् । त्यस्तै साविक कैलावास गाविस वडा नम्वर–४ स्थायी घर भइ हाल घोराही १४ बस्ने २४ वर्षीया बन्धना गुप्ता, कोइलावास –९ घर भई घोराही–१५ बस्ने ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, कोइलाबास–३ घर भई घोराही–१० बस्ने ४५ वर्षीय सक्टुराम गुप्ता र साविक त्रिभुवन नगरपालिका–१० घर भइ हाल घोराही–१४ बस्ने ३१ वर्षीय विजयकुमार गुप्ता पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी स्रोत बताउँछ ।

हाल ५४ जनाविरुद्ध नै पक्राउ पूर्जी जारी भइसकेको छ । त्यसरी पक्राउ पूर्जी जारी भएकाहरु मुख्यमन्त्रीदेखि केन्द्रीय मन्त्रीसँग पुगेर एसपीविरुद्ध लागेका थिए । त्यही बेला पाण्डेको सरुवा भएको छ ।

अर्काेतर्फ आगामी मंसिरमा दाङमा प्रदेशसभाको उपनिर्वाचन हुँदैछ । नेकपाका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । जहाँ नेकपा र कांग्रेस दुवै शक्ति संचयमा लागेका छन् । दुवै पार्टीले गुन्डाको परिचालन समेत थालिसकेका छन् । एक मुद्दामा नेकपा निकट गुन्डाहरु पक्राउ परेपछि नेकपा नेताहरु एसपी पाण्डेविरुद्ध लागेका थिए । चुनावमा आफ्नो पक्षमा परिचालन हुने नदेखेपछि उनको सरुवा भएको स्रोत बताउँछ ।

दाङ मात्र होइन, हरेक जिल्लामा माफिया समूहले नै एसपीहरुको सरुवा गराउन थालेको छ । त्रिशूलीलगायतका नदीमा गिट्टी, बालुवाको तस्करी गर्ने समूहले केही महिनाअघि नुवाकोटमा एसपी कृष्णबहादुर पल्लीमगरलाई लगेको थियो । तर, प्रहरी असाध्यै बदनाम भएपछि उनलाई सरुवा गर्न गृह मन्त्रालय बाध्य भएको थियो । गृह मन्त्रालयको सचिवालयलाई समेत प्रभावमा पारेर माफिया समूहहरु जिल्लाका एसपी सरुवाको धन्दामा लागेका छन् । जुन प्रहरीका लागि भने निकै घातक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्