Logo
Logo

नेदरल्यान्ड्सले लेला अर्जेन्टिनासँग ८ वर्षअघिको बदला ?



एजेन्सी । विश्वकप फुटबलका चिर प्रतिद्वन्द्वी नेदरल्यान्ड्स र अर्जेन्टिना आज आमनेसामने हुँदैछन् ।

सन् २०१४ को विश्वकप सेमिफाइनलमा प्रतिस्पर्धा गरेका अर्जेन्टिना र नेदरल्यान्ड्स आज पुनः कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार राति १२ः४५ हुँदैछ ।

लुसेल रंगशालामा नेदरल्यान्ड्स ८ वर्ष पहिलेको हारको बदला लिने दाउमा हुनेछ भने लियोनल मेस्सीको टिम अर्जेन्टिना फेरि उसलाई निराश बनाउन चाहन्छ ।

२०१४ को उक्त सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको थियो । यद्यपि, उपाधि भिडन्तमा जर्मनीसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाले उपविजेतामा चित्त बुझाएको थियो ।

२००६ मा मेस्सीले विश्वकपमा डेब्यु गर्दा पनि नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । समूह चरणको त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यतिबेला दुवै टोली नकआउट पुगेका थिए । नेदरल्यान्ड्स र अर्जेन्टिना छैटौंपटक विश्वकपमा भिड्न लागेका हुन् ।

अर्जेन्टिनाले पछिल्लो नौमध्ये सात खेलमा ‘क्लिन सिट’ राखेको छ । नौखेलमध्ये अर्जेन्टिनाले साउदी अरेबिया र अस्ट्रेलियासँग गोल बेहोरेको थियो । तर अर्जेन्टिनालाई भने इन्जुरीले सताएको छ । चोटकै कारण टिमका प्रभावकारी विंगर एन्जल डी मारियाले अन्तिम–१६ को खेल गुमाएका थिए । यद्यपि, उनी नेदरल्यान्ड्सविरुद्ध भने टिममा फर्किने अनुमान गरिएको छ ।

तर, डी मारियाकै स्थानमा खेलेका पपु गोमेजले भने अस्ट्रेलियाविरुद्धको खेलमा एन्कलमा चोट बोकेका थिए । चोटकै कारण अर्का मिडफिल्डर रोड्रिगो डी पाउल खेल्ने नखेल्नेबारे पनि शंका व्यक्त गरिएको छ ।

स्ट्राइकर लौटारो माट्रिनेज पनि एन्कल इन्जुरीबाट गुज्रिरहेका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्वकपको खेल खेल्न मार्टिनेजले ‘पेन किलर इन्जेक्सन’ लिने गरेको खुलाएका थिए ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि ब्राजिल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्