Logo
Logo

राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्ने तयारीमा छौं- ढकाल


1.1k
Shares

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गर्ने व्यवस्थाका लागि सकारात्मक पहल भइरहेको जानकारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरुले पहल गरेको र यसमा सरकार सकारात्मक रहेको बताए ।

म्याग्दी उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभालाई शनिबार बेनीमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने– ‘मैले निर्वाचनअघि गृहमन्त्री समक्ष यो प्रस्ताव राखेको छु, उहाँ सकारात्मक हुनुहुन्छ र चाँडै नै हामीले मर्यादाक्रम प्राप्त गर्ने अवस्था बनेको छ ।’

ढकालले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष व्यवसायीको मर्यादाक्रमका विषयसहित मेला महोत्सव गर्ने अधिकार जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई मात्र दिनुपर्छ भनेर महासंघले आग्रह गरेको समेत जानकारी दिएका छन् ।

कोभिड महामारीपछि विश्वव्यापी रुपमा आर्थिक गतिविधि संकुचन भएको र त्यसको सिधा प्रभाव नेपालमा परिरहेको उल्लेख गर्दै ढकालले बैंकमा तरलता अभाव र कर्जा प्रवाह गर्न नसक्ने अवस्था अहिलेको मुख्य समस्या धारणा राखे ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघको समस्याबारे आफूहरु जानकार रहेको र त्यसको समाधानका लागि महासंघको नेतृत्वले निरन्तर पहल गरिरहेको उनले जानकारी दिए ।

‘बैंकको ब्याजदर, करसम्बन्धी समस्या, व्यवसाय गर्दाका असजिलोलगायतका तपाईंहरुका अप्ठ्यारा हामीले बुझेका छौ’ ढकालले भने, ‘यी विषयलाई संघीय सरकारमा प्रधानमन्त्री, अर्थमन्त्री, पूर्व प्रधानमन्त्रीहरु तथा नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर समाधानका उपाय सुझाएका छौं ।’

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले जिल्लाभित्रका सम्भावित आयोजनामा सामूहिक भावनाका साथ अगाडि बढ्न सके लगानी जुटाउन सहज हुने सुझाव दिए ।

म्याग्दीका सम्भाव्य आयोजनाहरुका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्दै जलविद्युत्, पर्यटन प्रवद्र्धन जस्ता प्राकृतिक स्रोतको सदुपयोग गर्ने क्षेत्रमा सहकार्यका लागि आग्रह समेत गरेका छन् ।

आईएमई समूहका अध्यक्षसमेत रहेका उद्यमी ढकालले सातवटै प्रदेशमा चन्द्रागिरीजस्तै पर्यटकीय पूर्वाधार बनाउन लागिपरेको जानकारी दिँदै पर्यटन, जलविद्युत् लगायतका क्षेत्रमा गैरआवासीय नेपालीलाई पनि सँगै अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्