Logo
Logo

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण



काठमाडौं । लेखक बुद्धिसागरको पछिल्लो उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा आयोजित एक कार्यक्रमबीच उक्त ‘एक्लो’ लोकार्पण गरिएको हो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए ।

पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताएका थिए । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो ।’

उनले भने, ‘एउटा लेखक २÷४ वर्ष साथीहरूको सर्कलबाट काटिन्छ । ऊ भीड छाडेर एकान्तको खोजीमा भौंतारिन्छ । तर होहल्ला मच्चाइरहको आफ्नो मस्तिष्कले आजित हुन्छ । एउटा लेखक वर्षौसम्म पात्रहरू बोकेर किन हिँडिरहन्छ ? ।’

उनले थपे, ‘उत्तर धेरै भए पनि एउटा कुरा पक्का हो, ऊ उस्तै तर अरुभन्दा अलिकति फरक, अरुभन्दा अलिकति भिन्न कथा भन्न चाहन्छ । खोज्न चाहन्छ ती मानिस, जो उस्तै सोच र नजरिया राख्छन् । मैले पहिले कतै भनेको छु, संसारमा उस्तै अनुहार भएको अर्को मानिस खोज्ने एप आइसकेका छन् । तर पुस्तक मात्र एउटा यस्तो एप हो, जसले उस्तै भावना भएको अर्को मानिसलाई खोज्न सक्छ ।’

बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गरे । लेखकले कथा कल्पना गर्दा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनूभूति पाउने उनको भनाइ छ । ‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मीठो लेनदेन हो, यो चलिरहोस्’ उनले भने ।

सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम (आयोवा)का मानार्थ फेलो रहेका उनको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता फाइनप्रिन्ट’बाट प्रकाशित छन् । ‘एक्लो’ उपन्यास पनि फाइनप्रिन्टले नै प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्