Logo
Logo

चीन-अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति



एजेन्सी । चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो ।

राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन-अरब राष्ट्र शिखर सम्मेलनमा आपसी सहयोग अभिवृद्धि तथा साझा भविष्य निर्माणका निम्ति चीन-अरब समुदायबीच सहयोग सुदृढ गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

पहिलोपटक भएको उक्त शिखर सम्मेलनले जारी गरेको रियाद घोषणापत्रमा चीन-अरब राष्ट्रबीच सहयोगका क्षेत्र विस्तार गर्ने, रणनीतिक साझेदारीलाई अझ फराकिलो बनाउन सम्भावनाको खोजी गर्ने तथा चीन-अरब राष्ट्र सहयोग मञ्चको प्रारुपअन्तर्गत आपसी सहयोगलाई सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

एकचीन सिद्धान्तको पालना, ताइवान चीनको अविभाज्य भूभाग भएको वास्तविकताप्रति दृढ समर्थन चीनको सार्वभौमिकसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका खातिर सहयोग गर्नेमा पनि घोषणापत्रमा विशेष जोड दिइएको छ ।

सिरिया, लिबिया र यमनलगायत क्षेत्रीय संकटको राजनीतिक समाधान अन्तर्राष्ट्रिय सम्झौता र सिद्धान्तका आधारमा गर्न क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा चीन र अरब लिगका नेताहरूले आह्वान गरेका छन् ।

शिखर सम्मेलनमा सहभागी नेताले युक्रेन संकटको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय बडापत्रका सिद्धान्त, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका मूल्यमान्यताअनुसार शान्तिसुरक्षा कायम गर्ने वैश्विक प्रयासमा समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्