Logo
Logo

न्युजिल्याण्डमा चुरोट खरिदमा प्रतिबन्ध


एजेन्सी


वेलिङ्टन । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्यको रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेषगरी युवावर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो ।

सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ ।
सैद्धान्तिक रूपमा अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ ।

स्वास्थ्य अधिकारीहरूले त्योभन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन् । सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य न्युजिल्याण्डको रहेको छ ।

नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको सङ्ख्या पनि छ हजारबाट घटाएर छ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ ।

मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्री डा. आयशा भेरलले संसद्मा बताइन् । उनले प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धूमपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताइन् ।

‘धूमपानबाट हुने क्यान्सर, हृदयाघातलगायत जटिल रोगको उपचार गर्ननपर्ने भएपछि अर्बौं डलर जोगिने छ, अहिलेको युवापुस्ताको स्वास्थ्य स्वस्थ रहनेछ । र, त्यसले भावी पुस्तालाई धूमपानरहित जीवन जिउन प्रेरित गर्नेछ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्