Logo
Logo

संयुक्त राष्ट्रसंघद्वारा माली आक्रमणको निन्दा



एजेन्सी । संयुक्त राष्ट्रसंघका महाचिव एन्टोनियो गुटरेसले मालीमा राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन् । महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार मालीमा गस्तीमा रहेको राष्ट्रसङ्घीय शान्ति सैन्यमाथि भएको आक्रमाण्को निन्दा गरेका हुन् ।

अज्ञात बन्दुकधारीले शान्ति सैनिकको टोलीमाथि भएको आक्रमण गर्दा एक जना महिलासहित दुई जना नाइजेरियाली शान्ति सैनिक मारिएका छन् भने चार जना घाइते भएका छन् । तिम्बक्टु शहर नजिकै गस्तीमा रहेका बेला उनीहरूमाथि आक्रमण भएको थियो ।

महासचिव गुटरेसले एक विज्ञप्ति निकालेर मृतकका शोक सन्तप्त परिवारका साथै नाइजेरियाको सरकार र जनताप्रति समवेदना व्यक्त गरेका छन् । उनले राष्ट्रसङ्घीय सैनिकलाई निशाना बनाएर आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध हुने स्मरण गराउँदै माली सरकारलाई जघन्य आक्रमणका दोषीलाई पहिचान गरी तत्काल न्यायको दायरामा ल्याउन आग्रह गरेका छन् ।

सन् २०१२ देखि मालीमा सशस्त्र विद्रोह भइरहेको छ । जारी हिंसात्मक विद्रोहमा हजारौँ मारिएका छन् भने लाखौँ घर छोडेर भागेका छन् । मालीमा शान्ति कायम गर्न सन् २०१३ देखि शान्ति सेना तैनाथ गरिएको छ । द्वन्द्वग्रस्त देशमध्ये विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान मालीमा १५ हजार दुई सय शान्ति सेनाका जवान क्रियाशील छन् । हालसम्म त्यहाँ दुई शान्ति सेनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्