Logo
Logo

सहरमा बिजुली पुग्दा जन्मिएका एडिसन, जो पेले हुँदै फुटबलका सम्राट बने   




काठमाडौं । विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा चर्चित नाम हो, पेले । उनी फुटबल खेलाडी थिए ।

पेलेको नाम थाहा नपाउने मान्छे सायदै कमै होला । उनी त्यस्ता खेलाडी हुन् । जो सबैको मन र दिमागमा बसेका छन् । पेले र फुटबल पर्यायजस्तै छ । 

पेलेलाई फुटबलका जादुगर भन्ने गरिन्छ । यिनै जादुगरको बिहीबार ८२ वर्षको उमेरमा मृत्यु भयो । अब फुटबलका जादुगर सम्झनामा मात्रै रहे । 

पेलेको निधनसँगै फुटबलको एक युगको अन्त्य भएको छ । तर, उनले दिएको योगदान र पाएको उपलब्धिले भने सिंगो फुटबल जगतले सदा सम्झिरहने छ । 

सहरमा बिजुली पुग्दा जन्म  
संसारभर पेले नामले कहलिएका उनको नाम न पेले थियो, न त थर नै ।

उनी ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा जन्मिएका थिए । आमाबुबाले नाम राखिदिए– एडिसन । पूरा नाम रह्यो– एडसन अरान्टेस दो नासिमेन्तो ।

जतिबेला पेले जन्मिए । त्योबेला मिनास गेराइसमा बिजुली बल्यो । 

बिजुलीको बल्ब बनाउने वैज्ञानिक थिए– थोमस एल्वा एडिसन । त्यसैको प्रभावले आमाबुबाले उनको नाम ‘एडिसन’ राखिदियो ।

नामको कथा
पेलेको नामको कथा रोचक छ । जसले फुटबललाई विश्वभर लोकप्रिय बनायो । तर, उनको वास्तविक नाम धेरैलाई थाहै छैन । पेले, न उसको नाम थियो, न त उपनाम नै ।

साथीहरू उसलाई ‘गैसोलिना’ भन्थे । ग्यास जस्तै छिटो दौडन्थे । त्यसैले साथीहरूले उनलाई गैसोलिन बनेर बोलाउथे ।  

जब उनी उत्कृष्ट डिफेन्स गर्थे । उनी अर्को बिले बने । बिले, स्थानीय फुटबल क्लबका गोल किपरको नाम थियो । जो त्यतिबेला चर्चित थिए । 

बिले पेलेमा कहिले परिवर्तन भयो ? पेले उनैलाई थाहा थिएन । साथीहरूसँग हिँड्दा एकजनाले पेले भनेर बोलाए । त्यो बेला उनी रिसाए । ‘किन पेले भनेको ? मेरो नाम ठिकसँग भन’ भन्दै पिटे । 

त्यसपछि रिस उठ्दा साथीहरूले पेले भन्न थाले । छिमेकीहरूले उनलाई पेले नामबाटै चिन्यो । आधिकारिक रुपमा पेले भनेर बोलाउन सान्टोस क्लबमा जोडिएपछि थालियो । 

उनको नाम पनि कति–कति । एडिसन, डिको, विले, पेले… । आफ्नै नाम सम्झँदा हैरान । तर पेले नामले नै विश्व चर्चित बनायो । उनलाई ‘कालो मोती’ भनेर समेत चिनिन्छ । 

अभावमा बाल्यकाल 
उनी, अति विपन्न परिवारमा हुर्किए । फुटबल क्षेत्रमा आउन सहज थिएन । अरुले जसरी फुटबल सजिलै खेल्न पाएनन् । 

खान लगाउनै धौँ धौँ थियो । फुटबल किन्न सक्ने आर्थिक हैसियत थिएन । विभिन्न कपडा र फलफूलको बल बनाएर खेल्न थाले । सडकमा कपडाका डल्लोलाई बल बनाएर छलाएर हिँड्थे ।

भगवानले भन्छ रे- ‘तँ चिता म पुर्याइदिन्छु ।’ पेलेको लागि पनि त्यस्तै भयो ।  

बुबाको सपना
पेलेको बाबू डोन्डिन्हो अर्थात ओआओ रामोस डो नासिमेन्तो । जो, मिनास गेराइस सहरको क्लबबाट फुटबल खेल्थे ।

तर २५ बर्षमा चोट लाग्यो । राम्रोसँग खेल्न सकेन । फुटबल करियर क्लब स्तरभन्दा माथि उठ्न सकेन । 

आफूले फुटबल खेल्न नसकेपछि छोरालाई पनि फुटबलर बनाउने सपना देखे । मिनास गेराइस साओ पाओलोको बाउरु बसाइ सरे । 

पाओलोको बाउरुको सडकमा पेले साथीहरूलाई मज्जाले छक्काउँदै हिड्थे । उनको खुट्टाबाट बल कसैले खोस्न सक्दैन थिए । फाटेका कपडाको बल बनाएर फुटबल खेल्थे । त्यसैले उनको चर्चा बढ्न थाल्यो ।

बल किन्न पैसा जम्मा गर्न उनीले गुड्स ट्रेन स्टेसनबाट सामान चोरेर बेच्ने समेत गर्थे ।

फुटबल करियर 
विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । ब्राजिलले अहिलेसम्म पाँच पटक विश्वकपको उपाधि जितेको छ । यो सफलतामा सबैभन्दा बढी योगदान पेलेकै छ । 

पेले संसारका एक मात्रै खेलाडी हुन्, जसले तीन विश्वकप जितेका छन् । उनकै योगदानमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि जितेको थियो । 

यसका साथै सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने, गोल गर्ने, ह्याट्रिक गर्ने र फाइनल खेलेको रेकर्ड ६० वर्षसम्म पनि उनकै नाममा छ । उनको सफलताको बराबरी आजसम्म कुनै फुटबलरले गर्न सकेका छैनन् ।  

उनलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २००० मा ‘शताब्दीका उत्कृष्ट फुटबल खेलाडी’को उपमा दिएको थियो । ब्राजिलियन सरकारले भने ‘राष्ट्रिय विभूति’ घोषणा गरेको थियो ।

सर्वाधिक गोलकर्ता
पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । १७ वर्षको उमेरदेखि ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका पेलेले ९१ खेल खेल्दै ७७ गोल गरे । 

ब्राजिलका नेयमार बाहेक यो उच्च स्कोर अन्य कुनै खेलाडीले भेट्टाउन सकेका छैनन् । कतार विश्वकपमा नेयमारले पेलेको सर्वाधिक ७७ गोलको रेकर्ड बराबरी बनाएका थिए ।

५० वर्षको उमेरमा कप्तान
पेले एक पटक मात्र ब्राजिलको कप्तान बने । उनले हरेक पटक क्लब र देशको टिमको कप्तानी गर्न अस्वीकार गरेका थिए ।

राष्ट्रिय टिमबाट सन्न्यास लिएको १९ वर्षपछि सन् १९९० मा उनले एक मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । 

ब्राजिलको प्रतिस्पर्धा ‘रेस्ट अफ द वर्ल्ड’ टीमसँग भएको थियो । उक्त खेल पेलेको ५० औँ जन्म दिनमा खेलाइएको थियो । 

गोलरक्षक पनि 
पेलेले अरुको पोस्ट गोल हान्नु खुब सिपालु थिए । तर, गोल हान्न मात्रै होइन, गोलपोस्ट जोगाउन पनि सिपालु थिए । गोलरक्षकको रुपमा खेल्दा पनि निराश बनाउँदैन थिए ।

सान्तोष क्लबमा हुँदा उनले चार खेलमा गोलरक्षकको भूमिका पनि निभाए । सन् १९६४ मा ब्राजिलियन कपका क्रममा उनी गोलरक्षक थिए । र। पेलेले कुनै पनि खेलमा एक गोल हुन दिएनन् ।

खेलमन्त्री
सन् १९९० मा पेलेले सोचेका थिए– १९९४ मा हुने निर्वाचन लड्छु । यो वास्तविकतामा हुन पाएन । तर पेलेले राजनीतिमा इन्ट्री जरुर गरे । उनी १९९५ देखि १९९८ सम्म ब्राजिलका खेल मन्त्री बने ।

उनले एउटा कानुन बनाउन अहम् भूमिका लेखे । जुन ब्राजिलका खेलाडीलाई क्लब चुन्ने स्वतन्त्रता दियो । 

रोकिएको त्यो युद्ध 
सन् १९६० को दशकमा पेलेको सान्तोस फुटबल क्लब विश्वको सबैभन्दा चर्चित क्लब थियो । त्यसबेला यो क्लबले विश्वभरका क्लबसँग मैत्रीपूर्ण खेल खेल्थे ।  

यस्तै खेल सन् १९६९ फेब्रुअरी ४ मा नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा सन् १९६९ फेब्रुअरी ४ मा खेलाइएको थियो । यो खेलमा सान्तोसले बेनिनि सिटीको क्लबलाई २-१ ले हरायो । 

त्यतिबेला नाइजेरियामा रक्तपातपूर्ण गृहयुद्ध चलिरहेको थियो । ब्राजिलका खेलाडी र अधिकारीहरू सुरक्षाको विषयलाई लिएर चिन्तित थिए । त्यसैले दुवै पक्षले युद्धविरामको निर्णय गरेका थिए ।

पेलेले आफ्नो आत्मकथामा यसबारे चर्चा गरेका छन् ।  आत्मकथामा ‘गृहयुद्धको एक झलक खेलको लागि अन्त्य हुन सक्छ’ भनेर लेखेका छन् । 

युरोपियन क्लबबाट किन खेलेनन् ?
उनका आलोचकहरू युरोपियन क्लबमा नखेलेको भन्दै आलोचना गर्छन् । उनले रियल म्याड्रिड र एसी मिलानजस्ता क्लबको प्रस्ताव अस्वीकार गरेका थिए ।

यो खासमा उनको मात्रै हातमा पनि थिएन । उनी आबद्ध क्लब सान्तोषले पनि निर्णय गर्थ्याे । पेलेलाई ब्राजिलमै राख्ने दबाब सरकारको समेत थियो । 

१९६१ मा राष्ट्रपति जैनियो क्वा‘ड्रोसले नै भनेका थिए कि, ’पेले राष्ट्रिय सम्पत्ति हुन् । उनलाई एक्सपोर्ट गर्न सकिँदैन ।’

तर उनी १९७५ मा एक विदेशी क्लबको हिस्सा बनेका थिए । उनले न्यू योर्कको कासमास नामक टिमबाट खेलेका थिए ।

वैवाहिक जीवन
उनले जतिपटक विश्वकपको उपाधि जितेका छन्, त्यति पटक नै विवाह गरे । अरुसँग रिलेसनमा पनि रहे । उनका ७ जना सन्तान छन् । 

२५ वर्षको उमेरमा रोजमेरी डोस रेइस चोल्बीसँग पहिलो विवाह गरे । १ छोरा र २ छोरी जन्मिए ।

रोजमेरीसँग सम्बन्ध विच्छेद पश्चात १७ वर्षीय किशोरीको प्रेममा परे । सन् १९८६मा टेलिभिजनकी कार्यक्रम सञ्चालिका झुझा मेङ्गेलसँग ‘लिभिङ टुगेदर’ मा बसे । जतिबेला पेले ४१ वर्षका थिए । तर, त्यसै वर्ष उनीहरु छुट्टिए ।

त्यसअघि आफ्नै घरमा काम गर्ने एनिजिया माकाडोसँग रिलेसनसिपमा रहेका थिए ।  उनीहरूबीचको सम्बन्धबाट एक सान्तान जन्मियो । तर, पेलेले स्वीकार गरेनन् । 

पेलेकै सान्ता हो भन्ने पुष्टि गराउन माकाडोले धेरै संघर्ष गरेका थिए । उनको सन् २००६ मा मृत्यु भएको थियो । 

सन् १९९४ मा ब्राजिलियन गायिका एवं साइकोलोजिष्ट ३४ वर्षीय आसिरिया नासिमेन्तोसँग विवाह भयो । जतिबेला पेले ५४ वर्षका थिए । उनीहरूबाट जुम्ल्याहा सन्तान भए । तर, सन् २००८ सम्बन्ध विच्छेद भयो । 

तेस्रो विवाह जापानी मूलकी मार्सिया आओकीसगँ गरे । तर, मार्सियाबाट कुनै सन्तान भएन ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्