Logo
Logo

हिरोबाट जिरो बन्दैछन् बालेन



गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैतिर हलचल मच्चाउने एक उम्मेदवार हुन्– बालेन्द्र साह (बालेन) । स्वतन्त्रबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि उनले चर्चा पाए ।

उम्मेदवारी दिँदा घोषणापत्रमा भनेका थिए– ‘हाम्रो नगरमा पहिले हामी गरौँ । अरूले पछि गर्लान्, अहिले हामी गरौँ । आजसम्म दलले गरे, अब बदल्नेले गरौँ !’

निर्वाचन अभियानका दौरान सबैभन्दा धेरै सुनिएका र हेरिएका हुन् बालेन । ‘गरिबको बोल्दिने कोही छैन कोही छैन’ ¥यापले उनलाई झन चर्चामा ल्यायो ।

निर्वाचन आयोगले बालेनलाई ‘लौरो’ चुनाव चिन्ह दियो । उत्साहित हुँदै सामाजिक सञ्जालमा लेखे– ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ बालेनको चर्चा झनै बटुले ।

उनको मुख्य एजेण्डा थियो– फोहोर व्यवस्थापन । दशकदेखि फोहोरको सास्ती भोगिरहेका काठमाडौँवासीलाई उनको एजेण्डा मनप¥यो । धेरैलाई लाग्यो– अरुलाई पटकपटक हेरियो, एकपटक बालेनलाई हेरौं ।

बालेनले जति विषयहरूको उजागर गर्दै गए । ती सबै ‘हिरोबाट जिरो’ जस्तै बन्यो । मेयर भएपछि जति योजनाहरू ल्याए, त्यो सबै योजना मर्दै गयो । उठान भएको विषयका निदान नहुँदै त्यो विषय सेलाउँदै गयो । केही दिन चर्चाका पात्र मात्रै बालेन बनिरहे । जति काम गरे काममा परिणाममुखी कामभन्दा ज्यादा स्टन्टबाजी गरिरहेका छन् ।

देश–विदेशका युवाले आफ्ना अभिभावकलाई कन्भिन्स गरे । आफूभन्दा केही जान्ने बुझ्ने सन्तान । सुझाव नमान्ने कुरै भए । बालेनलाई भोट दिए । र, जिते पनि ।

तत्कालीन सत्ता गठबन्धन र नेकपा एमालेको उम्मेदवारलाई पराजित भए । बालेनको चर्चा शिखरमा पुग्यो । त्यसपछि उनको हरेक काम कामले चर्चा पाउन थाले ।

मेयर हुने पक्का थियो । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको थिएन । मेयरकै रुपमा उनी सिसडोल र बन्चरेडाँडा पुगे ।
फोहोरको समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए । तीन महिनामा फोहोर व्यवस्थापन समस्याको दीर्घकालीन समाधान गर्ने वाचा गरे ।

उनले घोषणा गरे– समस्याको दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने । खादा र माला नलाउने ।

कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्नुपर्ने नियम बनाए । फोहोर वर्गीकरण गर्नेलाई जरिवाना तिराउने र कारबाही गर्ने धम्की दिए ।

तर, अहिले काठमाडौंमा फोहोरको समस्या जुँकात्यू छ । फोहोर उठ्न छाडेको छ । सडकमा फोहोरको थुप्रो बढि नै रहेको छ ।

कुहिने र नकुहिने फोहोर छुटाउने कुरा पनि एकादेशको कथाजस्तै भइसक्यो !

महानगरको पहिलो बैठकमा होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने निर्णय भयो ।

त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्ड समेत राख्यो । केही दिन सामाजिक सञ्जालमा राम्रै स्थान पायो । बालेनको चर्चा पनि बढ्यो । तर, अहिले ‘साँच्ची, त्यो पनि काम गरेको थियो है’ भन्ने भएको छ ।

सार्वजनिक शौचालयपछि बालेन अनधिकृत संरचना भत्काउन लागे । कतिपयले त उनको कामलाई हिन्दी सिनेमा नायकसँग जोडे ।

भारतीय सिनेमा ‘नायक’मा एक दिनका लागि मुख्यमन्त्री बनेको कलाकार अनिल कपुरको अभियान निकै हिट भएको थियो ।

बालेन साह अवैध संरचना हटाउन दिनरात लागिपरेको भन्दै उनलाई ‘आजका नायक’ पनि भने ।

तर, उक्त अभियानले उनलाई आलोचित बनायो । कतिपयले बालेनलाई ‘डन’ समेत भन्न भ्याए । केहीले ‘डन हो कि क्या हो ? भन्दै प्रश्न पनि गरे ।

अनधिकृत संरचना हटाउने अभियानमा केही आलोचना खेपेपछि काठमाडौंको फुटपाथ व्यवस्थापनमा लागे । महानगर प्रहरीलाई लगाएर फुटपाथका व्यापारीलाई हटाउन थाले ।
नगर प्रहरीले फुटपाथ व्यापारीलाई हटाउँदा र सामान खोस्दाका भावुक दृश्यहरू छरपस्ट भयो । महानगरको उक्त शैलीप्रति धेरैले आक्रोश पोखे । फुटपाथ व्यापारीले महानगर घेर्नेसम्मको काम गरे ।

फुटपाथ व्यापारीलाई हटाउने कामले मेयर बालेनलाई निकै आलोचित बनायो । ‘गरिबको बोल्दिने कोही छैन कोही छैन’ ¥याप गाउने मेयरको आलोचनामा मलजल पुग्यो ।

बालेनको उक्त कदमले पनि सफलता पाएनन् । आलोचित मात्रै बनायो । अहिले पनि अधिकांश फुटपाथमा अनधिकृत व्यापार भइरहेको छ । महानगरले त्यसतर्फ खासै ध्यान दिएको छैन ।

उनको अर्को चर्चित काम हो– टुकुचा खोला खोज्ने अभियान । जमिनभित्र लुकाएको टुकुचा खोला खोज्ने अभियानले उनलाई चर्चाको ‘क्लाइमेक्स’मा पुर्यायो । उनले टुकुचा खोला भेटाए पनि ।

त्यसपछि टुकुचा खोलामाथि बनेका संरचनाहरू भत्काउने अभियानमा लागे । तर, त्यसलाई लिएर लिएर पनि उनको चर्को आलोचना भयो । कतिले उनको प्रशंसा पनि गरे ।

खोला खोज्ने क्रममा विगतमा राजदरबारले प्रयोग गर्ने एउटा मर्सिडिज गाडी भेटियो । त्यो घटनाले बालेनलाई थप चर्चामा ल्यायो । सो गाडीबारे अनुसन्धान गर्लान् भन्ने धेरैको आशा थियो । तर, विडम्बना त्यो विषय बिचमै सेलायो ।

टुकुचा खोला उत्खननको विषय पनि बिचमै रोकियो । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन आदेश दियो । नायक बन्ने उनको अर्को प्रयास असफल भयो ।

बालेनको प्रशंसा पाउने शृङ्खला त्यतिमै रोकिएन । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाए । सुकुम्बासी बस्ती हटाएर बालेन प्रशंसा कमाउन चाहन्थे । तर, उल्टै आलोचित बन्न पुगे ।

सुकुम्बासीहरूकै भोटले मेयर बनेका मेयरले उनीहरूकै उठिबास लगाउन खोजेको आरोप लाग्यो । सुकुम्बासी बस्ती निर्वाचनअघि फूलको बस्ती थियो ।

बालेन मेयर बनेपछि ती नै बस्ती आँखाको तारो बन्यो । भोट माग्न जाँदा खादा र माला लगाएर नमस्कार गर्दै पुगेका बालेन मेयर बनेपछि डोजर लिएर पुगे । निर्वाचनअघि हातमा फूलमाला र खादा लिएर स्वागत गर्न निस्केकाहरू हातमा तरबार, खुकुरी र ढुंगामुढा लिएर निस्किए ।

निर्वाचनअघि मान्छे व्यवस्थित भएर बस्नुलाई विकास भन्ने बालेनले मेयर बनेपछि उठिबासलाई विकास देखे । विकास गर्दा मानिस खुसी नभए विकास नै नमान्ने बालेनलाई सुकुम्बासीको आँसु बन्यो ।

विकल्पविना सुकुम्वासीलाई हटाउनु उनको पपुलिष्ट काम थियो । तर, उल्टै आलोचित बन्न पुगे । कतिले बालेनले राम्रो काम गरेको भन्दै उनको तारिफ पनि गरे ।

बालेनले नयाँ विषयहरूको उजागर गर्दै गए । ती सबै ‘हिरोबाट जिरो’ जस्तै बन्यो । मेयर भएपछि जति योजनाहरू ल्याए, त्यो सबै योजना मर्दै गयो । उठान भएको विषयका निदान नहुँदै त्यो विषय सेलाउँदै गयो । केही दिन चर्चाका पात्र मात्रै बालेन बनिरहे । जति काम गरे काममा परिणाममुखी कामभन्दा ज्यादा स्टन्टबाजी भयो ।

प्रतिक्रिया दिनुहोस्