Logo
Logo

विज्ञान र कलाको सुन्दर मिश्रण ‘शून्यको मूल्य’ बजारमा



काठमाडाैं । डा. नवराज केसीद्वारा लिखित “शून्यको मूल्य” सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार डा. बाबुराम भट्टराई, डा. अरुणा उप्रेति, डा. रिता थापा र कलाकार सुरक्षा पन्तले सार्वजनिक गरे ।

बालरोग विशेषज्ञ डा. केसीको यो पहिलो पुस्तक हो । उहाँ लामो समयदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कार्यरत छन् । पुस्तक सृजनात्मक गैरआख्यान विधाको हो ।

पुस्तकका बारेमा बोल्दै जनश्वास्थ्यविद डा. अरुणा उप्रेतिले पुस्तक कर्णालीको ऐना भएको बताउँदै यसले कर्णाली र सिंगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रियकोण प्रस्तुत गरेको उल्लेख गरिन् । डा. उप्रेतिले शून्यको मूल्य कर्णालीको कहाली र त्यो कहालीभित्रको कहानी भएको बताइन् ।

त्यस्तै अर्की वक्ता जनश्वास्थ्यविद डा. रिता थापाले स्वास्थ्यका कुरालाई मेडिकल जार्गनमा नभनी रैथाने भाषामा भनिएकाले पुस्तकले पाठकलाई तानिरहने बताइन् । पुस्तकमा भावुकतामात्र नभइ वैज्ञानिक मान्यतालाई आधार बनाएकाले यो पुस्तक तथ्योन्मुख भएको उनको धारणा थियो । स्वास्थ्य सेवालाई स्थानिय स्तरमा सुदृढ गर्न विभिन्न कथाका माध्यमले भनिएको कुरा सबै नितिनिर्माताले बुझ्नुपर्ने उनले उल्लेख गरिन् ।

कलाकार सुरक्षा पन्तले आफ्नो कर्णाली बसाइको अनुभव सुनाउँदै शून्यको मूल्य तथ्य र भावनाको समिश्रण भएको मनछुने पुस्तक बनेको बताइन्। डाक्टर केसीको कथा भन्ने शैलीले कायल पारेको बताउँदै यस पुस्तकले सर्वसाधारण पाठकदेखि नितिनिर्माण तहका पाठकलाई पनि तान्ने उनको धारणा थियो । विशेष डाक्टरहरु र नेता तथा नितिनिर्माण तहकाले नछुटाइ पढ्नुपर्ने यो पुस्तकले आमाको शारिरीक, मानसिक, सामाजिक र आध्यात्मिक श्वास्थ्यलाई दिगो विकासका लक्ष्यको शुरुवातमा राख्नुपर्ने कुरालाई जोड उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भाषामा लेखिएका कमै पुस्तकमात्र आफूले दोहोर्याएर पढ्ने गरेको बताउँदै शून्यको मूल्य दोहोर्याएर पढेको बताए । सृजनात्मक गैर आख्यान विधाले आफूलाई पनि यसै पुस्तकमार्फत आकर्षित गरेको उनको भनाइ थियो । डा. भट्टराईले शून्यको मूल्य विज्ञान र कलाको समिश्रण भएर पठनिय पुस्तक बनेको बताए । उनले भने, “जान्ने भएपछि आँशु झारेर नरोएको धेरै भएको थियो । यो पुस्तकले मेरो आँखाबाट कतिपटक आँशु झार्‍यो मैले गन्नै सकिन ।”

प्रतिक्रिया दिनुहोस्