Logo
Logo

‘सभापति एक्लैले निर्णय गर्दा सबथोक गुम्यो’


धनराज गुरुङ, उपसभापति, नेपाली कांग्रेस


सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था कसरी आयो ?
नेपाली राजनीतिमा कहाँ के हुन्छ भन्ने कुरा विगतदेखि नै देखिरहेका छौँ, भोगिरहेका छौँ । कुनै पनि बेला राजनीतिक समीकरण फेरिन सक्छ । गठबन्धन भत्किन सक्छ । कुनै पनि पार्टीले अपर्झट निर्णय लिन सक्छ । हाम्रो निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने स्थिति छैन । त्यस्तो अवस्थामा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बनाउनुपर्ने हुन्छ ।

अहिले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाएपछि हामी प्रतिपक्षमा पुगेका छौँ । जनतासँग गरेको बाचाअनुसार तत्कालीन सत्तारुढ पाँचदलीय गठबन्धनकै सरकार हुनुपथ्र्यो । विडम्बना, निर्वाचन परिणाम आएसँगै पुरानो गठबन्धन भत्किन पुग्यो । संसद्को सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । फेरि प्रतिपक्षमा पुगियो भन्दैमा सबै राजनीति सकिएको अर्थमा बुझ्नु हुँदैन ।

कांग्रेसले सबै पद आफूसँगै राख्न खोजेपछि अहिलेको अवस्था आएको त हो नि ?
कांग्रेस सामूहिक नेतृत्वमा चलेको पार्टी हो । सोहीबमोजिम हामी महाधिवेशनाट निर्वाचित भएर आएका छौँ । तर, सत्तारुढ गठबन्धनको बैठकमा पार्टी सभापतिले प्रमुख पदाधिकारीलाई पनि छलफलमा सहभागी हुने अवसर दिनुभएन । हामी त्यो छलफलमा भएको भए समस्या समाधानको उपाय दिन सक्थ्यौँ । अब यसरी जानुपर्छ भनेर सल्लाह दिन्थ्यौँ । नेपाली कांग्रेस सामूहिक नेतृत्वमा नचल्दा अहिलेको अवस्था आएको हो ।

उपसभापति, महामन्त्रीहरूसँग समेत छलफल नगरी अगाडि बढ्न खोज्दाको परिणाम कांग्रेस र सिंगो देशले अहिले भोग्न बाध्य भएको छ । पटक–पटक गठबन्धनको बैठक बसेको छ । तर, बैठकमा के भइरहेको छ भन्ने कुरा हामीलाई थाहा छैन । हामीसँग सुझाव लिँदा राम्रै हुन्थ्यो होला नि । एकल ढंगले काम गर्ने भएपछि त प्रमुख जिम्मेवार सभापति नै हुनुभयो । त्यसमा केही भाग हाम्रो पनि रह्यो होला । त्यसको जिम्मेवारी लिन हामी तयार छौँ ।

गठबन्धन टुट्नुको मुख्य दोषी कांग्रेस कि माओवादी ?
नेपाली राजनीतिमा नैतिकताको खडेरी देखिँदै आएको छ । यसैको फलस्वरुप अहिलेको घटना जोडिएको हो । एमाले र माओवादी मिल्दै मिल्दैनन्, गठबन्धन गरेका दलहरु बीचमात्रै गठबन्धन हुन्छ भन्ने आममानिसको आकलन थियो । हाम्रो नेतृत्वको आकलन पनि त्यही थियो । तर, सिंगो नेपाली राजनीति बिटोलिएको छ । जो कसैले राजनीतिमा बेइमान गर्न सक्छ । राजनीतिमा नैतिकता स्थापित गर्न नसकेसम्म यस्ता परिघटना भइरहन्छन् ।

समग्र नेपाली राजनीतिमा नै नैतिकताको खडेरी परेको छ । यो या त्यो नभनौँ । त्यसकारण राजनीतिलाई शुद्धीकरण गर्न आवश्यक छ । कांग्रेस र माओवादी भनेर कित्ता छुट्याउनुभन्दा नैतिकता नभएपछि जे पनि हुने नै भयो । अँध्यारोपनामा कोही पनि अछुतो छैन । पानीमाथिको ओभानो कोही पनि बन्न नखोजे हुन्छ । कुन नेतामा कम र कुन नेतामा बढी भयो भन्नेमात्रै हो ।

कम-बढीचाहिँ क-कसमा भयो त ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५–२० वर्ष गठबन्धन कायम राख्ने भनेर बोल्नुभयो । तर, निर्वाचनलगत्तै प्रचण्डले बेइमानी गर्नुभयो । अनि, गठबन्धनलाई धोका दिएर रातारात प्रधानमन्त्री बन्न जानुभयो । के उहाँले पदका लागि मात्रै राजनीति गर्नुभएको हो ? जनताप्रति अलिकति भए पनि इमान्दारिता देखाउनु पर्दैन ? फेरि, आलोपालो प्रधानमन्त्रीको विषय त गठबन्धनमा उठिरहेकै थियो । नेताहरूले अलिकति पनि त्याग गर्नुपर्दैन ? अलिकति पनि धैर्य गर्नुपर्दैन ? जनताप्रति जिम्मेवार हुनुपर्दैन ?

नेपाली कांग्रेसप्रति पनि त प्रश्न छ नि ?
प्रश्न त सबैतिर छ । कांग्रेसको कार्यसम्पादन समिति बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गर्याे । त्यसपछि गठबन्धन दलहरूको बैठकमा के–के छलफल भयो भन्ने कुरा हामीलाई थाहा नै दिइएन । गठबन्धनको बैठकमा १४ जना नै पदाधिकारी बस्नुपर्छ भन्न खोजेको होइन । तर, उपसभापति, महामन्त्रीहरू सहभागी हुँदा के बिग्रिन्थ्यो ? हामीलाई विकसित घटनाक्रमबारे थाहा भएको भए, गाँठो फुकाउन हाम्रो पनि सहभागिता हुन्थ्यो होला । तर, गठबन्धनमा लामो छलफल हुँदा पनि हाम्रो सहभागिता भएन । यदि, वृहत छलफल भएको भए यस्तो परिघटना हुने थिएन कि भन्ने लाग्छ ।

कांग्रेसले यस्तो नियति भोगेको यो पहिलोपटक हो र ? तत्कालीन सभापति सुशील कोइरालाको बेलामा पनि अहिलेको जस्तै अवस्था आएको थियो नि होइन ?

नेपालको संविधान जारी भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाको समयमा पनि यस्तै परिघटना भएको थियो । त्यतिबेला पनि एमाले र माओवादी रातारात मिलेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो । मैले त्यतिबेला पनि केन्द्रीय कार्यसमिति बैठकमा तत्कालीन सभापति कोइरालालाई भनेको थिएँ, ‘तपाईं फेरि पनि मुख नबाउनुस् ।’ तर, उहाँले मान्नु भएन, परिघटना भयो । अहिले पनि त्यस्तै भएको छ । फरक यति हो कि, अहिले एउटै गठबन्धनबाट निर्वाचन लडेको माओवादी केन्द्रले रातारात धोका दिएर अर्को गठबन्धन बनाउन पुग्यो । घटना भइसकेको छ, अब गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्छ ।

अब, आरोप-प्रत्यारोपमै समय बित्ने भयो ?
बितेको कुरामा धेरै बहस, छलफल गर्नुभन्दा अब कसरी अगाडि बढ्ने भन्नेमा हामी केन्द्रित हुनुपर्छ । अब एकले अर्कालाई दोष लगाउनुभन्दा नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनुको विकल्प छैन । पार्टीलाई देश र जनताको पक्षमा दृढतापूर्वक उभ्याउने गरी अगाडि बढनुपर्छ ।

निर्वाचनमा यो गर्छौँ, त्यो गर्छौँ भनेर जितेर आउनुभयो । अहिले प्रतिपक्षमा पुग्नुभयो । जनताको आकांक्षा कसरी पूरा गर्नुहुन्छ ?
सरकारमा रहँदा मात्र विकास हुने होइन । जिम्मेवार प्रतिपक्षमा रहेर पनि विकास गर्न सकिन्छ । हामी विकास निर्माण र जनताको जीवनस्तर उकास्ने गरी काम गर्न चाहन्छौँ । जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न इमान्दारिताको साथ लाग्छौँ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने रणनीतिका साथ अगाडि बढ्नुपर्छ । कांग्रेसलाई मात्र होइन, समग्र राजनीतिलाई कसरी सुधारेर लाने भन्नेमा हाम्रो छलफल केन्द्रित हुन्छ । केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह आउने गरी निर्णय लिन्छौँ ।

तर, तपाईँहरू त संस्थापन र संस्थापनइतर भनेर झगडा गरिरहनुभएको छ नि ?
संस्थापन र संस्थापनइतर पक्ष भन्ने नै हुँदैन । राजनीतिमा महाराजकी जय होस् भन्ने प्रवृत्ति खराब हो । सभापतिलाई हामीले सम्मान गर्नुपर्छ । सभापतिको हामीले अपमान गर्नु हुँदैन र गरेका पनि छैनौँ । हामीले कतिपय विषयमा समर्थन गरेका छौँ भने कतिपय विषयमा फरकमत राखेका छौँ । सभापतिले भनेपछि भइहाल्यो नि भन्ने मानसिकता नेता तथा कार्यकर्ताले त्याग्नुपर्छ । बहस, छलफल गरेर सही निष्कर्षमा पुग्नुपर्छ ।

चाकरी गर्ने परम्पराबाट कांग्रेसले उन्मुक्ति पाउनुपर्छ । सभापतिले भनेकै हुनुपर्छ भन्ने मान्यताले कांग्रेसलाई पटक–पटक यस्तै दुर्घटनामा पु¥याएको छ । अहिले त्यही इतिहास दोहोरिएको मात्रै हो । नेपाली राजनीतिमा नेताको पूरै चाकरी गर्ने प्रवृत्ति हाबी छ । यो प्रवृत्तिबाट कांग्रेस पनि अछुतो छैन । सही निर्णयमा त हामीले पनि सभापतिलाई पटक–पटक साथ दिँदै आएका छाँै नि । गलत हुन थाल्यो भने खबरदारी गर्ने काम पार्टी नेताहरूको हो । यदि, खबरदारी गरेर पनि सच्चिएन भने कार्यकर्ता र जनताले दण्डित गरिहाल्छन् नि ।

तपाईँ यो बाटो नहिँड्नुस है, दुर्घटना पर्नुहुन्छ भनेर नेताले खबरदारी गर्न सक्नुपर्छ । यहाँ त, नेताहरुलाई उक्साइदिने, यदि भनेअनुसार भएन भने, उल्टै अर्को पक्षलाई दोष लगाउने चलन छ । यो मानसिकताबाट हामी बाहिर निस्कनै पर्छ । संस्थापन पक्ष र संस्थापनइतर पक्ष भनेर निष्कर्ष निकाल्ने होइन, सबै कांग्रेस एकै ठाउँमा आउनुपर्छ । कांग्रेसका नौ लाख कार्यकर्तामै रुपान्तरण गर्नुपर्छ । सिंगो कांग्रेसलाई रुपान्तरण गर्दै देशको रुपान्तरण गर्ने पक्षमा उभिनुपर्छ ।

संसदीय दलको निर्वाचनले त कांग्रेस अझै रुपान्तरणको पक्षमा छैन भन्ने सन्देश दियो त ?
पदको लालचमा हामीले गल्ती गरेका छौँ । त्यसकारण सिंगो कांग्रेसलाई घाटा परेको छ । एउटा नेताको लोभ र स्वार्थले सिंगो कांग्रेसलाई घाटा परिरहेको छ । निर्वाचित भएर आएका साथीहरूले जनतालाई जवाफ त दिनैपर्छ । रुपान्तरण पक्षघरमा २५ मतमात्रै खसेको अवस्था छ ।

तर, पनि हामी निराश हुनुपर्ने अवस्था छैन । रुपान्तरण भनेको निरन्तर चल्ने प्रक्रिया हो । बाटोमा आएका उल्झनलाई पन्छाउँदै अगाडि बढ्ने हो । निराश हुनुपर्ने अवस्था छैन । आफूलाई केन्द्रित गरेर होइन, मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । पार्टीलाई बदल्न सकिएन भने मुलुकलाई बदल्न सकिँदैन । अब कांग्रेसका नेता तथा कार्यकर्ताले यसतर्फ सोच्नैपर्छ ।

कांग्रेसको विशेष महाधिवेशन बोलाएर सभापति शेरबहादुर देउवालाई हटाउन खोज्नुभएको हो ?
विशेष महाधिवेशनबारे साथीहरुको बीचमा छलफल भइसकेको छैन । बृहत ढंगबाट के गर्दा फाइदा पुग्छ भन्ने हिसाबले सोच्नुपर्छ । आवेगमा आएर निर्णय गर्नु हुँदैन । के गर्दा राम्रो हुन्छ भनेर हामीले पहिला बहस, छलफल गर्नुपर्छ । समग्र पार्टी हितलाई केन्द्रमा राखेर सोच्नुपर्छ । सीमित नेताको पदलाई केन्द्रमा राखेर सोचियो भने फेरि अर्को दुर्घटना हुन जान्छ ।

नेतृत्वको अदूरदर्शी निर्णयले कांग्रेस लामो समय प्रतिपक्षमै रहने भयो होइन ?
संसदीय राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष भइरहन्छ । यो नौलो कुरा होइन । मुख्य कुरा एजेण्डाको हो । एजेण्डाले नै दलहरूलाई सफल र कमजोर बनाउँछ । संख्या धेरै भएर सशक्त प्रतिपक्ष हुने र संख्या कम भएपछि कमजोर प्रतिपक्ष हुने भन्ने हुँदैन । देश र जनताको पक्षमा एजेण्डा उठाइयो भने संख्या कम भए पनि भूमिका सशक्त हुन्छ । जसले संसद्मा जनताको एजेण्डा प्रभावकारीरुपमा उठाउन सक्छ, त्यो नै सशक्त हुन्छ । संघ र प्रदेशमा हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौँ ।

राष्ट्रपतिदेखि केन्द्र, प्रदेश सबैतिर सरकारमा हुनुपर्ने कांग्रेस सबैतिर प्रतिपक्ष बन्न बाध्य भयो । राजनीतिमा असम्भव केही नहुने रहेछ भन्ने भनाई फेरि चरितार्थ भयो होइन ?
हाम्रो जस्तो राजनीतिक संस्कार र मिश्रित निर्वाचन प्रणाली भएको मुलुकको मुख्य समस्या नै यही हो । निर्वाचन प्रणालीकै कारण पहिलो दल प्रतिपक्षीमा बस्ने, तेस्रो दलले सरकारको नेतृत्व गर्ने अवस्था आएको छ । जहाँसम्म कांग्रेसको कुरा छ, हामीलाई जनताले ठूलो दल बनाएर पठाएकै हुन् । कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले विश्वास गरेकै हुन् ।

कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएकै हुन् । स्पष्ट बहुमत दिएको भए, सायद अहिलेको जस्तो अवस्था पक्कै आउँदैनथ्यो । अनावश्यक चलखेल गर्ने ठाउँ पनि हुँदैन थियो । तर, परिणाम यस्तो आयो कि, सबैले खेल्ने ठाउँ पाए । नैतिकता र प्रतिबद्धता भुलेर नेताहरू पद प्राप्तिमा केन्द्रित भए ।

अब कसरी अगाडि बढ्छ कांग्रेस ?
हामी आ–आफ्नो ठाउँबाट जिम्मेवारी लिँदै अगाडि बढ्छौँ । घर जलेपछिको झगडा लगाइराख्नु उचित होइन । घर त जतिहाल्यो । अब, कसरी नयाँ घर बनाउने भन्ने ढंगले सोच्नुपर्छ । तत्काल नयाँ घर बनाउन सकिएन भने छाप्रो हालेर पनि बस्नुपर्छ । र, नयाँ घर बनाउने योजना बनाएर जानुपर्छ । पक्कै पनि कांग्रेसलाई ठूलो अवसर आएको थियो । व्यक्तिलाई मात्रै होइन, पार्टीलाई पनि ठूलो अवसर आएको थियो । देशकै लागि केही गर्न सक्ने वातावरण बन्दै थियो ।

सभापतिलाई ‘ग्रेसफुल एक्जिट’ को अवसर थियो । पाँचौँपटक प्रधानमन्त्री भइसक्दा पनि सत्ता छाड्ने त्यो अनुकूल वातावरणलाई उपयोग गर्नु भएन । सभापतिले त्यसरी सोचेको भए सबैभन्दा राम्रो हुन्थ्यो । अब, पार्टीलाई कसरी सवल बनाउने भन्ने हिसाबले अगाडि बढ्नुको विकल्प छैन । कसले कसलाई कारबाही गर्र्नेभन्दा पनि कसरी सवल पार्टी बनाउने भन्नेमा हामी केन्द्रित हुन्छौँ ।

प्रतिक्रिया दिनुहोस्