Logo
Logo

शीतलहरका कारण एकै दिन २२ जनाको मृत्यु



एजेन्सी । भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले गर्दा एकै दिन हृदयघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ । 

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्यांकअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए ।  तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल  नआइपुग्दै मृत घोषणा गरिएको  थियो । 

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरकै कारण रक्तचापमा अचानक वृद्धि भएको  र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ । 

‘कानपुरमा  व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको  सङ्ख्या ह्वात्तै  बढेको छ’, एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् ।  

कानपुरका स्वास्थ्य विज्ञहरूले  सबैलाई न्यानोमा  रहन र घरभित्रै बस्न सल्लाह दिएका छन् । उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ ।  

प्रतिक्रिया दिनुहोस्