Logo
Logo

केही समयपछि नै गठबन्धन धरापमा पर्छ- सञ्जय गौतम



निर्वाचनपछि पाँच दलीय गठबन्धन किन टिकाउन सक्नुभएन ?
हामी निर्वाचनअघि गठबन्धन गर्नै हुँदैन भन्ने पक्षमा थियौँ । आवश्यकताको आधारमा निर्वाचनपछि गठबन्धन गरेर सरकार बनाउन सकिन्छ भन्ने हाम्रो मान्यता थियो । स्थानीय तह निर्वाचनमा पनि हामीले त्यही भनेका थियौँ । संघ र प्रदेशको निर्वाचनमा पनि हाम्रो मत त्यही थियो । तर, पार्टीले गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णय गरेपछि हामी गठबन्धनकै उम्मेदवार भएर जनतामाझ गयौँ । नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले एकअर्कालाई मत माग्यौँ ।

नेपाली कांग्रेसका कार्यकर्तालाई हसियाँ हथौंडा, कलम, गिलासमा भोट हाल्न भन्यौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई रुखमा भोट हाल्न भन्यौँ । लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म टिक्ने उद्घोष गर्यौँ । हामीले मञ्चमै उभिएर लालसलाम भन्यौँ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले जय नेपाल भने । जनतालाई हामीले भनेका थियौँ– यो गठबन्धन प्रतिगमनविरुद्ध बनेको हो । यसले संविधानको रक्षा गर्छ । मुलुकमा स्थिरता ल्याउँछ ।

भ्रष्टाचार नियन्त्रण गर्छ । सुशासन कायम गर्छ र समुन्नति कायम हुन्छ । जनताले विश्वास गरेर हामीलाई निर्वाचनमा भोट दिए । तर, निर्वाचनपछि हामीले विविध कारणले गठबन्धन जोगाउन सकेनौँ । गठबन्धनको तर्फबाट आम जनतामाझ निर्वाचनको बेला प्रतिबद्धता जनाइसकेको अवस्थामा गठबन्धन भत्काउनु हुँदैन थियो । तर, गठबन्धनको नेतृत्व जनताप्रति इमान्दार भएको देखिएन । आखिर प्रधानमन्त्रीको कुर्सीमा गएर अड्किएको देखियो । हाम्रो सभापतिले प्रचण्डलाई सुरुको कार्यकाल प्रधानमन्त्री स्वीकारेको भए पनि हुन्थ्यो । फेरि प्रचण्ड पनि प्रतिबद्धतामा अडिनु भएन । यत्रो जनतालाई भुलभुलैयामा राखेर प्रधानमन्त्रीकै लागि प्रचण्डले गठबन्धन भत्काउने काम गर्नु हुँदैनथ्यो । हामी त गठबन्धनकै उम्मेदवार भएर जनतामाझ गएका हौँ नि ।

प्रचण्डलाई पनि गठबन्धनकै उम्मेदवारको रुपमा जनताले भोट हालेका हुन् । हामीले अब ती जनतालाई के जवाफ दिने ? नेपाली राजनीतिकलाई अनुकूल बनाएर नयाँ कोर्षमा लैजानुपथ्र्यो । त्यो स्वर्णिम अवसर हाम्रो नेतृत्वले गुमायो । माओवादी नेतृत्वले पनि बलियो गठबन्धनबाट मुलुकमा स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढाउने अवसर गुमायो । जनताप्रति गरेका प्रतिबद्धता भुल्यो । हाम्रा नेताहरू आत्मकेन्द्रित रहेछन्, त्यसकारण उनीहरूले आफ्नो लागि मात्रै हेरे । जनतासामु गरिएका प्रतिबद्धता भुले । पद, प्रतिष्ठा, मान, सम्मानका लागि मात्रै हामीले राजनीति गरेको हो त होइन भन्ने नैतिक प्रश्न फेरि एकपटक खडा भएको छ ।

नयाँ गठबन्धन बनिसक्यो । अब फेरि पुरानै गठबन्धन ब्युँत्याउन कांग्रेस लाग्छ ?
हामीले सोचेकोभन्दा पृथक ढंगले राजनीति विकसित भयो । निर्वाचन अघि बनेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म जानुपर्ने थियो । तर, एउटा विशिष्ठ परिस्थिति निर्माण भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकोमा हामीलाई दुःख छैन । कुरा यति हो कि, गठबन्धनकै तर्फबाट उहाँ प्रधानमन्त्री भइदिएको भए राम्रो हुन्थ्यो ।

नेपाली कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्रीलगायतका मुख्य पद सबै आफैँ लिन खोजेपछि गठबन्धन भत्किएको होइन ?
सबैभन्दा ठूलो दलको रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व दाबी गर्नु स्वाभाविकै हो । नेताहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति थियो । सुरुमा प्रचण्ड प्रधानमन्त्री भएको भए पनि सहजै हुन्थ्यो । आलोपालोको कुरा आएपछि तत्कालीन गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था हुन्थ्यो नै । तर, नेताहरूको अदूरदर्शी कदमका कारण गठबन्धन कायम रहन सकेन । विविध कारणले गठबन्धन भत्किन पुग्यो । यसमा हामी दुखित छौँ ।

तत्कालीन गठबन्धनकै एउटा घटक माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसक्नुभयो । अब नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जाने सम्भावना कति छ ?
प्रचण्ड प्रधानमन्त्री भएकोमा हामीलाई कुनै गुनासो छैन । हामी दुःखी पनि छैनौँ । हामीले असहजता पनि महसुस गरेका छैनौँ । तर, राजनीतिक घटनाक्रम जुन बाटोमा गयो, त्यसले हामीलाई दुःखी बनाएको छ । हामी कसरी जाँदा देश र जनताको भविष्य राम्रो हुन्छ, पार्टीहरूको भूमिका सकारात्मक हुन्छ भन्ने ढंगले हेरिरहेका छौँ । नेपाली कांग्रेसको अगाडि दुई खाले चुनौती छ । एउटा, संसदको सबैभन्दा ठूलो दल भएर पनि हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । त्यो भूमिका रचनात्मक रहोस् भन्ने हामी चाहन्छौँ । अर्कोतर्फ, मुलुक स्थिरताको बाटोमा जाओस् भन्ने हाम्रो चाहना छ । निर्वाचनमा हामीले स्थिरता दिने बाचा जनतासामू गरेका थियौँ । निर्वाचनको बेला हामीले जनतालाई भनेका थियौँ– यो गठबन्धन कायम रहन्छ । गठबन्धनलाई हामी लामो समयसम्म लैजान्छौँ । मुलुकमा स्थिरता दिन्छौँ । भ्रष्टाचार नियन्त्रण गर्छौँ र समुन्नतिको नयाँ आयाम थप्छौँ । अहिलेको परिस्थितिमा त्यो हुन सकेन । तर, मुलुकमा स्थिरता होस् भन्ने हाम्रो सोच छ । राजनीतिक दलहरूको स्वार्थका कारण मुलुक अस्थिरतातर्फ नजाओस् भन्ने हामी चाहन्छौँ ।

भनेपछि, सरकारलाई समर्थन गरेरै जाने नेपाली कांग्रेसको सोच छ ?
यो विषयमा हामी टुंगोमा पुगिसकेका छैनौँ । प्रधानमन्त्रीले विश्वासको मत लिने दिन बिहान हामी संसदीय दलको बैठक बसेर निर्णय लिन्छौँ । विभिन्न पाटोमा कुराकानी भइरहेका छन् । राजनीतिमा हरेक कुराको सम्भावना जीवित हुन्छ । हामी हरेक सम्भावनालाई सकारात्मक रुपमा हेरिरहेका छौँ । जे हुन्छ, राम्रोका लागि हुन्छ । देश र जनताको भलो हुने गरी हामी आवश्यकताको सिद्धान्तको आधारमा अगाडि बढ्छौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त कांग्रेस सत्तारुढ गठबन्धन भत्काउने लाग्यो, छिमेकी भारत पनि सक्रिय भयो भन्ने आरोप लगाउनुभएको छ नि ?
हामीलाई यो गठबन्धन भत्काउनुपर्ने कुनै आवश्यकता छैन । हामी त्यसमा लागेका छैनौँ, लाग्दा पनि लाग्दैनौँ । यस्ता काल्पनिक कुरामा नअल्मलिन सबै साथीहरूलाई म आग्रह गर्न चाहन्छु । सत्ता गठबन्धन कसरी भत्काउने भन्ने विषयमा हामीले सोचेकै छैनौँ । मुख्यकुरा के हो भने, हामीले कस्तो भूमिका निर्वाह गर्दा देश र जनताको हित हुन्छ भन्ने निष्कर्षमा पुग्न बाँकी छ । हामी हरेक पक्षलाई हेरेर विश्लेषण गरिरहेका छौँ । सरकारभन्दा बाहिर बसेर यो सरकारलाई समर्थन गर्ने कि, सशक्त प्रतिपक्षको रचनात्मक भूमिकामा जाने भन्ने विषयमा हामीले निष्कर्ष निकालिसकेका छैनौँ । दुबै परिस्थिति हाम्रो लागि अप्ठेरो छैनौँ । किनकि, प्रचण्डले हाम्रो पनि मतले चुनाव जित्नुभएको छ । हामीले पनि माओवादीको मतले चुनाव जितेका छौँ । यहाँसम्मको संसदीय यात्रामा हामीले एकअर्कालाई सहयोग नै गरेका छौँ । तर, अहिले विशिष्ठ परिस्थिति निर्माण हुन पुग्यो । हाम्रा नेताहरूले सायद, विवेक पुर्याउनु भएन । यसमा जति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोषी हुनुहोला, त्यो भन्दा कम दोष प्रचण्डजीको पनि नहोला । एउटा पक्षलाई मात्रै दोष लगाएर उन्कन खोज्नु हुँदैन । समग्रमा तत्कालीन गठबन्धनका हामी सबै शक्ति चुकेका छौँ ।

चुक्यौँ भन्ने थाहा हुँदाहुँदै दलहरूले दम्भ किन देखाउँछन् ?
कसरी चुक्यौँ ? किन चुक्यौँ ? कहाँ चुक्यौँ ? कसका कारणले चुक्यौँ ? कुन शक्तिले हामीलाई चुकायो भन्ने कुराको इतिहासले विश्लेषण गर्ला । अब कसरी अगाडि बढ्ने भन्ने कुरो मात्रै हो ।

संसदको सबैभन्दा ठूलो दल सत्ताबाट विपक्षमा पुग्दा पनि निर्वाचित सांसद खुसी हुनुपर्ने कस्तो अवस्था हो यो ?
मुलुकले कुन कोर्ष लिन्छ भन्नेमा हामी चिन्तित छौँ । तत्कालीन लोकतान्त्रिक–वाम गठबन्धनको प्रधानमन्त्री प्रचण्ड भइदिएको भए, उहाँलाई सबैभन्दा सजिलो हुन्थ्यो । जनताले मत पनि लोकतान्त्रिक–वाम गठबन्धनकै पक्षमा दिएका थिए । जनतामा पनि लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा मनोविज्ञान तयार भएको थियो । तर, अहिले जुन किसिमको गठबन्धन निर्माण भएको छ, यो त्यति सहज र सरल छैन । अहिलेको गठबन्धनका दलहरूबाट प्रचण्ड कुनै पनि बेला अप्ठेरोमा पर्न सक्नुहुन्छ । प्रचण्ड मात्रै अप्ठेरोमा पर्नुहुन्छ कि मुलुक नै अप्ठेरोमा पर्छ भन्ने मुख्य कुरा हो । हरेक परिस्थितिको हामीले गम्भीरतापूर्वक विश्लेषण गरेका छौँ । तर, हामी टुंगोमा पुगिसकेका छैनौँ ।

निर्वाचनमा गठबन्धन १५–२० वर्ष टिक्छ भन्नु अनि निर्वाचनलगत्तै नयाँ गठबन्धन बनाएर जानू मतदाता र गठबन्धन दलहरूलाई धोका होइन ?
हाम्रो गठबन्धनकै एउटा घटक दलको नेता प्रधानमन्त्री बन्नुभयो । तर, जुन नयाँ गठबन्धन बन्यो, त्यसको आयु लामो छैन । यो अवस्थामा मुलुक अस्थिर राजनीतिको भूमरीमा पर्न सक्छ । व्यवस्था नै खतरामा पर्न सक्छ । त्यसकारण हामी सबै सम्भावनालाई केलाएर ठोस राजनीतिक निर्णय लिन्छौँ । हाम्रो निर्णयले मुलुकको राजनीतिमा सकारात्मक भूमिका खेल्छ ।

यसको अर्थ जसरी पनि सत्तारुढ गठबन्धन भत्काउन सकिन्छ भन्ने हो ?
हामी तुरुन्तै यो गठबन्धन भत्कियोस् भन्नेमा छैनौँ । यो गठबन्धन न हामीले निर्माण गरेका हौँ, न त हामीले भत्काउने हो । तपाईँ हेर्दै जानुस्, केही समयपछि यो गठबन्धन आफैँ धरापमा पर्छ । त्यसपछि मुलुक नयाँ कोर्षमा अगाडि बढ्छ ।

नयाँ कोर्षमा अगाडि बढाउने सामथ्र्य कांग्रेससँग छ त ?
नयाँ कोर्षमा जाँदा मुलुकका लागि, संविधानका लागि हाम्रो भूमिका सकारात्मक रहन्छ भन्ने ठानेका छौँ । त्यही कारण हामीले विभिन्न आयामबाट छलफल गरिरहेका छौँ ।

कांग्रेससामु अबको विकल्प के–के छन् ?
हामी दुवै पक्षबाट विश्लेषण गरिरहेका छौँ । अहिलेको परिस्थितिमा हामी सबैभन्दा ठूलो पार्टी भएर पनि परिवेशले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न ढोका खोलिदिएको छ । हामी त्यो भूमिकाका लागि तम्तयार नै छौँ । तर, हाम्रो त्यो भूमिकाले पनि मुलुकलाई स्थिरता दिन्छ कि दिँदैन भन्नेमा हामी चिन्तित छौँ । हामी यो सरकारमा सामेल त हुँदैनौँ । सरकारमा सामेल हुने र पावर सेयरिङ गर्ने भन्ने त कल्पना नै नगर्नुस् । हामी हिजो जसरी गठबन्धनबाट चुनाव लडेर आयौँ । त्यसैगरी, नैतिकरूपमा सरकारलाई समर्थन गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि सक्छौँ । त्यो ढोका पनि हाम्रो लागि खुला छ । अर्कोतर्फ, प्रचण्ड नेतृत्वको सरकारको विरोधमा गएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि सक्छौँ । त्यसकारण हामीले राम्रो कुराको समर्थन गछौँ । नराम्रो कुराको विरोध गर्छौँ । हामी विरोधका नाममा विरोधचाहिँ गर्दैनौँ ।

नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गर्यो भने त प्रतिपक्ष नै नहुने भयो नि ?
नेपाली कांग्रेसले यो सरकारलाई समर्थन गर्ने कुरा भइसकेको छैन । हरेक पक्षमा हामी विश्लेषण गर्दैछौँ ।

भनेपछि सभामुख, आगामी दुई वर्षपछिको केन्द्रीय सरकार, अनि प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायतका कांग्रेसको चासो छ ?
संघीयताको अभ्यास हामीले भर्खरै मात्र गरेका हौँ । त्यसलाई संस्थागत गर्ने कुरा छ । केन्द्रमा पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको विषय छ । सबैले अनुकूल वातावरण खोज्छ नै । हामी सत्ता र शक्तिका लागि लालायित छैनौँ । हामी जनताका हरेक सवाललाई संसद्मा उठाउन चाहन्छौँ । सरकारलाई सचेत र सहयोग पनि गर्न चाहन्छौँ । तर, हाम्रो बाटो के हुने भन्ने विषयमा हामी छलफलमै छौँ ।

प्रतिक्रिया दिनुहोस्