Logo
Logo

बैंकहरुको अप्रेसनल रिस्क बढेको छ- ज्ञानेन्द्रप्रसाद ढुंगाना, अध्यक्ष, नेपाल बैंकर्स एशोसियसन


- दृष्टि न्युज/संवाददाता


पछिल्लो समय बैंकिङ क्षेत्रमा ह्याकिङका घटना बढेका छन्, चिनियाँ ह्याकर संलग्न पछिल्लो घटनाले ग्राहकसमेत त्रसित भएका छन्, यो अवस्थामा बैंकले कस्तो सुरक्षा रणनीति बनाइरहेका छन् ?

प्रविधिको विकाससँगै यस्ता घटना देखिरहन्छन् । एउटा घटनालाई लिएर बैंकिङ सिष्टममै विश्वास नगर्नु गलत हो । यस्ता घटना गलत तरिकाले प्रचारप्रसार भइरहँदा सर्वसाधारण पनि नकारात्मक सन्देश पुगेको हुनसक्छ । पछिल्लो एटिएम ह्याकिङ नयाँ किसिमबाट भएको छ । बैंक र प्रहरी प्रशासनको सिष्टम कति बलियो रहेछ भन्ने पनि यो घटनाले देखाएको छ । पैसा निकाल्दा निकाल्दै पक्राउ गरेर सबै रकम रिकभर गर्नु भनेको ठूलो कुरा हो । यसले नेपाल प्रहरीको दक्षता कति छ भन्ने देखायो ।

तर, पनि यसले हाम्रो सिष्टममा केही कमजोरी छ भन्ने पनि देखियो । विदेशबाट फरेन्सिक एक्सपर्ट ल्याएका छौं, कमीकमजोरीलाई सुधार गरी नयाँ स्वीच बनाएर कारोबार सुचारु भइसकेको छ । हो यसमा जति पैसा फ्रड भयो त्यो भन्दा धेरै हाम्रो खर्च भयो । केही ग्राहकहरुलाई दुःख पनि भयो, खासगरी जसले कार्ड लिएर विदेश जानुभएको थियो । यो घटनाबाट हामीले धेरै कुरा सिकेका पनि छौं । सिष्टममा नियमित मोनिटरीङ चाहिदो रहेछ । खासगरी बिदाको दिनमा । ह्याकरहरुले छुट्टीको दिनमा यस्तो गतिविधि गर्ने देखियो । दशैं तिहारको लामो छुट्टी पनि आइरहेको छ । आगामी दिनमा यस्ता घटना नहुन् भनेर बिदाको दिनमा समेत सजग हुनलाई सजिलो भयो । तर, भोलिका दिनमा घटनाका प्रवृत्ति फरक हुनसक्छन् । यसमा हामी सचेत छौं । यो अवस्थामा पछाडि फर्केर परम्परागत बैंकिङ गर्न सक्दैनौं । डिजिटल बैंकिङमा नै अगाडि बढ्ने हो । संसारभरका ह्याकरले आँखा लगाएका छन्, हामी सजग हुने बेला आएको छ ।

हामी बैंकहरु लगानी गर्नका लागि सजग पनि भएका छौं । डिजिटल कारोबारमा जोड दिएका छौं । दशैंमा नयाँ नोटकै लागि ५/७ अर्ब निस्कन्छ । त्यो रकम बैंकिङ च्यानलमा आउनलाई महिनौं दिन लाग्छ । ५/१० का नोट त बजारमै हराउँछन् । त्यो कारण पनि बैंकमा पैसा कम हुन सक्छ । स्प्रेड दर लगायतले लगानी गर्ने बैंकहरुको क्षमतामा कमी आएको छ । गत वर्ष जस्तो एग्रेसिभ भएर बैंकहरुले लगानी गर्ने अवस्था यो वर्ष छैन । तर, हामी त्यो अवस्था नआओस् भन्नका लागि वाचफुल छौं ।

विगतमा पूर्वी युरोपिन देशका ह्याकर आएका थिए, अहिले चिनियाँ आए, हाम्रो प्रविधिक कमजोर भएकाले विदेशी ह्याकरहरु नेपालमा केन्द्रित भए भन्ने छ नि ?

हाम्रो देशमा मात्र ह्याकिङ भएको होइन । अन्य देशमा पनि ह्याकिङ भइरहेका छन् । हाम्रो देशमा पनि अलिअलि हुन थालेका छन् । उनीहरुले सिस्टममा कहाँ कमजोरी छन् भनेर टार्गेट गर्छन् । त्यसलाई हामीले सुधार गरिसकेका छौं । यो घटनाबाट पाठ सिक्ने र भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे योजना बनाउँदैछौं ।

साइबर सुरक्षामा लगानी गर्न बैंकहरुले कञ्जुस्याई गरे भनेर गर्भनरले समेत आरोप लगाउनुभयो, यो साँचो हो ?

त्यसरी दोष दिन मिल्दैन । अब थप गर्नुपर्ने देखियो भन्ने हो । कति लगानी गर्ने भन्ने पनि अर्काे प्रश्न हो । धेरै खर्च गर्दैमा सिष्टम सुरक्षित हुन्छ भन्ने पनि होइन । एक रुपैयाँ कमाउनु छ भने १० रुपैयाँ खर्च गर्नु पनि सकिदैन । ग्राहकहरुसँग सेवा शुल्कहरु पनि लिन पाइँदैन भन्ने, लगानी पनि बढाउनुपर्छ भन्नु पनि हुँदैन । घरमै बसेर मोबाइलाट बैंकिङ कारोबार गर्न पाइन्छ भने त्यसको पनि त केही सेवा सुविधा त लाग्छ नि । त्यो तिर्न चाही आम ग्राहक पनि तयार हुनुपर्छ । प्रविधि पनि हामीले सुरक्षित बनाउँदै लैजानुपर्छ ।

सधैं वर्षमा एकपटक बैंकिङ क्षेत्रमा तलरता अभाव हुने गरेको छ, यो वर्ष पनि त्यसको संकेत देखियो भन्ने छ नि ?

लगानीयोग्य पूँजी अभावको कुरा गर्दा पछिल्लो २/३ वर्षमा यो ‘साइक्लिकल’जस्तो देखिएको छ । पहिलो त्रैमासिक सकिएपछि लगानीयोग्य पूँजीको अभाव देखिने गरेको छ । यो वर्ष पनि देखिन्छ कि भन्ने त्रास छ । अहिलेसम्म त्यस्तो देखिहालेको छैन । गत आर्थिक वर्षमा विकास खर्च राम्रै भयो । रेमिटेन्सको फ्लो पनि पनि राम्रो भयो । दशैंपछि नै लगानी योग्य रकमको अभाव भइहाल्छ कि भन्ने चाँही देखिएको छैन । तर, नहोला भन्ने पनि छैन ।

अर्काे कुरा हामी बैंकहरु लगानी गर्नका लागि सजग पनि भएका छौं । डिजिटल कारोबारमा जोड दिएका छौं । दशैंमा नयाँ नोटकै लागि ५/७ अर्ब निस्कन्छ । त्यो रकम बैंकिङ च्यानलमा आउनलाई महिनौं दिन लाग्छ । ५/१० का नोट त बजारमै हराउँछन् । त्यो कारण पनि बैंकमा पैसा कम हुन सक्छ । स्प्रेड दर लगायतले लगानी गर्ने बैंकहरुको क्षमतामा कमी आएको छ । गत वर्ष जस्तो एग्रेसिभ भएर बैंकहरुले लगानी गर्ने अवस्था यो वर्ष छैन । तर, हामी त्यो अवस्था नआओस् भन्नका लागि वाचफुल छौं ।

राजनीतिक स्थायित्वछि देशको अर्थतन्त्र कुन बाटोमा जाँदैछ, बैंकर्स एशोसियनको अध्यक्षका रुपमा कसरी हेर्नुभएको छ ?

राजनीतिक स्थायित्वपछि लगानीको वातावरण राम्रो बन्यो । कर्जाको डिमान्ड आएको छ । यसलाई त सकारात्मक रुपमा नै लिनुपर्छ । लगानी बढेपछि रोजगारी बढ्छ । उत्पादन बढ्छ । तर, पछिल्लो समय केही नीतिहरुको काम बिजनेश कम्युनिटीमा त्रासको वातावरण सिर्जना भएको छ । प्रोपर्टी ट्याक्स, कर्जाका लागि वित्तीय विवरण कर कार्यालयमा पहिले नै बुझाउनुपर्नेजस्ता कुराहरुले गर्दा व्यवसायीहरुमा अन्योलता छ । मलाई लाग्दैन यसले लगानीको वातावरण बिगारिहाल्छ । तर, लगानीको वातावरणका लागि सरकारले अझ ध्यान दियो भने आगामी दिनमा अर्थतन्त्र अझ राम्रो हुनेछ ।

नयाँ बाफिया ऐनको मस्यौंदा संसदमा पुगेको छ, यसमा तपाईहरुको प्रतिक्रिया के छ ?

यो समयको माग हो । यसमा ३÷४ वटा नयाँ कुराहरु छन् । यसमा एउटा पदावधीको कुरा छ । जून पहिलेदेखि नै लागू भइसकेको छ । सञ्चालकहरुको एउटा कार्यकाल ग्याप हुने कुरा छ । उमेरको कुरा छ । उमेरको कुरामा केही छलफल बाँकी छ । प्रमुख कार्यकारी अधिकृतको उमेरहद तोक्ने एउटा कुरा भो तर, सञ्चालकहरुको हकमा त्यो लागू हुनु हुँदैन । ७०÷७१ वर्षको उमेरको मान्छेले सञ्चालक समितिमा बसेर योगदान गर्न सक्छ ।

अर्काे भनेको बैंकर र व्यवसायीलाई अलग गर्ने कुरा छ । त्यो कुन हिसाबले आउँछ थाहा छैन । सैद्धान्तिक हिसाबले त्यो सही हो । तर, व्यहारिक हिसाबले कसैलाई अफ्ठेरो नपर्ने गरी प्रावधान राख्नुपर्छ ।

बिर्ग मर्जरलाई बैंकहरुले कसरी लिइरहेका छन् ?

विगतमा लगानीयोग्य रकमको अभाव भएपछि बजारमा बैंकहरु अस्वस्थ प्रतिस्पर्धा भयो । त्यसले कर्जाको ब्याजदर पनि महंगो हुँदै जाने अवस्था आयो । अस्वस्थ प्रतिस्पर्धा कम गर्न बैंकको संख्या पनि घटाउनुपर्छ । कर्जाको ब्याजदर बढ्नु भनेको उत्पादन लागत बढ्छु हो । नेपालमा बनेको सामान एक सय रुपैयाँ र भारतमा त्यही सामान ४० रुपैयाँमा बन्यो भने हाम्रा सामान बिक्री हुँदैन । त्यसले आयातलाई बढाउँछ ।

बैंक तथा वित्तिय संस्थाको संख्या बढी भएको त हामीले पनि महशुस गरेकै हौं । स्वस्फुर्त रुपमा मर्जर हुने वातावरण बनाईदिन हामीले भनेका थियौं । केही सहुलियतहरु मौद्रीत नीतिमा पनि आयो । तर, त्यो सहुलियतप्रति धेरै बैंकहरु आकर्षित भएको देखिएन । राष्ट्र बैंकले क्रस होल्डिङ तथा सिमिलर नेचर अफ बिजनेशलाई हेरेर केही बैंकहरुलाई मर्ज गराएर बैंकको संख्या घटाउने नीति लिएको देखिन्छ । ५÷७ वटा बैंक घट्दैमा हाम्रो अर्थतन्त्रलाई खासै असर पर्दैन जस्तो लाग्छ । ५÷७ वटा बैंकहरु बिग मर्जरमा जान्छन् भन्ने हामीले पनि आँकलन गरेका छौं ।

बिओके तथा देवः विकास बैंकमा पछिल्लो समय भएको अनियमिततामा प्रहरीले अनुसन्धान गरिरहेको छ, यसले त बैंकिङ सुशासन अझै कमजोर छ भन्ने देखाउदैन ?

पहिलेभन्दा यस्ता घटनामा धेरै कम भएको छ । नेपाल राष्ट्र बैंकले हरेक कारोबारको नियमन गरेको हुन्छ । तीन तहको अडिट हुन्छ । बैंक आफैंमा पनि कर्पाेरेट गभमेन्सको कल्चर भएको सेक्टर हो । त्यति हुँदाहुँदै पनि यदाकदा घटनाहरु भइरहेका छन् । पक्कै पनि अपरेशनल रिस्कहरु अलि बढेका छन् । यसमा आन्तरिक नियमन प्रणालीलाई नै सुधार गर्दै लैजानुपर्छ । तर, १÷२ जनाले फट्याई गर्दैमा पूरा सिष्टममा नै फट्याई हुन्छ भनेर बुझ्नु हुँदैन ।

बैंकिङ क्षेत्रका अहिलेका अरु समस्या के छन् ?

एउटा कुरा तपाईले उठाएकै अपरेशन रिस्कको जोखिम बढेको छ । गत वर्ष एकै पटक २÷३ सय ठाउँमा बैंकहरुले शाखा खोले । मेनपावर तत्काल उपलब्ध थिएन । सामान्य तालिमकै भरमा काम सुरु भयो । प्रविधिहरु नयाँ–नयाँ आइरहेका छन् र डिजिटल कारोबार बढेको छ र नयाँ स्टाफहरु हुँदा अपरेशनल रिस्क बढेको छ । स्टाफहरुलाई ट्रेन गरेर अभ्यस्त बनाउन केही समय लाग्छ । क्रेडिट रिस्क भन्दा अप्रेशनल रिस्कमा बैंकहरुले अलि बढी ध्यान दिनु जरुरी छ ।

नीतिगत समस्या के छन् ?

नीतिहरु नयाँ–नयाँ आइरहन्छन् । हालै आएको स्प्रेड दरले बैंकहरुको नाफामा कमी आउँछ । करिब २५ प्रतिशत नाफा घट्छ होला । स्प्रेडमा यति धेरै नियन्त्रण गर्नु हुँदैन भनेर अनुरोध गरेका छौं । मौद्रीक नीतिको समीक्षामा यो कुरा सुधार हुने हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्