मकवानपुर । माघे संक्रान्तिका अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले विज्ञप्ती जारी गर्दै सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति वा माघी पर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको उल्लेख गरेका छन् ।

नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै शर्माले यस्ता पर्वले नेपालीलाई एउटै सुत्रमा बाँध्ने काम गरेको उनको भनाइ छ । ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय पर्व हुन्’, प्रमुखको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा पर्वहरुले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ ।’
माघी पर्वले एक आपसमा सद्भाव, सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्धि गराउन थप मदत पुग्नेछ भन्ने विश्वास पनि प्रमुख शर्माले गरेका छन् ।











