Logo
Logo

चिनियाँ विदेशमन्त्रीद्वारा मध्यपूर्व देशहरूको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान



एजेन्सी । भ्रमणरत चिनियाँ विदेशमन्त्री छिन गाङले मध्यपूर्वका देशहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने बताएका छन् ।

इजिप्टका समकक्षी समेह शौकरीसँगको पत्रकार सम्मेलनमा मन्त्री छिनले चीनको मध्यपूर्व नीतिको बारेमा उल्लेख गर्दै यस क्षेत्रको मुख्य समस्याको समाधानका निम्ति चीनका तर्फबाट यस क्षेत्रका देशहरूलाई वार्ता र परामर्शमार्फत क्षेत्रीय यथार्थसँग मेल खाने र सबैको हितलाई मिल्ने गरी समाधान खोज्न समेत आह्वान गरेका छन् ।

उनले हालैका वर्षहरूमा बहुध्रुवीय विश्वमा एक महत्त्वपूर्ण शक्तिको रूपमा मध्यपूर्वका देशहरू र जनताले एकताको सुदृढ गर्दै, विकास र पुनरुत्थानलाई बढावा दिएको बताएका छन् ।  सभ्यताहरूबीचको आदानप्रदानलाई थप सक्रिय बनाउनुपर्ने बताउँदै उनले निष्पक्षता र न्याय कायम गर्न आफू प्रतिबद्ध रहेको  उल्लेख गरेका छन् ।   

अर्कोतर्फ उनले क्षेत्रीयस्तरमा देखा परेका जल्दाबल्दा मुद्दाहरू र बदलिदो परिस्थितिसँगै मध्यपूर्वको अवस्था अस्थिर र अनिश्चित रहेको पनि बताएका छन् । केही देशहरू अशान्तिमा छन्, बाह्य हस्तक्षेप अझै पनि सुरक्षा र स्थायित्वलाई कमजोर बनाउने र लामो समयसम्म असर गर्ने महत्त्वपूर्ण कारक रहेको मन्त्री  गाङको धारणा छ ।  ्

चिनियाँ विदेशमन्त्रीले यस क्षेत्रका देशहरूलाई खाद्य तथा ऊर्जा सुरक्षा चुनौतीहरू सामना गर्न र क्षेत्रीय विकासको लागि बलियो जग बसाल्न मद्दत गर्न थप विकास सहयोगको आह्वान गरेका छन् ।  उनले आतंकवादसँग लड्न र आतंकवाद र अतिवादको विस्तार रोक्न साझा प्रयास गर्नुपर्ने  उल्लेख गरेका छन् ।  

चीनले यस क्षेत्र बाहिरका देशहरूलाई मध्यपूर्वका देशहरूको सार्वभौमसत्ताको सम्मान गर्न र उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत आह्वान गरेको छ। साँचो अर्थमा बहुपक्षीयताको अभ्यास गर्न र एकपक्षीयरूपमा प्रभुत्व देखाउँदै  द्वन्द्व सृजना गर्नबाट टाढा रहनस मध्यपूर्वको इतिहास र सांस्कृतिक परम्परालाई सम्मान गर्न तथा सभ्यताहरूबीच विभिन्न किसिमका खाडल सृजना गर्न खोज्ने शक्तिहरूबाट सजग रहन पनि उनले आग्रह गरेका छन् ।
 
चीनले मध्यपूर्वका जनतालाई स्वतन्त्र रूपमा आफ्नो विकासको बाटो खोज्न र सहयोग र समन्वयका माध्यमबाट क्षेत्रीय सुरक्षा समस्याको समाधान गर्न पनि मध्यपूर्वका देशहरूलाई समर्थन गर्ने कुरा व्यक्त गरेका छन् । 

मध्यपूर्वका देशहरूसँगको बेल्ट एन्ड रोड सहकार्यमा प्रतिबद्ध रहेको चीनले विश्वव्यापी विकास पहल कार्यान्वयन गर्न, विकास र पुनरुत्थानलाई संयुक्त रूपमा अगाडि बढाउने, विश्वव्यापी सुरक्षा पहलमा सहकार्य गर्नका निम्ति व्यापक एवं सहयोगात्मक र दिगो सुरक्षा संरचनाको स्थापना गर्न कडा मेहनत गर्ने पनि चिनियाँ मन्त्रीको प्रतिबद्धता छ ।  साथै उनले मध्यपूर्वमा जल्दाबल्दा मुद्दाहरूको राजनीतिक समाधानमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने बताएका छन् । 

चीनले विश्व सभ्यताको विविधतालाई संयुक्त रूपमा संरक्षण गर्न मध्यपूर्वका देशहरूसँग सांस्कृतिक आदानप्रदानमा सक्रिय रूपमा संलग्न हुने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्