Logo
Logo

मधेसका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव



धनुषा, । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिनाभित्र भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् ।

आज प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारलाई शून्यमा पुर्याउने प्रतिबद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मुख्यमन्त्री यादवले भ्रष्टाचार छानविनका लागि आफूले पाँच सदस्यीय समिति गठन गरेको स्मरण गराउँदै उनले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रमसमेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाइ थियो ।

मुख्यमन्त्री यादवले भने, ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अब मैले तीन महिनाभित्र प्रदेश सरकारका कार्यालयमा भ्रष्टाचार शून्यमा झार्छुु र सबै दललाई मिलाएर एकसाथ लग्नेछु ।’ उनले सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउने र आवश्यक पर्यो भने पूरक बजेट पनि ल्याउन सकिने बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले ऐतिहासिक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले प्रदेशसभाको सबै दल र सबै सांसदको विश्वास पाएका छन् । उनले विश्वासको मत लिने बेलामा सभामा उपस्थित एक सय दुई सांसदमध्ये मत विभाजन हुँदा एक सय दुई जना सांसदले नै पक्षमा मतदान गरी विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको छ । कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले सङ्घीयतालाई संस्थागत विकास र सरकारलाई अस्थिरताबाट जोगाउन विश्वासको मत दिएको बताए ।

विश्वासको मत दिएर पनि आफ्नो पार्टी प्रदेशसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहने नेता यादवले बताए । एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले पनि सङ्घीयतालाई स्थायित्व दिने उद्देश्यले विश्वासको मत दिएको जनाएको छ ।

यसरी वर्तमान मुख्यमन्त्रीलाई सत्तारूढ गठबन्धन दल जसपा, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), जनमत, लोसपा, नेपाल सङ्घीय समाजवादी पार्टी, राप्रपाका साथै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र निर्वाचित सांसदहरूले पनि विश्वासको मत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्