Logo
Logo

इन्द्रबहादुर आङबो प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमका संयोजक



विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम)लाई प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिकाे संयोजक बनाइएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सहभागी बैठकले आङ्बोको नेतृत्वमा मस्यौदा समिति गठन गरेको हो ।

समितिमा एमालेबाट पूर्वमन्त्री रामबहादुर राना मगर र सत्ता गठबन्धनलगायत राप्रपा र जसपाबाट एक–एक जना सदस्य रहनेछन् । संयोजक आङ्बोले भने, ‘समितिले छिट्टै मस्यौदा बनाएर सरकारलाई दिनेछ ।’

पुस २५ गते प्रदेश १ सरकार गठन भएपनि हालसम्म सरकारले पूर्णता पाएको छैन । नियुक्त भएका ६ जना मन्त्रीको समेत जिम्मेवारी तोकिएको छैन । मन्त्रालय भागबण्डा र मन्त्रीलाई जिम्मेवारी दिनेबारे सत्ता गठबन्धन घटक नेकपा एमाले र माओवादी केन्द्रबीच समझदारी गर्दै अन्य सत्ता घटक दलले सुझाव दिएको पनि आङ्बोले बताए ।

प्रतिक्रिया दिनुहोस्