Logo
Logo

प्रदेश १ मा सत्ता गठबन्धनबीच भागबन्डा टुंगियो



विराटनगर । प्रदेश १ मा सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगिएको छ । शुक्रबार सत्तामा रहेका दलहरुबीच भएकाे छलपफलले मन्त्रालय बाँडफाँट टुंगो लगाएको हो ।

नेकपा माओवादीका एक नेताका अनुसार मन्त्रालय बाँडफाँटबारे सैद्धान्तिक रुपमा सहमति भएपनि औपचारिक निर्णय भने भएको छैन । उनका अनुसार प्रदेश १ मा गठबन्धनका शीर्ष नेतृत्वमा भएको सहमतिअनुसार एमालेले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय राख्ने भएको छ ।

यस्तै, नेकपा माओवादीले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र कृषि तथा उद्योग पर्यटन वन तथा वातावारणमध्ये एक मन्त्रालय पाउने भएको छ भने राप्रपाले कृषि र पर्यटनमध्ये एउटा पाउनेछ ।

त्यस्तै स्वास्थ्य मन्त्रालय जसपाले पाउने सहमति बनेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राख्ने भएका छन् । सोक्रममा तिलकुमार मेन्याङबो आन्तरिक मामिला र बुद्धिकुमार राजभण्डारी खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री बन्ने भएका छन् ।

माओवादीतर्फबाट दुर्गाप्रसाद चापागाँई सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्य कृषि र उद्योग पर्यटन वन तथा वातावरणमध्ये एक हुने भएका छन् ।

एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले मन्त्रालय बाँडफाँटको विषय मोटामोटी टुंगिएको बताए । हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकाको पहिलो क्याबिनेटले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गरिसकेको छ ।

उक्त निर्णयअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय रहनेछन् ।

प्रदेश १ मा अहिले एमालेका ३, माओवादीका २, राप्रपा र जसपाबाट १–१ जना मन्त्री छन् । मुख्यमन्त्रीबाहेक अन्य मन्त्री जिम्मेवारी तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्