Logo
Logo

सुदूरपश्चिम : माग पूरा नभए सरकारलाई विश्वासको मत नदिने



धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ ।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका सो पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्ता रिहाई गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने घोषणा गरेको हो ।

‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौं, हाम्रा माग पूरा भए मात्रै सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत दिन सकिन्छ ।’, नागरिक उन्मुक्ति पार्टी प्रमुख सचेत गंगाराम चौधरीले भने ।

उनले विश्वासको मत पाउनका लागि लाल आयोगको प्रतिवेद सार्वजनिक हुनुपर्ने, टीकापुर घटनामा संलग्न रहेको भन्दै जेल चलान गरिएका लक्ष्मण चौधरीसहितका नेता कार्यकर्ताको रिहाई गरिनुपर्ने लगायत माग आफ्नो पार्टीले अघि सारेको बताए ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने संकेत गरेपछि सत्तारुढ दल का नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीलाई फकाउन लागेका छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावल सहतिको टोली नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न काठमाडौं पुगेका थिए ।

मुख्यमन्त्री रावलले पार्टीका संरक्षक रेशमसमक्ष मागेको मन्त्रालय दिन सकिने जनाए पनि रेशमले आफ्नो पार्टीले मन्त्रालय नलिने स्पष्ट पारेका छन् । पहिलो चरणमा मुख्यमन्त्री चयन र सभामुख तथा उपसभामुख चयनमा सहयोग गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउने सहमति भए पनि केन्द्र सरकारले सो सहमति कार्यान्वयन नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस मसान्त वा माघको दुई/तीन गतेसम्म रेशमलाई रिहाई गर्न आवश्यक प्रक्रियाअघि बढाउने आश्वासन दिएका भए पनि सो सहमति कार्यान्वयन गर्न नसकेको नागरिक उन्मुक्ति पार्टीको आरोप छ ।

पहिला संघदेखि प्रदेशमा बन्ने सरकारलाई समर्थन गरौं अनि टीकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरी लगायत नेता कार्यकर्ता छुटाउन पहल गर्नेछौं भन्ने आश्रवासन प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले दिएको प्रमुख सचेतक चौधरीले बताए ।

सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको उनले बताए । सभामुख निर्वाचनमै दुई पटक मत नहालेको उन्मुक्तिले फेरि रेशम चौधरी लगायत टीकापुर घटनाका राजबन्दी रिहाइको माग अघिसारेपछि रावललाई विश्वासको मत लिन चुनौती देखिएको हो ।

सत्तारुढ दलहरु पनि नागरिक उन्मुक्ति पार्टीले अघि सारेका माग सम्बोधन गराउने तर्फ केन्द्रित भएका छन् । पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्दै संघ सरकारमार्फत् माग चाँडो सम्बोधन गराउने तर्फ प्रदेशका नेताहरु पनि केन्द्रित छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै मुद्दा सम्बोधनको प्रक्रियामा लैजानुपर्नेमा उनीहरूको जोड छ ।

सुदूरपशिचम प्रदेशमा नागरिक उन्मुक्तिको साथ पाएको अवस्थामा मात्रै मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजबादी पार्टीले मुख्यमन्त्रीलाई समर्थन गरेका छैनन् । जसकारण नागरिक उन्मुक्तिको समर्थनविना मुख्यमन्त्रीले विश्वासको मत पाउन गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्