काठमाडौं । नेपालमा राजनीतिक दलहरु थपिनेक्रम जारी नै छ । गत निर्वाचनताका थएिका केही दलले राष्ट्रिय पार्टीको मान्यता पाइसकेका छन् । यस्तै, नेपालमा अर्को पनि राजनीतिक दल थपिने भएको छ ।
निर्वाचन आयोगमा आज नयाँ दल दर्ता हुँदैछ । आइतराम तामाङ ‘आरम’को अध्यक्षतामा ‘स्वतन्त्र नेपाल पार्टी’ दर्ता हुन लागेको हो । आरमले सोमबार नयाँ दल दर्ता गर्ने जानकारी गराएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका आरमले नयाँ दल दर्ताका लागि सबै प्रक्रिया पूरा भएको बताए ।
गत निर्वाचनमा ‘क्रस खुकुरी’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका उनले आफ्नो नयाँ पार्टी ‘स्वतन्त्र नेपाल पार्टी’को चुनवा चिन्ह पनि ‘क्रस खुकुरी’ हुने बताए ।
दल दर्ताका लागि प्रारम्भिक २१ सदस्यीय कमिटीसमेत गठन गरिएको छ । आइतराम तामाङ (आरम) अधयक्ष रहेको ‘स्वतन्त्र नेपाल पार्टी’को बरिष्ठ उपाध्यक्षमा विवेकसिंह सिलवाल, उपाध्यक्ष जीवनकुमारी व्लोन र विकास वाइबा रहेका छन् ।
पार्टीमा महामन्त्री र कोषाध्यक्षसमेत राखिएका छन् । जसअनुसार महामन्त्रीमा मानबहादुर तामाङ र कोषाध्यक्ष मनिषा लामा तोकिएका छन् । पार्टीको प्रवक्तामा भने ध्वजमान गोलेलाई तोकिएको छ ।
पार्टीका अध्यक्ष आरमले ‘स्वतन्त्र नेपाल पार्टी’ अन्य राजनीतिक दलभन्दा फरक नभएको बताए । उनले भने, ‘हाम्रो पार्टीको परिकल्पना सिद्धान्त धर्म निरपेक्ष, सुन्दर र शान्त नेपाल नै हौँ । र, हाम्रो पार्टीको लक्ष्य संविधानलाई मान्दै समुनतः नेपाल निर्माण हो ।’











