Logo
Logo

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको नाममा अक्षयकोष स्थापना गरिने



पोखरा । यही गएको माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकीले अक्षयकोष स्थापना गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेको पौडेलको मृत्यपछि सोमबार कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीका अनुसार अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

महासंघ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरे जुटाउने महासंघले जनाएको छ ।

माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जनासहित अध्यक्ष पौडेलेको पनि निधन भएको थियो । उनी पछिल्लो समय पोखरा हटलाइन दैनिकको प्रकाशक, सम्पादक थिए ।

प्रतिक्रिया दिनुहोस्