
काठमाडौं । निर्वाचन अघिको गठबन्धन जोगाउन नसक्दा सत्ता गुमाएको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा अन्तिम प्रयास गर्ने तयारी गरेको छ ।
प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगे पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर खेल सुरु गरेको कांग्रेसले राष्ट्रपति निर्वाचनलाई ‘क्लाइमेक्स’ मानेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।
सभामुख र उपसभामुख निर्वाचनमा आशा गरे पनि माओवादीको साथ पाउन नसकेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा भने माओवादीको भोट पाउने आशा राखेको छ । राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले कसलाई उम्मेदवार बनाउला ? भन्ने चासोको विषय बनेको छ । किनकी, राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गरेको छैन ।
तयारीकै आधारमा भन्ने हो भने कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना रहेको बुझिन्छ । पौडेल राष्ट्रपतिका लागि निरन्तर लविङमा जुटेका छन् । कांग्रेसले राष्ट्रपतिको निर्वाचन जित्ने या हार्ने अहिलेसम्म निश्चित छैन । वर्तमान सत्ता गठबन्धनमा गडबड नभएसम्म कांग्रेसले निर्वाचन जित्न सक्दैन । तर, सत्ता गठबन्धनमा खटपट ल्याएर भए पनि राष्ट्रपति हातपार्ने तयारीमा कांग्रेस जुटेको छ ।
पराजित हुने अवस्थामा कांग्रेसले विगतदेखि नै कमजोर उम्मेदवारलाई अघि सार्ने गरेको छ । हालै सम्मपन्न सभामुख र उपसभामुख निर्वाचनमा पनि कांग्रेसले कमजोर उम्मेदवार नै अघि सोको थियो । तर, राष्ट्रपति निर्वाचनमा भने पौडेल नै उम्मेदवार बन्न सक्ने कांग्रेस नेताहरु नै बताउँछन् ।
निर्वाचन अघिको गठबन्धन कायम रहनु र पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन सकेको भए रामचन्द्र राष्ट्रपति हुने निश्चित थियो । तर, गठबन्धन फेरबदल हुँदा राष्ट्रपति बन्ने रामचन्द्रको प्रयास असफल भएको थियो ।











