
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन माघ २८ भित्रै गर्न माग गरेको छ ।
सोमबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले कानुनबमोजिम निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका हुन् ।
कानुनमा व्यवस्था भए भन्दा फरक ढंगले कानुन नै संशोधन गरेर चुनाव सार्ने चर्चाकाबीच कांग्रेसले समयमै निर्वाचन गर्न माग गरेको हो ।
‘कुनै कारणबाट पछि सार्ने काम हुनुहुँदैन । ऐनमा समस्या छन् भने समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ,’ उनले भने, ‘फागुन २९ भन्दा उता लैजाने प्रयास भइरहेका छन् । यसमा कुनै पनि हालतमा स्वीकार हुँदैन । यो समयमा आलटाल गरेर निर्वाचन सार्ने कुरा स्वीकार हुँदैन ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल यही फागुन २८ मा सकिँदै छ । संवैधानिक व्यवस्थाअनुसार अब राष्ट्रपतिको निर्वाचन माघ २८ भित्र गरिसक्नुपर्ने छ ।











