काठमाडौं । नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे ।
भारतीय सहयोगमा सञ्चालित जनकपुर- जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजिकरणका लागि भारतीय सचिवलाई आग्रह गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
‘शिष्टाचार भेटवार्ता भएकाले मिहिन तरिकाले आयोजनाका समग्र पाटा र पक्षका बारेमा छलफल त भएन, तर समस्या समाधान गर्ने तथा शीघ्र आयोजना सम्पन्न गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ’, सचिव शर्माले भने ।
यस्तै, काठमाडौँ- रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्वपूर्ण छलफल भएको उनको भनाइ छ । सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ । छलफल निरन्तर अगाडि बढाउने र परियोजनामा देखिएका समस्या समाधानका लागि सबै उपायको खोजी गर्ने विषयमा त्यस अवसरमा महत्वपूर्ण विचार आदानप्रदान भएको थियो ।











