
काठमाडौं । भनिन्छ– एकतामा बल हुन्छ । त्यसैले, फुट्नुभन्दा जुट्नु राम्रो । प्रस्तुत वास्तविकता सबैले मनन गरेकै छन् । तर, व्यवहारमा कम देखिन्छ ।
फुट्ने र जुट्ने प्रकृया राजनीतिक दलमा धेरै अभ्यास हुने गरेको पाइन्छ । किनकी, दलहरू निहित स्वार्थमा जुट्छन् र फुट्छन् पनि । अझ धरै फुट्ने, जुट्ने र फेरि फुट्ने क्रम कम्युनिष्ट पार्टीहरूमा चलिरहन्छ ।
पछिल्लो पटक नेकपा एमाले विभाजन हुँदै नेकपा एकीकृत समाजवादी गठन हुँदा देखिनेगरी कम्युनिष्ट फुटेका छन् । एमाले विभाजनसँगै एकताको प्रयास पनि अघि बढेको छ ।
एमालेबाट विद्रोहका क्रममा नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट शक्तिहरूलाई एकीकृत गर्ने लक्ष्य लियो । सोहीअनुरूप केही व्यक्तिले होल्ड गरेका नामका कम्युनिष्ट पार्टीहरू एकीकृत समाजवादीमा मिसिएका छन् । तर, त्यो प्रकृयाले एकता नै भन्न मिल्ने अर्थ राख्दैन ।
एकीकृत समाजवादी गठनसँगै नेकपा माओवादीसँग एकताको विषयले स्थान पायो । नेकपाभित्र अन्तरसंघर्ष उत्कर्षमा पुग्दा एउटै समूहमा रहेका यी दुई शक्तिबीच छिट्टै एकता हुने अनुमान पनि गरियो । तर, अहिलेसम्म एकता भने भएको छैन ।
एक चरण माओवादी र एकीकृत समाजवादीबीच एकताका लागि निक्कै पहल भएको थियो । तर, त्यो अभ्यासले अपेक्षाकृत सफलता पाउन सकेको छैन । दुबै पार्टीले एकताका लागि वार्ता समिति बनाएका छन् । वार्ता समितिहरूले सामान्य भेटघाट बाहेक थप काम अघि बढाउन सकेका छैनन् ।
आइतबार माओवादी र एकीकृत समाजवादीका वार्ता समिति सदस्यहरू भेला भएका थिए । तर, एकताका लागि आवश्यक छलफल गर्न सकेनन् । उनीहरू चिया खाएर छुटे ।
एकीकृत समाजवादीका उपमहासचिव तथा वार्ता समितिका सदस्य डा. विजय पौडेलले भने– ‘दुवै पार्टीका वार्ता समितिबीच भेटघाट भएको हो । तर, एकताका सन्दर्भमा ठोस छलफल हुन सकेन । चिया खाएर छुट्यौ ।’
माओवादी र एकीकृत समाजवादीबीचको एकताको प्रयास स्थानीय निर्वाचन अघि नै प्रारम्भ भएको हो । तर, निर्वाचनका कारण छलफल नै रोकियो । त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आयो । उक्त निर्वाचनका कारण पनि पार्टी एकताले स्थान पाउन सकेन ।
तीनै तहको निर्वाचन सम्पन्न भएपछि एकताका लागि केही पहल भएका थिए । तर, सरकार गठनले अनपेक्षित रूपमा समीकरण फेरबदल हुँदा माओवादी र एकीकृत समाजवादीबीच एकताको विषय अलमलमा परेको छ ।
पूर्ववत गठबन्धन छोडेर माओवादी एमालेसँग मिलेर सरकार गठन गर्ने अवस्थामा पुगेका कारण यी दुई पार्टीबीच एकताको प्रयास अलमलमा परेको हो । वर्ष दिन अगाडि मात्र छोडेको पार्टीसँग सहकार्य गरिरहेको पार्टीसँग तत्कालै एकता गर्न एकीकृत समाजवादीलाई असहज भएको हो ।
पार्टी एकताको प्रसंगले गति लिन नसके पनि यी दुई पार्टीको सम्बन्धमा चिसोपन भने छैन । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पाकमल दाहाल ‘प्रचण्ड’लाई विस्वासको मत दिएर परिस्थितिलाई चिसो हुन दिएको छैन ।
जसपा र एकीकृत समाजवादीको एकता प्रयास
एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने सन्दर्भमा अपेक्षित प्रगति गर्न नसके पनि जनता समाजवादी पार्टी (जसपा)सँगको एकता प्रयासलाई भने केही गति दिएको छ ।
एकीकृत समाजवादीको वार्ता समितिले जसपाको वार्ता समितिसँग छलफललाई तिब्रता दिएको छ । दुई पार्टीको वार्ता समितिबीच राजनीतिक दस्तावेज आदान–प्रदान र अध्ययनको काम अघि बढेको छ ।
जसपा र एकीकृत समाजवादीबीच एकताको प्रयास भएको लामो समय भएको छैन । स्थानीय निर्वाचनमा तत्कालीन गठबन्धन दल कांग्रेस र माओवादीबाट अपहेलित महसुस गरेर यी दुई दलले एकताको प्रयास थालेका हुन् ।
जसपा र एकीकृत समाजवादीबीच कस्तो आचरणको पार्टी बनाउने भन्नेमा मतभेद छ । एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी नै बनाउनुपर्ने अडान लिएका छन् भने जसपाले गैर कम्युनिष्ट आचरणको समाजवादी पार्टी बनाउनुपर्ने अडान राखेको छ ।
समाजवाद भन्ने सन्दर्भमा यी दलबीच मतभेद छैन । कस्तो आचरणको समाजवाद भन्ने सन्दर्भमा नयाँ कोणबाट छलफल गर्नुपर्नेमा दुवै दल सहमत छन् ।
माओवादी र नेसपाबीच एकताको प्रयास
एकीकृत समाजवादीसँग एकता प्रयासमा खासै उपलब्धि प्राप्त गर्न नसकेको माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको एकता प्रयासमा भने लगभग सफलता प्राप्त गर्ने अवस्था बनेको छ ।
पूर्वमाओवादी नेता भट्टराई नेतृत्वको नेसपा संघ र प्रदेश निर्वाचन अघि नै माओवादीमा समाहित हुने तयारीमा थियो । सोही तयारी अनुरूप नेसपा माओवादीको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो ।
निर्वाचनपछि यी दुई पार्टीबीचको एकताले गति पाएको छ । केही दिन अगाडि मात्र वार्ता समितिबीच छलफल भएको छ । र, माघ महिनाभित्र एकता गर्ने सहमति भएको छ ।
माओवादी र नेसपाबीच पनि कस्तो पार्टी बनाउने भन्ने मतभेद छ । माओवादी कम्युनिष्ट पार्टी नै बनाउनुपर्ने पक्षमा रहँदा जसपा जस्तै नेसपा पनि कम्युनिष्ट नभएर समाजवादी पार्टी बनाउनुपर्ने पक्षमा रहेको छ ।
यी दुई बीच पार्टी एकता हुँदा सुरुमा कम्युनिष्ट आचरणकै पार्टी बन्ने सम्भावना छ । किनकी, माओवादीसामु नेसपा कमजोर पार्टी हो । भर्खरै गठन भएकाले यो दलको संगठनात्मक संरचना पनि छैन । तर, समाजवादको आचरणका सन्दर्भमा भने यी दलमा पनि फरक कोणबाट छलफल सुरु भएको छ ।
चार पार्टी एक हुने सम्भावना
माओवादी, जसपा, एकीकृत समाजवादी र नेसपा मिलेर एउटा दल बनाउने सन्दर्भमा निर्वाचन अगाडि देखि नै छलफल चलेको हो । तर, चार दल मिलाएर एक दल बनाउने सन्दर्भमा भने एउटा पनि औपचारिक छलफल भएको छैन ।
चारै दलले चार शक्ति मिल्न सकिने भन्दै आएका छन् । तर, चार दललाई एक बनाउने प्रयासले भने उचित बाटो भेटाउन सकेको छैन । त्यसैले चारै दल अन्य दलसँग एकताका लागि प्रयास गरिरहेका छन् ।
अहिलेसम्मको गतिविधि हेर्दा पहिलो चरणमा एक–एक दलबीच एकता हुने सम्भावना देखिन्छ । त्यसमा पनि माओवादी र नेसपा छिट्टै एक हुने सम्भावना रहेको छ । तर, एकीकृत समाजवादी र जसपाबीचको एकता निक्कै टाढा छ । र, माओवादी र एकीकृत समाजवादीको एकता पनि तत्काल नहुने देखिन्छ ।











