काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पूर्वमेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीउ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरूले अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।
स्पेसिफिकेसनमा उल्लिखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
गल्याङ नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीउ खरिद गरेको थियो । जसको बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरिएको थियो ।
स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख भुपराज अधिकारीले अस्वभाविक रुपमा दररेट थप गरेर नोक्सान पारेको अख्तियारले बताएको छ । त्यसैले १३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दामा पूर्वमेयर अधिकारीलाई मात्र विपक्षी बनाइएको छ ।
बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा मेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ ।











