काठमाडौं । ‘लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाईमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला ? जब म गाउँमा पुगेँ, ब्रुनाईको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विगत सम्झिएर भावुक भए ।

भोजपुरको टेम्के डाँडा नजिकबाट वायुसेवा निगमको जहाज निस्कियो । मन्त्री किरातीको घरपारिबाट निस्किएको उक्त जहाजको गन्तव्य पहिल्याउँदा भोजपुरको डाडाँ काटेर सङ्खुवासभाको तुम्लिङ्टार उडेको रहेछ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको छ दिनपछि आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण र गतिविधिबारे जानकारी लिँदै पर्यटनमन्त्री किरातीले निगमसँगको संयोगका केही सन्दर्भ कोट्याउँदै विगत सम्झेर निकै भावुक बनेका हुन् । निगमका कर्मचारी र सञ्चारकर्मीको भीडमा भावुक मुद्रामा किरातीले भने, ‘जहाज आउँदा खुसी हुन्थेँ, जहाजले छाडेर जाँदा म रुन्थेँ’ र त्यही जहाज सम्झेर मेरो आमालाई भन्थेँ, गाउँमा नबसौँ आमा ।’
शायद त्यो बेला, हप्ता दिनमा एक पटक निगमको विमान भोजपुरको डाँडा भएर उड्थ्यो होला । सुविधासम्पन्न सहर, गाडी र जहाजको भीडमा हुर्किएका मन्त्री किरातीलाई त्यतिबेलाको जहाजको आवत-जावतले निकै रुवाउँथ्यो । उनले भने, ‘मलाई त्यो बेला रुवाउँथ्यो निगमको विमानले र मैले भन्थेँ आमालाई जाऊँ हङ्कङ ।’
मन्त्री किरातीले आफू तेस्रो पटक सांसद हुँदै मन्त्री बनेर संयोगवश निगमको विभागीय मन्त्रीको जिम्मेवारीमा आइपुगेको बताए । उनले दोस्रो पटक सांसद भएर पर्यटन र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित संसदीय समितिमा बसेर काम गर्दा नै निगमको अवस्था बुझ्न पाएको सुनाए । ‘अब यही जहाजको कारणले अब मलाई रुन नपरोस् सबैको ध्यान वायुसेवा निगमप्रति छ । म हाँस्न चाहन्छु’, उनले भने ।
उनले भने, ‘वडाध्यक्ष पनि हुन्छु भनेर राजनीतिमा लागेको हैन, तर, मन्त्री भए । मैले मेरो जिम्मेवारी बुझेको छु, यो मेरो जीवनको अग्निपरीक्षा हो ।’
राज्यको गौरवमय संस्था डुबेको आफू टुलुटुलु हेर्न नसक्ने भन्दै ऐन, कानुन विधिसम्मत संस्था सुधारका लागि लागि पर्ने बताए । उनले कुनै पनि भेदभाव नगरी निगमको कामलाई चुस्त र प्रभावकारी बनाउन लागिपर्ने विश्वास व्यक्त गरे । अरू दुनियाँ एयरलाइन्स नाफामा जाने तर निगम सधैँ घाटामा रहरिहनुपर्ने स्वीकार्य नहुने भन्दै निगम सुधार्न सबै सक्रिय हुनुपर्नेमा जोड दिए ।
‘कालो हातले छुने कोसिस नगर्नूहोला’
मुलुकको ४०औँ पर्यटनमन्त्री बनेका किरातीले देशको शान र गौरव ध्वजावाहक वायुसेवा निगमलाई गौरव गर्न लायक बनाइने विश्वास व्यक्त गरे । ‘किन हामी वायुसेवा निगममाथि गौरव गर्छौँ, जसले ४० हजार फिटमाथि राष्ट्रिय झन्डा फहराएर विश्वमा पहिचान कायम गरेको छ । विमानस्थल हाम्रो अनुहार हो, जहाज हाम्रो गौरव हो । पहिलो नजर अनुहारमा जाने भएकाले अब यो राम्रो हुनुपर्छ’, पर्यटनमन्त्रीले भने ।
निगम मुख्यालय र बैठक कक्ष हेर्दा दयनीय अवस्था रहेको मन्त्री किरातीले उल्लेख गरे । उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, कृपया कालो हातले छुने कोसिस कसैले नगर्नूहोला । सुनेको छु, कालो हातले छोएर नचिनिने भएर मान्छे फर्किन्छन् रे यहाँ । मैले त फेरि चिनिएर फर्किनु छ ।’
एक महिनाभित्र अनलाइन टिकट
‘सर्वसाधरणले टिकट नपाउने तर, दलालले बिक्री गर्ने गरेको विकृति पाइएको’ भन्दै मन्त्री किरातीले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिए । उनले जहाज समयमै उडाउन र सेवालाई सरल र प्रभावकारी ब नाउनका साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गरे ।
पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विद्यमान अवस्थालाई सुधार गरी निगमको साख र गौरवलाई उचो बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन व्यावस्थापकीय सुधार र रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘बिजनेश प्लान’ बनाउन निर्देशन दिए । उनले जहाज किन्ने हो भने स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे । ‘हो निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुस् । जहाज थपेर मात्रै हुँदैन व्यवस्थापकीय सुधारसँगै गरिनुपर्छ, कुनै पनि वायुसेवा कम्पनी उडानमा प्राथमिकता हुनुपर्छ’, सचिव अधिकारीले भने । उनले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अरू कम्पनीलाई दिनेबारे अहिलेसम्म मन्त्रालयमा कुनै छलफल नभएको स्पष्ट पारे ।
आन्तरिक उडानमा जहाज खरिद गर्छौँ : अध्यक्ष अधिकारी
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनसाथ निगमलाई आवश्यक आन्तरिक उडानका जहाज खरिद प्रक्रिया अघि बढाइने बताए । निगमको आन्तरिक स्रोतले नै दुईरतीनवटा विमान खरिद गर्न सकिने भन्दै उनले सरकारको निर्देशन प्राप्त हुनासाथ विमान खरिद प्रक्रिया अघि बढाइने बताए ।
छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा बुझाउने बताए । राष्ट्रिय ध्वजावाहकले नाफाभन्दा पनि जनताको सेवालाई प्राथमिकता दिएर उडान सञ्चालन गरिरहेको बताए ।














