Logo

क्यालिफोर्नियामा फेरि गोली चल्यो, सात जनाको मृत्यु



काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको पछिल्लो गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । दुई दिनअघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो ।

सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन् । हाफ मुन वे एसियाली मूलका मानिसहरुको बाहुल्य भएको क्षेत्रको रुपमा चिनिन्छ ।

हत्यामा संलग्न भएको भन्दै प्रहरीले ६७ वर्षीय झाओ चुन्ली भन्ने पुरुषलाई पक्राउ गरेको छ । उनी गाडीमा प्रहरी स्टेसनतर्फ गइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले भुइँमा लडाएर नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको छ ।

बीबीसीका अनुसार उनले हत्या गरेका चार व्यक्तिको शव च्याउ फार्ममा फेला परेका थिए । अरु तीनवटा शव त्यसको नजिकै फेला परेका थिए । आठ जना घाइतेको अवस्था गम्भीर छ ।

क्यालिफोर्नियाका गभर्नर गेविन न्युजोमले गोली काण्डका यी घटनालाई ‘त्रासदीमाथि त्रासदी’ भनेर टिप्पणी गरेका छन् । पहिलो गोलीकाण्डमा घाइते भएकाहरुलाई भेटिरहेकाबेला उस्तै प्रकृतिको अर्को घटना हुनुलाई उनले दुःखद र कायरतापूर्ण भनेर टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्