Logo
Logo

२१औँ शताब्दीको सफलता चीनको विकासमा निर्भर


- केपी शर्मा ओली, प्रधानमन्त्री एवं अध्यक्ष नेकपा


– केपी शर्मा ओली, प्रधानमन्त्री एवं अध्यक्ष नेकपा

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका महामहिम राष्ट्रपति कमरेड सी जिनपिङले गर्नुभएको ‘वर्ष २०२० सम्ममा चीनको ग्रामिण भूभागका बासिन्दालाई हालको गरिबीको रेखाभन्दा माथि उठाउने’ प्रतिबद्धता पूरा होस् र चीनले देखेको समाजवादी सपना शीघ्र पूरा होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रा दुई पार्टीहरूबीच आज विचारधारात्मक (आइडोलोजिकल) प्रश्न र विचारधारा (थट)काबारेमा जुन उचाइबाट छलफल प्रारम्भ भएको छ, यसले मलाई अत्यन्त खुसी र उत्साहित बनाएको छ । दुई पार्टीबीच बढ्दो घनिष्ठतासँगै हामीले देखेको समृद्धिका सपना, हामीले बोकेको विचार र त्यसको सिर्जनात्मक प्रयोगका सकारात्मक परिणाम र सामना गर्नु परेको चुनौतिबारे अनुभव आदान–प्रदान हुनु एकदमै स्वभाविक र सान्दर्भिक रहेको म ठान्दछु । छिमेकीको हिसाबले, चीन र नेपाल परापूर्वकालदेखिकै घनिष्ठ मित्र हुन् । हामी अग्ला हिमाल र हिमाली नदीहरूबाट जोडिएका छौँ । प्रकृतिले हाम्रा सिमानामा खडा रहेको हिमाल र बगिरहेको हिमनदीले हाम्रो सम्बन्ध पनि हिमाल जत्तिकै उच्च र कञ्चन छ, बेगवान गतिमा बगिरहने हिमालीनदीजस्तै स्वच्छ र अविच्छिन्न छ भन्ने बताइरहेको छ ।

हाम्रो मित्रता खुल्ला छ, स्वतन्त्र छ र अटल छ । हामी एक अर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौँ । एकअर्काको हितहरू र सम्वेदनशीलताको ख्याल गर्दछौँ ।

मुलुकहरू बलियो हुँदा कहिले कहीँ अनपेक्षित रूपमा दम्भ बढ्छ र तिनीहरूबाट असहज गतिविधि हुने गर्छ । तर, चीन शक्तिशाली देश भैकन पनि यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य हो ।

क्रान्तिको नेतृत्व गरेर मात्र होइन, समृद्धि हासिल गर्ने जनताको चिरकालदेखिको सपना पूर्ण गरेर चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो गौरवमय इतिहास रचेको छ ।

चिनियाँ नेतृत्वको सिर्जनशीलताले ‘माओ विचारधारा’ जन्मायो, जुन चिनियाँ क्रान्तिको लागि मार्गदर्शक सिद्धान्त मात्रै बनेन, संघर्षरत विभिन्न मुलुकहरूका आन्दोलनका लागि पनि प्रेरणा बन्न पुग्यो ।

एक्काइसौँ शताब्दीको विकास र सफलताको मार्ग वास्तवमा चीनको विकास र सफलताको मार्गले निर्धारण गर्नेछ भन्नेमा अब धेरैमा भ्रम रहेन । त्यसैले चिनियाँ मोडेलको विकास दिगो र सफल हुने कुरामा विश्वास गर्न सकिन्छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि जनताको जनवाद नेकपाको सिद्धान्त हो । ‘जनता’ शब्द हाम्रो जनवादको वर्गीय सार हो ।

हाम्रो मित्रता खुल्ला छ, स्वतन्त्र छ र अटल छ । हामी एक अर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौँ । एकअर्काको हितहरू र सम्वेदनशीलताको ख्याल गर्दछौँ । राष्ट्रिय स्वाभिमानको कदर गर्दछौँ । तर, हाम्रो मित्रता स्वार्थहरूको लेनदेनभन्दा धेरैमाथि सम्मान, साथ र सहयोगमा उठेको छ । हाम्रा दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगी भावनाको आधारमा अघि बढाइरहेका छौँ । समयक्रममा अघि बढ्दा आइपर्ने विषयहरूलाई मैत्रीपूर्ण आपसी सम्वादको माध्यमबाट समाधान गर्दै अघि बढ्छौँ ।

एक चीन नीतिमा नेपाल दृढ

हामी एक चीन नीतिमा सँधैँ स्पष्ट र दृढ छौँ । छिमेकी मित्रराष्ट्र चीनविरुद्ध हामी, हाम्रो भूमिको प्रयोग हुन दिँदैनौँ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप, कुनै पनि बहानामा किन नहोस्, हुनुहुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । हामी चीनको आन्तरिक मामिलामा पनि कुनै पनि बहानामा बाह्य चलखेल हुनुहुँदैन भन्नेमा स्पष्ट छौंँ । कुनै पनि देशको शान्ति सुव्यवस्था र अमनचैन खलबल्याउन, स्थायित्वमा समस्या ल्याउन, सामाजिक एकतालाई बिथोल्न वा विकास प्रयासका गतिमा व्यवधान खडा गर्न बाहिरबाट प्रत्यक्ष वा परोक्ष रूपमा कसैले पनि, कुनैपनि अवस्था र बहानामा हात हाल्नु उचित हुनै सक्तैन । मुलुकहरू बलियो हुँदा कहिले कहीँ अनपेक्षित रूपमा दम्भ बढ्छ र तिनीहरूबाट असहज गतिविधि हुने गर्छ । तर, चीन शक्तिशाली देश भैकन पनि यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य हो । यस व्यवहारबाट चीनले अङ्गालेको राजनीतिक प्रणालीसँग अरु राजनीतिक प्रणालीको भिन्नता र श्रेष्ठतालाई स्पष्ट पारेको छ ।

विकास र सुशासनको दृढसंकल्प

चीन न्यायोचित विश्व व्यवस्था, शान्ति, समानता, सह–अस्तित्व एवं भविष्यतर्फ उन्मुख सहयोगात्मक अग्रसरतामा विश्वास गर्छ भन्ने कुरा यस व्यवहारबाट पनि स्पष्ट हुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं राष्ट्रिय कँग्रेसमा पार्टीका महासचिव कमरेड सी जिनपिङद्वारा अघि सारिएको ‘टुवार्ड अ फ्युचर अफ सेयर्ड प्रस्पेरिटी’ अवधारणा र चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ले यस कुरालाई अझ स्पष्ट पारेको छ । क्रान्तिको नेतृत्व गरेर मात्र होइन, समृद्धि हासिल गर्ने जनताको चिरकालदेखिको सपना पूर्ण गरेर चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो गौरवमय इतिहास रचेको छ । विकास र सुशासनको मामिला चिनियाँ प्रगति र दृढसंकल्प वास्तवमै प्रेरणादायी छ । कम्युनिस्ट पार्टीहरूले क्रान्तिको नेतृत्व त गर्न सक्छन् तर विकासको गर्न सक्दैनन ्भन्ने बुर्जुवा शक्तिको प्रचारलाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले झूटो साबित गरिदिएको छ । तर, यस अवस्थासम्म आइपुग्न स्थापनाको समयदेखि हालसम्म चिनियाँ कम्युनिस्ट पार्टीले झण्डै एक शताव्दी लामो, उतार÷चढावपूर्ण यात्रा तय गरेको छ । यदि, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हुँदैन थियो भने क्रान्तिपूर्वको २८ वर्ष लामो कठिन क्रान्तिकाल र जनवादी गणतन्त्र चीनको स्थापना पछिको ७ दशकभित्रै चिनियाँ समाजको रूपान्तरणमा आजको अभूतपूर्व उपलब्धि सम्भव हुने थिएन ।

‘माओ विचारधारा’ संघर्षरत मुलुकका लागि प्रेरणा

चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिको नेतृत्व गरिरहेको समयमा चिनियाँ विशेषतासँग मिल्दो अनुशरण गर्न मिल्ने देश वा आन्दोलनहरूसमेत थिएनन् । जे जस्तो नीति अबलम्बन गर्नुपर्ने थियो, ती सबै आफ्नो अनुभव र क्षमताकै आधारमा गर्नुपर्ने थियो । त्यही बाध्यता र चिनियाँ नेतृत्वको सिर्जनशीलताले ‘माओ विचारधारा’ जन्मायो, जुन चिनियाँ क्रान्तिको लागि मार्गदर्शक सिद्धान्त मात्रै बनेन, संघर्षरत विभिन्न मुलुकहरूका आन्दोलनका लागि पनि प्रेरणा बन्न पुग्यो । माक्र्सवादको रक्षा र प्रवद्र्धनमा सिर्जनात्मक प्रयोगको मामिलामा पनि चिनियाँ अनुभव अब्बल रहँदै आयो । म स्मरण गर्छु, – पार्टी इतिहासमा मुख्य मोडहरूको चर्चा गर्दा चिनियाँ मित्रहरू अक्सर तीन प्रमुख विचारधारात्मक मोडहरूबारे चर्चा गर्ने गर्नुहुन्छ । सातौँ राष्ट्रिय महाधिवशेनद्वारा माओ–त्से–तुङ विचारधाराको स्वीकृति, जसले चीनमा माक्र्सवादको सिर्जनात्मक र नवीन प्रयोग गर्न मार्ग प्रशस्त ग¥यो । कमरेड माओको निधनपछि सिर्जना भएको अन्यौललाई चिर्दै कमरेड तङ स्याओ पिङद्वारा प्रतिपादित खुलापन र आधुनिकीकरणको नीति, जसले चीनमा विकासको नयाँ युगको प्रादुर्भाव ग¥यो । र, चिनियाँ विशेषतासहितको समाजवाद तथा नयाँ युगका लागि सी जिनपिङ विचारधारा अगाडि बढ्यो ।

‘सी जिनपिङ’ सही र गतिशील नेतृत्व

निःसन्देह अहिलेको समयमा सबै प्रगति र उपलब्धिहरूको श्रेय चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं महामहिम चिनियाँ राष्ट्रपति सीलाई जान्छ । उहाँको सही र गतिशील नेतृत्व एवं चीनको आन्तरिक तथा विश्व व्यवस्थासम्बन्धी उहाँका सुल्झिएका, समयानुकुल र गतिशील सोचहरूको शृंखलाले एउटा विचार प्रणाली (स्कूल अफ थट)को आकार ग्रहण गरेका छन् । जसलाई चिनियाँ कम्युनिस्ट पार्टीले ‘सी जिनपिङ विचारधारा ’को नाम र दर्जा दिएको छ । आर्थिक–सामाजिक विकासका अनेक क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेर मित्रराष्ट्र चीनले विभिन्न मानक कायम गरी विश्वलाई नै चकित तुल्याइदिएको छ । एक्काइसौँ शताब्दीको विकास र सफलताको मार्ग वास्तवमा चीनको विकास र सफलताको मार्गले निर्धारण गर्नेछ भन्नेमा अब धेरैमा भ्रम रहेन । त्यसैले चिनियाँ मोडेलको विकास दिगो र सफल हुने कुरामा विश्वास गर्न सकिन्छ । यस मोडेलमा संकटहरू कम प्रकट हुने र देखापरेका चुनौतिहरू सामना गर्न सकिने कुरामा पनि विश्वास गर्न सकिन्छ । किनभने, यो विकास, आफ्नै मौलिक जगबाट उठेको, आफ्नै बुद्धि, पसिना एवं प्रयासमा हुर्किएको र व्यापकतालाई अङ्गालेको हुन्छ । यो मोडेल र यस मोडेलले अङ्गालेको अबको जमानाको विकास मोडेल, औपनिवेशिक जमानाको जस्तो उपनिवेशका श्रोतमाथि कब्जा जमाएर तिनका पसीनामा सवार भएर हासिल गरिएको कृत्रिम विकास र वैभव हैन ।

चीन अहिले विश्वको दोश्रो ठूलो अर्थव्यवस्था हो । औद्योगिक वस्तु उत्पादन गर्ने सबैभन्दा ठूलो देश हो । त्यति मात्र होइन, वैदेशिक मुद्रा सञ्चय गर्ने विश्वको सबैभन्दा ठूलो देश, व्यापारिक मालवस्तु निर्यात गर्ने विश्वको सबैभन्दा ठूलो देश हो । यसैगरी, वैदेशिक प्रत्यक्ष लगानी गर्ने विश्वको दोश्रो ठूलो देश, विकासका लागि वित्त व्यवस्था गर्ने विश्वकै अगुवा मुलुक, र, विश्वको आर्थिक वृद्धि र सम्मृद्धिमा महत्वपूर्ण योगदान गर्ने मुख्य देश हो । नेपाल चीनसँग विकास साझेदारी गर्न चाहन्छ । आपसी अन्तरनिर्भरतामा आधारित सम्बन्ध स्थापित गरी दुवै देशबीच लाभकारी सहकार्य स्थापना गर्न सकिन्छ भन्ने हाम्रो साझा निष्कर्ष हो । चीनको घनिष्ठ र नजिकको छिमेकी भएका नाताले आर्थिक–सामाजिक तथा प्रविधि विकासका क्षेत्रमा चीनले गरेको चौतर्फि र तीब्र प्रगतिबाट नेपाली जनता अत्यन्तै खुसी छन् ।

नेपालमा माक्र्सवादको मौलिक प्रयोग

नेपालले हालसालैका वर्षमा महत्वपूर्ण राजनीतिक परिवर्तन तथा उपलब्धि हासिल गरेको छ । द्वन्द्व र अस्थिरतामा रुमल्लिएर लामोअवधि व्यतित गरेपश्चात् नेपाल प्रगतिशील र लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको छ । सात दशक लामो अनवरत संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गरी नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम नागरिकका रूपमा स्थापित गर्न सफल भएको दिन–संविधान जारी भएको दिनलाई हामीले संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउन थालेका हौँ ।

चीनको तुलनामा हाम्रा आफ्ना केही भिन्न विशेषताहरू छन् । हामीले माक्र्सवादलाई हाम्रा आफ्नै अनुपम र विशिष्ट आवश्यकता र चुनौतीलाई सामना गर्ने गरी स्थानीयकरण गरेका छौँ, तदनु रूपको साँचोमा ढालेका छौँ । संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, मानवअधिकार, शक्ति पृथकीकरण, शक्ति सन्तुलन र स्वतन्त्र न्यायपालिकाजस्ता कुराहरू समाविष्ट भएको प्रतिस्पर्धात्मक बहुदलीय शासनप्रणाली हामीले अपनाएका छौँ । जनतासँग आफूलाई निरन्तर रूपमा जोडिराख्ने तन्तुहरू गुमाएको कुनै पनि राजनीतिक दलले सामाजिक उन्नति थेग्न वा त्यसका लागि योगदान गर्न सक्दैन । आमजनताको अटुट साथ र समर्थनले मात्र राजनीतिक दलहरूलाई सामाजिक रूपान्तरण गर्न र सुशासन प्रदान गर्न सक्षम बनाउँछ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि जनताको जनवाद नेकपाको सिद्धान्त हो । ‘जनता’ शब्द हाम्रो जनवादको वर्गीय सार हो । प्रतिस्पर्धामा आधारित बहुदलीयता हाम्रो शासन प्रणालीको रूप हो । नेपाली समाजको विविधतायुक्त सामाजिक सांस्कृतिक जगमा आधारित विशिष्टतालाई समुचित सम्बोधन गर्न हामीले यस प्रकारको सिर्जनात्मक प्रयोग गरेका हौँ । हामी विविधता र बहुलताको सम्मान गर्दछौँ र माक्र्सवादले जोड दिने मूल आधारहरूप्रति समेत उत्तिकै कृतसंकल्पित छौँ ।

माक्र्सवादको सिर्जनात्मक प्रयोगमा दृढ

कम्युनिस्ट पार्टीको भूमिका प्रकाश देखाउने मसालवाहकको झैँ अनुपम र विशिष्ट हुने गर्दछ । यसले कैयौँ मुलुकहरूमा क्रान्तिको नेतृत्व गरी सामाजिक–आर्थिक रूपान्तरणको अगुवाइ गरेको छ । त्यसो हुँदा, समृद्धि र सुशासनका लागि कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहन्छ । हामीलाई लाग्दछ– त्यस्तो भूमिका प्रतिस्पर्धात्मक प्रणालीमार्फत् गर्न सकिन्छ । तर, कम्युनिस्ट पार्टी अनुशासित र एकताबद्ध हुनै पर्छ । कुनै पनि बहाना या नाममा अराजकता, गुटवाजी र विखण्डन सही र स्वीकार्य हुनै सक्दैन । पार्टीले अङ्गिकार गरेको विचार जति राम्रा भए पनि त्यस्ता प्रवृत्तिहरूले ती राम्रा विचारलाई समाप्त बनाउँछ ।

राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । जतिसुकै सुन्दर भए पनि नक्कल, नक्कलै हो । माक्र्सवाद सफल त्यतिखेर मात्रै हुन्छ, जब त्यसलाई हरेक देशले आफ्नै मौलिक परिस्थिति अनुरूप प्रयोग गरेको हुन्छ । चीनले आप्mनै ढाँचाको समाजवादी मोडेल प्रस्तुत गरेको छ । हामीले परिवर्तन र विकासको आप्mनै परिवेश र अन्तर्राष्ट्रिय परिस्थिति अनुरूपको नितान्त आप्mनै मोडेल अपनाएका छौँ । यसरी हाम्रा दुई पार्टीहरू ‘जुत्ताको नापमा खुट्टा काट्ने’ हैन परिस्थितिको ठोस विश्लेषण गर्दै आ–आप्mना मुलुकको धरातलीय यथार्थताको आधारमा सिर्जनात्मक तरिकाले माक्र्सवादको प्रयोग र विकासमा समर्पित छन् ।

(६ र ७ असोजमा काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कूल विभागको आयोजना र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको विशेष आतिथ्यतामा आयोजित ‘सी जिनपिङ’ विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्