Logo
Logo

प्रहरीमा सरुवा–बढुवाको चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज । सरकारले नेपाल प्रहरीमा दरबन्दी थप गरेसँगै बढुवाको दौडधुप सुरु भएको छ । गत साता सरकारले तीन हजार पाँच सय ९६ दरबन्दी थप गरेको हो । नयाँ दरबन्दीमा बढुवाका लागि दौडधुप सुरु भएको हो ।

सरकारले तीन एसएसपी, चार एसपी, २१ डिएसपी, ४७ इन्सपेक्टरको दरबन्दी थप गरेको हो । तीन एसएसपीमध्ये एक प्राविधिक हुन् । प्रहरी संगीत विद्यालयमा एसएसपीको दरबन्दी सिर्जना गरिएको छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा अर्काे प्रहरी प्रधान कार्यालयका लागि एसएसपी दरबन्दी थप भएको हो । एसपीमा चार दरबन्दीमध्ये दुई सिभिल इन्जिनीयरिङतर्फको छ । बाँकी दुईमध्ये एक पर्यटक प्रहरी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हो ।

८६ जना प्रहरी नायब निरीक्षक (सई), दुई सय ९७ सहायक प्रहरी निरीक्षक (असई), ६ सय ८३ हवल्दार, दुई हजार दुई सय १६ जवान र दुई सय ४२ कार्यालय सहयोगीको दरबन्दी थप गरिएको छ । एसएसपीमा यसअघि नै दुई पद रिक्त छन् । जसकारण चार पदमा यसपटक प्रतिस्पर्धा हुने देखिन्छ । रिक्त पदमा बढुवाका लागि दुई दर्जन एसपीहरु दौडधुपमा लागिसकेका छन् । यसअघि बढुवामा छुटेका विष्णुबहादुर केसी, दुर्गा सिंह, भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, राजेशनाथ बाँस्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाललगायत त्यसको प्रतिस्पर्धामा छन् । त्यस्तै अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणालगायत पनि प्रतिस्पर्धामा छन् । अब एसपीका आठ पद रिक्त हुनेछन् । एसपी बढुवामा पनि विगतमा सिनियर भएर छुटेको टोली छ ।

दशैं–तिहारअघि बढुवा हुने सम्भावना भने कम रहेको स्रोत बताउँछ । असोजसम्म कासमु भर्ने समय नै हुने भएकाले कात्तिकमा मात्र बढुवा प्रक्रिया अघि बढ्ने छ ।

उता प्रहरीमा डिआईजी सरुवाको दौडधुपसमेत सुरु भएको छ । महानगरीय प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डिआईजीहरुको एक वर्षको कार्यकाल पुगिसकेको छ । दुवै कार्यालयको प्रमुख हुन डिआईजीबीच प्रतिस्पर्धा हुने गरेको छ । जसमा हाल सुदुरपश्चिम प्रदेशमा कार्यरत तारिणी लम्सालदेखि प्रवक्ता रहेका विश्वराज पोखरेल समेत लबिङमा लागिसकेका छन् । हालका धेरै डिआईजीहरु माघमा आईजिपी सर्वेन्द्र खनालसँगै अवकाश पाउनेछन् । त्यसकारण उनीहरुले इन्चार्ज पाउने सम्भावना छैन । बरु प्रदेशबाट कार्यकाल नपुगी फर्किएका हरि पालले नेतृत्व पाउने सम्भावना छ । एयरपोर्टमा कार्यरत डिआईजी सूर्य उपाध्याय पनि मेट्रो इन्चार्ज हुने दौडमा छन् ।

प्रहरीमा ‘दशैं असुली’

विगतमा दशैं आयो कि प्रहरीमा बोका–खसीको कारोबार धेरै हुने गरेको थियो । मातहतका कार्यालयले माथिल्ला कार्यालयमा बोका खसी बुझाउने चलन थियो । प्रहरी महानिरीक्षकको निवासमा त खोर नै हुन्थ्यो ।

केही वर्षयस्ता यस्ता बिकृती प्रहरीमा हराउँदै गएको छ । तर, दशैं लक्षित असुली भने रोकिएको छैन । प्रहरीमा अनुगमन र निरीक्षण कमजोर हुँदा यतीबेला दशैं लक्षित असुली देशैभरी सुरु भएको छ ।

गण्डकी प्रदेशका ट्राफिक इन्चार्ज एसपी बिनोद घिमिरेले दशैंको मुखमा पैसा उठाउनकै लागि सबैजसो ट्राफिक बिटका इन्चार्जहरु हेरफेर गरेका छन् । स्रोतका अनुसार पैसा उठाउने सर्तमै उनले यसरी ट्राफिक प्रहरीहरु हेरफेर गरेका हुन् । सोही अनुसार गण्डकी प्रदेशमा ट्राफिकको असुली बढेको छ । यससम्बन्धमा ट्राफिक प्रहरीबाटै उजुरी परेपछि प्रहरी मुख्यालयले छानबिन थालेको छ ।

दशैंको मुखमा ट्राफिक नियम पालनामा कडाई गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । तर, ट्राफिक प्रहरीले भने नियम मिच्नेलाई छाडेर असुलीलाई तिव्रता दिएपछि दुर्घटनाको जोखिम बढेको छ ।

गण्डकी प्रदेशमा मात्र होइन अन्यत्र पनि त्यस्तै अवस्था छ । प्रदेश नम्बर दुईमा डिआईजीले नै सबै जिल्लामा घुुमुवा खटाएका छन् । डिआईजी प्रद्युम्न कार्कीको मासिक कमाई करिब २५ लाख रुपैयाँ रहेको स्रोत बताउँछ । ‘उहाँ त इमान्दार भनेको सुनेका थियौं,’वीरगञ्जका एक व्यवसायी भन्छन्,‘तर यहाँ आएपछि वास्तविकता थाहा भयो ।’ आफू भावी आईजिपीको दाबेदार भएकाले खर्च चाहिने भन्दै उनले पैसा उठाएका हुन् ।

प्रदेश नम्बर पाँचका डिआईजी सुरेश बिक्रम शाहको अवस्था पनि उस्तै छ । दशैंको मुखमा उनले पनि घुुमवा प्रहरीको संख्या थपेर जिल्ला जिल्लामा परिचालन गरेका छन् ।

उपत्यका बाहिर मात्र होइन उपत्यकामै पनि प्रहरीको दशैं असुलीबाट व्यवसायीहरु हैरान भइसकेका छन् । न्यूरोका एक व्यवसायी भन्छन्,‘विभिन्न कार्यालयबाट भन्दै घुुमवा प्रहरीहरु आइरहेका छन् ।’ उपत्यकामा चोरी लगायत अपराध बढीरहेको छ । तर, हरेक वृत्तका घुुमुवा प्रहरी भने दशैं खर्च भन्दै पैसा उठाउन व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्