Logo

संसारभरका समाजवादीको एउटै लक्ष्य


Published On : 1 October, 2019

– ईश्वर पोखरेल

करिब पाँच हजार वर्ष पुरानो सभ्यता रहेको चीनलाई, अहिलेको एक्काइसौ शताव्दीको विश्व समुदायले संसारको पहिलो जनसंख्या, दोस्रो अर्थतन्त्र, सन् १९७८ मा आन्तरिकरूपमा सुधार र वाह्यरूपमा खुल्लापनको नीति अवलम्वन गरिएपछि तीस वर्षसम्म निरन्तर दोहोरो अंकको आर्थिक वृद्धिसहित तीव्र र चामत्कारिक विकास गर्दै आएको देश, संसारको सबैभन्दा ठूलो क्षमताका उद्योगहरूको देश, विश्वको दोस्रो निर्यातकर्ता देश, अन्र्तराष्ट्रिय व्यापार क्षेत्रमा धेरै देशहरूसँग व्यापार गर्ने देश र विश्वकै सबैभन्दा धेरै वैदेशिक मुद्रा संञ्चित रहेको देशका रूपमा हामी चीनलाई बुझ्दछौं । चीनले विश्व समुदायबीच आर्थिक र राजनीतिक क्षेत्रमा जुन छवि निर्माण गरेको छ र आफ्ना नागरिकहरूलाई जुन सेवा र सुविधा प्रदान गरिरहेको छ, त्यसका पछाडि चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण योगदान र नेतृत्वदायी भूमिका रहेको छ ।

सी विचारले विधिको शासन, समाजवादी मूल्यसहितको सभ्य र सु–संस्कृत चीन, एक अर्ब ४० करोड चिनियाँ जनताको गुणस्तरीय शिक्षा, स्वास्थ्यकोे सुनिश्चितता र जनजीविकाको ग्यारेन्टीलाई पहिलो प्राथमिकतामा राखेको छ । भ्रष्टाचारविरुद्धको अभियानमा कठोर नीतिलाई आत्मसात गरेको यो विचारले एक देश–दुई राजनीतिक–आर्थिक प्रणाली, विश्व शान्ति, छिमेकी देशहरूलाई पहिलो प्राथमिकतामा राख्ने र विकासन्मुख देशहरूसँग विकासमा सहकार्य गर्ने महत्वपूर्ण नीतिलाई अगाडि सारेको छ ।

ऐतिहासिक सिंहावलोकन

माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक र वैचारिक धरातलमा सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएपछि यो पार्टीको नेतृत्वमा घरेलु सामन्तवाद र वाह्य साम्राज्यवाद तथा उपनिवेशवादका विरुद्ध संघर्ष गर्दै सन् १९४९ अक्टोवर १ मा जनवादी गणतन्त्र चीन स्थापित भयो । माओत्सेतुङ्गको नेतृत्वमा पार्टीले आम चिनियाँ जनतामा देशभक्तिको भावना एवम् देशलाई समृद्ध राष्ट्रका रूपमा स्थापित गर्ने संस्कार र संकल्प प्रदान ग¥यो । जनवादी गणतन्त्र चीनले पहिलो कालखण्ड – सन् १९४९ देखि १९७६ सम्म– समाजवादी रूपान्तरण अभियान अगाडि बढायो । दोस्रो कालखण्ड सन् १९७८ देखि १९८९ सम्म देङ् स्याओ पिङ्को नेतृत्वमा आन्तरिक रूपमा सुधार र बाह्य रूपमा खुल्लापन सहितको शासन व्यवस्था अवलम्वन गरियो । त्यही अवधिमा चिनियाँ विशेषता सहितको समाजवाद विकासको काम गरियो । त्यस क्रममा ‘एक देश ः दुई शासन प्रणाली’को नीति र बजार केन्द्रित समाजवादी अर्थतन्त्र अवलम्वन गरियो । फलस्वरूप चीन लगानी र व्यापारका माध्यमबाट विश्व समुदायसँग जोडियो । सन् १९६६ देखि १९७६ सम्म चलेको साँस्कृतिक क्रान्तिका कारण कमजोर बन्न पुगेको चीनले घरेलु श्रम, स्रोत, साधन र बाहय लगानीको माध्यमबाट आर्थिक रूपमा तंग्रिने अवसर प्राप्त ग¥यो । कृषियोग्य जमीनहरू स्थानीय सरकारमार्फत किसानहरूलाई निश्चित मापदण्ड र सम्झौताका आधारमा उपयोग गर्नसक्ने नीति अख्तियार ग¥यो । निजी क्षेत्रले पनि औद्योगिक र वित्तीय गतिविधि गर्नसक्ने नीति लागू ग¥यो । त्यसैले यो समय चीनको आर्थिक विकासको दृष्टिले उल्लेखनीय समयका रूपमा उल्लेख गर्न सकिन्छ । यही नीति र विचारलाई आत्मसात गर्दै सन् १९८९ देखि २००२ सम्म तेस्रो पुस्ताको रूपमा जियाङ जमीन र झु रोङझीको नेतृत्वमा र २००२ देखि २०१२ सम्म हु जिन्ताओ र बेन जियाओ वाउको नेतृत्वमा चीन राजनीतिक र आर्थिकरूपमा नयाँ नयाँ फड्को मार्दै अघि बढ्न सफल भयो ।

‘सि’को नेतृत्वमा नयाँ विचारधारा विकास

सन् २०१३ देखि हालसम्म विशाल चीनको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले गरिरहनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौँ पुस्ताका रूपमा राष्ट्रपति सीकोे नेतृत्वमा चीनको विकासका क्षेत्रमा नयाँ आयामहरू मात्र देखिएका छैनन, चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक क्षेत्रमा पनि नयाँ विचारधारा विकसित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१७ अक्टोवर १८ देखि २४ सम्म बेइजिङमा सम्पन्न १९ औँ अधिवेशनदेखि चीनमा सी जिनपिङ विचारधाराका रूपमा नयाँ युगका निम्ति चिनियाँ विशेषतासहितको समाजवाद (सोसलिज्म विथ चाइनिज क्यारेक्टरिस्टिक फर अ न्यु इरा) विचारधारा विकास भएको छ । सी जिनपीङको यस विचारधाराले दुई वर्षमै विश्वको प्राज्ञिक जगत, कम्युनिष्ट पार्टी र यसका नेता, कार्यकर्ताबीच गहन बहस र छलफल सिर्जना गरेको छ ।

आधुनिक समाजवादी बाटोमा चीन

माक्र्सवादको वैचारिक धरातलमा, नयाँ शताव्दीमा नयाँ विचारका रूपमा आएको सी जिनपिङ् विचारले सन् २०३५ सम्म चीनलाई विकसित देश र जनवादी गणतन्त्र स्थापनाको एक शताव्दी (सन् २०५०) सम्ममा चीनलाई विश्वव्यापी प्रभावसहितको गरिवीमुक्त र सामरिक क्षमतामा विश्वमै प्रभाव राख्नसक्ने देशका रूपमा स्थापित गर्ने संकल्प गरेको छ । सी जिनपिङको यो विचारले आर्थिक राजनीतिकलगायतका क्षेत्रमा व्यापक सुधार र बाह्यरूपमा खुल्लापनको नीतिमा जोड दिँदै निरन्तर अगाडि बढ्ने उद्घोष गरेको छ । सी विचारले विधिको शासन, समाजवादी मूल्यसहितको सभ्य र सु–संस्कृत चीन, एक अर्ब ४० करोड चिनियाँ जनताको गुणस्तरीय शिक्षा, स्वास्थ्यकोे सुनिश्चितता र जनजीविकाको ग्यारेन्टीलाई पहिलो प्राथमिकतामा राखेको छ । भ्रष्टाचारविरुद्धको अभियानमा कठोर नीतिलाई आत्मसात गरेको यो विचारले एक देश–दुई राजनीतिक–आर्थिक प्रणाली, विश्व शान्ति, छिमेकी देशहरूलाई पहिलो प्राथमिकतामा राख्ने र विकासन्मुख देशहरूसँग विकासमा सहकार्य गर्ने महत्वपूर्ण नीतिलाई अगाडि सारेको छ । यो विचारले राजनीतिक क्षेत्रमा भन्दा दीर्घकालीन आर्थिक विकास र सुशासनका पक्षहरू र विश्व समुदायसँगको आर्थिक साझेदारीको नीतिलाई बढी जोड दिएको छ भन्ने हामी नेपाली कम्युनिष्टहरूको बुझाइ रहेको छ । चीनको संशोधित संविधानको प्रस्तावनामै समेटिएको यस नयाँ विचारले समाजवादी बजार अर्थतन्त्र, समाजवादी प्रजातन्त्र, विधिको शासनजस्ता पक्षहरूलाई समेट्नुका साथै उद्योग, कृषि, राष्ट्रिय सुरक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा व्यापक सुधारमार्फत सद्भावपूर्ण, सुन्दर, समृद्ध र आधुनिक समाजवादी देशका रूपमा चीनलाई अगाडि बढाउने सोच राखेको छ ।

बीआरआईले ‘सि’को दूरदर्शिता देखाउँछ

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सार्नुभएको ‘वेल्ट एण्ड रोड इनिसियटिभ्स्’ अहिले विश्वकै ठूलो परियोजनाका रूपमा चर्चित छ । विश्वका ६५ भन्दा वढी देशहरूले सहभागिता जनाइसकेको यो अभियानमा नेपाल २०१७ मे १२ मा विधिवतरूपमा सहभागी भयो । संयुक्त राष्टसंघको वडापत्र, पञ्चशीलको सिद्धान्त, समावेशीता र सद्भावपूर्ण समाज, साझा चासो र हितका सिद्धान्तबाट निर्देशित यो अभियानले सहकार्य, समन्वय, हस्तक्षेपरहित वस्तु तथा व्यापारको प्रवाह, कनेक्टिभिटी, वित्तीय स्थायित्व र साझेदारी, जनता–जनताबीचको सम्बन्ध र पूर्वाधारहरूको निर्माणलाई प्राथमिकता दिदै आएको छ । सन् २०१९ अप्रिलमा बेइजिङ्मा भएको दोस्रो वीआरआई फोरमबाट यो अभियानले आर्थिक र वातावरणीय पक्षलाई समेट्दै हिमालयन सीमापार बहुआयामिक कनेक्टिभिटीको अवधारणा पनि अगाडि बढाएको छ । यो इनिसियटिभ्सलाई चीनको मात्र नभएर विश्व समुदाय र मानवजातीको हितमा आएको एक नयाँ अवधारणाका रूपमा हामीले बुझेका छौं । यसले राष्ट्रपति सीको बौद्धिकता, सैद्धान्तिक–वैचारिक व्यक्तित्व र दूरदर्शितालाई प्रतिविम्वित गर्दछ ।

नेपाल ऐतिहासिक फड्कोतर्फ उन्मुख

‘कम्युनिष्ट घोषणा पत्र’ जारी भएको १०१ वर्षपछि, सोभियत रुसमा क्रान्ति सफल भएको ३० वर्षपछि र चीनमा जनवादी गणतन्त्र स्थापना भएकै वर्ष अर्थात् सन् १९४९, २२ अप्रिल (२००६ वैशाख १० गते) मा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । चीनमा अहिले जनवादी गणतन्त्र स्थापनाको ७०औँ वर्ष पुगेको छ भने नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुगेको छ । यसअवधिमा नेपालको कम्युनिष्ट आन्दोलन कहिले फुट्दै र कहिले जुट्दै अगाडि बढिरहेको छ । अहिले नेपालमा कम्युनिष्ट पार्टीहरू विभाजनभन्दा एकीकरणको दिशामा अगाडि बढिरहेका छन् । सन् २०१८ मे १७ मा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी बन्नु यसको पछिल्लो ऐतिहासिक उदाहरण हो । यसरी फरक–फरक राजनीतिक पृष्ठभूमी भएका र फरक गतिविधि गर्दै अघि बढेका दुई पार्टीहरू बीचको एकीकरणले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण आयाम थपेको छ । यो नेपाली कम्युनिष्ट आन्दोेलनको महत्वपूर्ण उपलब्धि मात्र नभएर हाम्रो यो एकीकरण विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि सकारात्मक उदाहरण बन्न सक्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको मौलिकता

नेपालको कम्युनिष्ट आन्दोलन आफ्नै विशिष्टता र मौलिकतामा आधारित हुँदै अगाडि बढिरहेको छ । आज नेपालका दुईवटा ठूला कम्युनिष्ट पार्टीहरू एकीकृत भई नयाँ पार्टीको घोषणा तिनै मौलिकता र विशिष्टतामा आधारित हुँदै अगाडि बढ्ने कुराको संयुक्त अठोट वा संकल्प पनि हो । पूर्वनेकपा (एमाले) ले जननेता मदन भण्डारीको अगुवाइमा माक्र्सवाद–लेनिनवादलाई नेपालको विशिष्टतामा लागु गर्दा विकसित गरेको विचारका रूपमा जनताको बहुदलीय जनवादलाई अघि बढायो । पूर्वनेकपा (माओवादी केन्द्र)ले पनि ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’को अवधारणाबाट अघि बढाएको थियो । आज एकीकृत नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ संविधानको सर्वोच्चता, विधिको शासन, आवधिक निर्वाचन, शक्ति पृथकिकरणको सिद्धान्त, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विधि, बहुमतको सरकार र अल्पमतको विपक्ष, बहुलवादी खुला समाज र मानव अधिकारको रक्षा, लोकतन्त्रका विश्वव्यापी मान्यताहरूप्रति प्रतिबद्धतालाई निरन्तरता दिएको छ । अहिले यो पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म यिनै मान्यताका आधारमा वैचारिक र सांगठानिक एकता प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ ।

अन्त्यमा, माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक–फरक आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक विशिष्टताको आधारमा हाम्रा प्रयोग र अभ्यासमा केही भिन्नता देखिए पनि हाम्रो पुग्ने गन्तव्य भने एउटै रहेको छ । नेपाली कम्युनिष्ट आन्दोलनले विगत लामो समय राजनीतिक अधिकार प्राप्ति र शासन व्यवस्था परिवर्तनको लागि व्यतित ग¥यो । यसर्थ, विगतको हाम्रो स्कूलिङ पनि राजनीतिक अधिकारको प्राप्तितर्फ नै केन्द्रित थियो । अहिले हामीले राजनीतिक अधिकारको लडाईंमा सफलता हासिल गरेका छौँ । अब हाम्रो सिङ्गो ध्यान मुलुकको समाजवाद उन्मुख आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ मोडिएको छ । अब हाम्रो स्कुलिङ पनि आर्थिक विकास र समृद्धितर्फ नै केन्द्रित हुनेछ ।

(६ र ७ असोजमा काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कूल विभागको आयोजना र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको विशेष आतिथ्यतामा आयोजित ‘सी जिनपिङ’ विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलमा नेकपाका केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख ईश्वर पोखरेलद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्