Logo
Logo

माल्यार्पण र मौनधारणले पूरा हुँदैन शहीदको सपना


मनिषा आचार्य


हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए

कवि भूपि शेरचनले भने झैं– मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा वीर र वीराङ्गनाहरूले ज्यानको उत्सर्ग गरेका छन् । स्वतन्त्रता, समानता र सार्वभौमिकताका निम्ति अविचलित यात्रामा संघर्ष गर्दागर्दै धेरैले देह त्यागेका छन् ।

यी तमाम शहीदलाई एकमुष्ट सम्मान र सम्झने दिन हो– माघ १६ ।

देश र जनताका लागि निस्वार्थ जीवन उत्सर्ग गर्नेहरू शहीद हुन् । उनीहरू युग–युगसम्म नागरिकको मन–मनमा उच्च आदर र सम्मानसहित बाँचिरहन्छन् ।

स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि बलिदान गर्ने, निष्ठायुक्त, आदर्शवान, चेतनायुक्त, वीरता, साहस र समर्पण शहीदका पर्यायवाची हुन् । तर, उनीहरूलाई माल्यार्पण र मौनधारणमा सीमित गरिएका छन् ।

माल्यार्पण र मौनधारणले मात्र शहीदको सम्मान र सपना पूरा हुँदैन । शहीदको सम्मान तब हुन्छ जब उनीहरूले देखेका सपना पूरा हुन्छन् । तर, आजसम्म पनि शहीदको सपना पूरा हुन सकेको छैन ।

हरेक वर्ष सप्ताहव्यापी शहीद दिवस मनाइन्छ । सन्दर्भ पारेर विविध कार्यक्रम गरिन्छ । शहीद र बेपत्ता योद्धाको सपना पूरा गर्ने प्रतिवद्धता जनाइन्छ । प्रतिवद्धता सही हुन् । तर, शहीदको सपना साकार पार्न शहीदले देखाएको बाटो हिँड्न सकिरहेका छैनौँ ।

भाषणमा ‘शहीदका सपना पूरा गर्छौं’ भनिरहँदा शहीदको सपना के थिए ? ती सपनाहरू कहाँ अल्मल्याइयो ? सपनाहरू पूरा गर्ने दायित्वबोध गर्न किन सकिरहेका छैनौँ ? यी प्रश्नको जवाफ हामीभित्रै खोज्नुपर्ने हुन्छ ।

शहीदका सपना कसरी पूरा गर्न सकिन्छ ? शहीदका सपना पूरा गर्ने बाटोमा थप शहीद भएकाहरूको योगदानको कहाँ र कति कदर भयो ? असमानता र विभेद कायम छ । विपन्नता र पराधीनता नियतिकै रुपमा बाँकी छन् । यी सवालहरू आजका यक्ष प्रश्न हुन् ।

०००

नेपालमा भएका राजनीतिक संघर्षहरूमा धेरैले ज्यानको आहुति दिएका छन् । नेपाल आमाका हजारौं सन्तान शहीद भएका छन् । पछिल्लो पटक २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा १,६१९० (एक हजार छ सय उन्नाइस) जनालाई शहीद घोषणा गरियो । तर, शहीदको सूची तयार पार्दैमा हाम्रो अभिभारा पूरा हुँदैन ।

वर्तमान व्यवस्थाका निम्ति भएको दश वर्षे जनयुद्धका क्रममा सयौँ योद्धा बेपत्ता भएका छन् । हजारौं घाइते अपाङ्ग भएका छन् । राज्यसँग उनीहरूको यकिन लेखाजोखा समेत छैन । तर, शहीद र बेपत्ता योद्धाहरुको योगदानबिना आजको परिवर्तन सम्भव थिएन । त्यसैले उनीहरू सधैं हाम्रा लागि आदर्शपात्र हुन् । तर, आज उनै शहीद र बेपत्ता योद्धाको अपमान गर्ने क्रम जारी छ ।

पछिल्लो कालखण्डहरूमा शहीदलाई नै अपमान गर्ने गतिविधि भएका छन् । झै–झगडा र दुर्घटनामा ज्यान गुमाएकाहरूलाई पनि शहीद घोषणा गर्नुपर्ने जस्ता नैतिकताहीन मागहरू उठे । यसले वास्तविक शहीदको भावनामा ठेस पुगेको छ, शहीदप्रति अपमान भएको छ ।

संघर्षहरूमा छानिछानी छातिमा गोली दाग्नेहरु आज शहीदका असली अनुयायीका रुपमा उभिएका छन् । क्रान्तिलाई आतंकवाद भन्नेहरू वर्तमान व्यवस्थाका असली हकदार भनिरहेका छन् । शहीदका नक्कली अनुयायीहरू आम जनतामा भ्रम छरिरहेका छन् । वर्तमान व्यवस्थाका निम्ति बलिदान गर्नेहरूको सपनामा खेलबाड गरिरहेका छन् । तिनीहरू फेरिए तर साेंच बदलिएको छैन । त्यसैले आज पनि शहीदको सपनामाथि खेलबाड हुँदैछ ।

०००

आजको सन्दर्भमा दलाल पुँजीवादी समाजलाई परिवर्तन गर्नु, नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्नु, जनतालाई अधिकार सम्पन्न बनाउनु, देशलाई स्वाधीन बनाउनु र विश्वका जनताका मुक्तिका निम्ति आन्दोलनलाई सहयोग पुर्याउनु शहीदले देखेको सपना हो ।

शहीदका सपना साकार पार्ने जिम्मेवारी युवा पुस्तामा छ । अब युवा विद्यार्थी आर्थिक किल्ला निर्माण गर्ने मेरुदण्ड बन्नुपर्छ । आर्थिक श्रममा लाग्ने र कठिनाइका क्षेत्रमा स्वयंसेवी भएर काम गर्न सक्ने ल्याकत राख्नुपर्दछ, युवाले । र, उन्नत क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्नुपर्दछ ।

आजका युवा मातृभूमिका लागि समर्पित हुँदै आफ्नो पुस्ताको जिम्मेवारीलाई इज्जतका साथ पूरा गर्न आवश्यक छ । राष्ट्रियहितको अग्रमोर्चामा उभिनु नै शहीदप्रतिको उच्च सम्मान हो ।

समृद्ध समाजवादी राष्ट्र निर्माण आजको सपना र जिम्मेवारी दुबै हो । रगतको मूल्यमा रक्षित देशलाई समुन्नत बनाउन, नेपाली जनताका सुन्दरतम् आदर्शलाई यथार्थमा रूपान्तरण गर्नका लागि सङ्घर्षमा गौरवमय जोस प्रदर्शन गर्नु युवाको सबैभन्दा ठूलो सम्मान र गौरवको विषय हो ।

युवालाई स्वदेशमै विज्ञान र प्रविधिको तीव्रतम युगलाई समेत उछिन्ने र अगाडि बढ्न सक्ने सुनौलो अवसर र व्यवस्था राज्यले मिलाउनु पर्छ । सृजनात्मकता, बौद्धिकता तथा प्रतिभालाई पूर्ण विकास गर्ने अभियानमा युवा जुट्नुपर्छ ।

हामी युवा विद्यार्थी समुन्नत नेपालका स्तम्भहरू हौ । देशलाई वैज्ञानिक तथा प्राविधिक शक्ति र प्रतिभावान् राष्ट्रको रूपमा उभ्याउन युवा शक्तिले योगदान गर्नुपर्छ । सामाजिक, राजनीतिक तथा आर्थिक कृयाकलापहरूमा सक्रियतापूर्वक सहभागिता जनाउँदै, सैद्धान्तिक तथा व्यावहारिक क्षमता विकास गर्दै सीपयुक्त क्रान्तिकारी श्रमिकको रूपमा आफूलाई तयार पार्नुपर्छ ।

०००

अन्त्यमा,
शहीदको सपना र समर्पणलाई कति साकार पार्यौ, कति अधुरै छन् ? मनन गर्नुपर्छ । शहीद परिवारको अवस्था कस्तो छ ? यी प्रश्नको जवाफ हामीले नै खोज्नु छ । शहीदले खनेका गोरेटाहरूलाई मूलबाटो बनाएर गन्तव्यसम्म पुर्याउनु हाम्रै जिम्मेवारी हो । देशप्रतिको जिम्मेवारीलाई इमान्दारीका साथ पूरा गर्न हामीले कम्मर कस्नु छ । अनि शहीदको सपना साकार हुन्छ ।

शहिदहरुप्रति हार्दिक सम्मान र नमन !

प्रतिक्रिया दिनुहोस्