Logo
Logo

एउटै खाटमा दुई गर्भवती कमरेड



विवाहपछि गर्भवती हुनु स्वाभाविक हो– नारीका निम्ति । कोही बाध्यताले पनि बच्चा जन्माउँछन्– उमेर पुग्नुअघि नै ।

मेरो भने कुरा भिन्दै थियो । आफ्नै स्वेच्छामा जीवनरूपी गाडीलाई कठिन यात्रामा चलाउँदा–चलाउँदै आफैँले जीवनसाथी रोजेकी थिएँ र योजना बनाएरै गर्भवती भएकी थिएँ । तर, त्यो बेला भने एउटा चिसो सानो कोठामा एक्लै थिएँ ।

आफ्नै श्रीमान्लाई भेट्न जाँदा पेटमा बच्चा र झोलामा बन्दुक बोकेर पनि गएँ । प्रेम, साहस, ‘क्रान्तिकारी रोमान्टिसिज्म’ सबै मिस्सिएको गज्जबको सूप वा सलाद भएको थयो मेरो जिन्दगी । तर अहिले टाढाबाट फर्केर हेर्दा पार्टीका नेताहरुमा त्यो बेलासम्म पनि महिला कामरेडहरूका विशिष्ट अवस्था, आवश्यकता आदिबारे संवेदनशीलता र ज्ञानको सर्वथा अभाव देख्छु ।

एउटी गर्भवती कामरेडलाई बन्दुक भिराएर त्यति लामो बाटो एक्लै पठाउन हुन्थ्यो कि हुन्थेन ? तर मैले पनि त्यो बेला आफूभित्रको उत्साह, समर्पण आदिका कारण हो वा आफ्नो अपरिपक्वता र अव्यावहारिकताका कारण– ‘नाइँ, यस्तो बेला बन्दुक बोक्दिनँ’ भन्न सकिनँ र त्यो लामो बाटोमा बन्दुक बोकेरै हिँडे ।

त्यो ‘कटुवा बन्दुक’ पछि कहाँ पुग्यो, के भयो, त्यसले क्रान्ति र सामाजिक रूपान्तरणमा कति महत्वपूर्ण भूमिका निभायो, केही थाहा छैन । अहिले मलाई लाग्छ, त्यो बिल्कुलै अनावश्यक र निरर्थक दुस्साहस थियो ।

मैले त्यो बोकेँ, ‘एक पन्थ दो काज’ भनेझैं पार्टीले दिएको एउटा ‘ठूलो’ काम र आफ्नो मान्छेलाई भेट्ने चाहना पूरा गरेर फर्केँ । बीचैमा कुनै दुर्घटना भएको भए र पुलिसको फेला परेको भए मेरो कुनै नामनिशान हुने थिएन । यो कथा त कसैलाई थाहै हुने थिएन ।

अहिले यति धेरै समय बितिसकेपछि ती दिनहरुलाई टाढैबाट मात्र फर्केर हेर्ने प्रयत्न गरिरहेकी छु । त्यो बेला मात्र होइन, पछिसम्म पनि महिला कमरेडहरुले आफूले भोगेका समस्याहरुबारे, आफ्नो आवाजमा अभिव्यक्त गर्न नसकेका धेरै कुरा होलान् ।

पुरुषका कलमबाट त झन् कसरी निस्केलान् र महिलाका भोगाइका कथाहरु ! त्यो बेलादेखि नै म कलम समाउने भए पनि आफ्नो नाममा केही लेख्न सम्भव थिएन । राजनीतिक स्थितिमा परिवर्तन आइसकेपछि केही संस्मरण लेख्न थालेँ । यो संस्मरण लेखेको पनि २५ वर्ष नागिसकेछ ।

तर विभिन्न कारणले यसलाई त्यहीबेला प्रकाशित गर्ने आँट आफैँले पनि गर्न सकेको थिइनँ । अहिले नयाँ पुस्ताका नारी हस्ताक्षरहरुमा साहस, बुझाइ, सुसूचितता र स्पष्टता देख्दा खुसी र सन्तोष लाग्छ ।

नरदेवीको एउटा सानो कोठामा जसोतसो जीवन गुजार्दै थिएँ । साथैको अर्को कोठामा असल र पार्टीप्रति समर्पित युवा विद्यार्थीहरु बस्थे । त्योबेला उनीहरुबाट पाएको सहयोग र साथ बिर्सिनसक्नु छ । क्रान्तिबारे तिनको धारणा पनि हाम्रैजस्तो रोमान्टिक थियो ।

मेरो बुढा भूमिगत भएको कुरा थाहा पाएका उनीहरुमध्येका केही कुनबेला आफू पनि त्यस्तै हुने भनेर अधीर भएका देखिन्थे । तीमध्येकै अत्यन्त इमान्दार, समर्पित युवा क्रान्तिकारी विद्यार्थी थिए– दामोदर उपाध्याय । उनीसँग कहिलेकहीँ कुरा हुँदा त्यो बेलाका ‘नस्ट्याल्जिया’ अझ बढ्छ । कति पागल थियौँ– आफ्नो जीवनको भविष्यको बारेमा एक प्रतिशत पनि ध्यान नराखी सम्पूर्ण समय र शक्ति पार्टी, जनता र देशको निम्ति भनेर नै लाग्थ्यौँ ।

पेटमा बच्चा भएको त्यो बेला सबै कुरा बिर्सेर अरु पनि थरिथरिका जोखिम उठाउँदै, डाँडाकाँडा चढ्दै, सांगठनिक जिम्मा पूरा गर्दै हिँडे । पुरुष नेता कामरेडहरुले कसरी सोच्न सक्थे र ! दोषै पनि कसैलाई छैन । तर त्यो बेलासँगै बसेका ती युवा विद्यार्थीहरुले भने ‘देवर’ नै भएर वास्ता गर्थे ।

‘अब त सँगै खाउँ न’ भनेर मेसमा खाने प्रस्ताव पनि गरे । खुसी लाग्यो । कहिले आफैँ पकाउँथे । कहिले तिनै विद्यार्थीहरुले पकाएको खान्थेँ । डेरामा बस्ने विद्यार्थीहरुको दाल भए तरकारी हुँदैनथ्यो । तरकारी भए दाल हुँदैनथ्यो ।

गर्भवती अवस्थामा खान रुच्दैनथ्यो । तर ती ‘देवरहरु’ले मायाले पकाएको खानेकुरा प्रेमपूर्वक खाइदिन्थें । बेला बेलामा नेताहरु पाहुना लाग्न आइपुग्थे ।

एकपटक यस्तै पाहुना लाग्न आइपुगेका एक जना नेताले (पहिले उल्लेख भइसकेको उनै ‘बटनपुश कमरेड’ले) ‘आज म तरकारी पकाउँछु’ भने र काउली पकाए । मलाई काउली मनपथ्र्यो । तर कामरेडले के गरी पकाए कुन्नी, त्यो बेलादेखि पछिसम्म नै काउली तरकारी खानै सकिनँ ।

यस्तो बेला मनले कसैबाट माया खोज्दोरहेछ । लाग्थ्यो– आफ्नो मान्छेसँगै भैदिएको भए कति राम्रो हुन्थ्यो ! तर उनको खबरसम्म बुझ्न पनि महिनौँ कुर्नुपथ्र्यो ।

बिहेपछि तत्काल बसेको कोठा भुइँतलामा थियो । पछि एकतला माथिको सानो कोठामा सरेँ । अरु कोठामा ‘देवर’ कामरेडहरु बस्थे । र नेताहरुको पनि भेटघाट पनि त्यहीँ हुन्थ्यो । उनीहरुबाट पनि केही हेरविचार पुगोस् भन्ने हेतु थियो ।

सबै कुरा ठीकै थियो । त्यहीबेला मजस्तै एकजना अर्की गर्भवती कामरेडलाई सुरक्षित ठाउँमा राख्नुपर्ने भयो । उनी थिइन् अहिलेकी सभासद र नेता अशोक राईकी जीवनसाथी ।

अति खतरनाक स्थितिबाट जोगिएकी उनी भूमिगत थिइन् । उनलाई पनि मेरै कोठामा सँगै राख्ने निर्णय गर्याे पार्टीले । एउटै खाट थियो । दुईजना गर्भवतीहरु सँगै सुत्न सहज थिएन । म त्यहीबेलादेखि नै निदाउन नसक्ने । सुशीलाले पकाएको मीठो हुन्थ्यो । सानो स्टोभमा दुई जनाको निम्ति खाना पाक्थ्यो ।

म अझै पढाउन जान्थे– नजिकैको स्वर्णिम स्कुलमा । बचेको पैसाले दुवैको निम्ति खाना पाक्थ्यो । साथी टाढाबाट आएकी थिइन्– उनी त काठमाडौँकी पाहुना ! उनको विशेष ख्याल राख्नु मेरो पनि कर्तव्य ठान्थेँ ।

छिट्टै नै आमा हुन गइरहेका हामी दुई एकआपसमा अनुभूति साट्थ्यौँ । मैले केही समय अगाडिदेखि जन्मिनेवाला सन्तानको निम्ति लत्ताकपडा थाङ्नाहरु अलिअलि जम्मा गर्न थालेकी थिएँ– दिदीहरुकै अनुभवबाट सिकेर ।

बाहिरबाट भूमिगतरूपमा काठमाडौंमा बच्चा जन्माउन आएकी साथीलाई त त्यो अवसर पनि थिएन । मेरोभन्दा दुई हप्ता अगाडि उनको बच्चा जन्मियो । पार्टीको सहयोग भन्नु मेरो कोठामा जिम्मा लगाइदिनु थियो । बच्चा जन्मिएपछि अस्पतालमा खाना कसरी मिलाए, थाहा भन ।

आफ्नो बच्चाका निम्ति भनेर राखेको सबै थाङ्ना पहिले जन्मिने बच्चा र सुत्केरी साथीलाई पठाइदिएँ । धन्न जे पर्दा पनि मैले भन्न मिल्ने र मेरो कुरा बुझ्ने आमातुल्य पद्मा दिदी नजिकै थिइन् र मेरो निम्ति पनि केही बन्दोबस्त भयो ।

सुशीला हस्पिटलबाट फर्केर फेरि केही समय मेरै कोठामा आइन् । त्यहीबेला भूमिगत भएका मेरा मान्छे पनि बच्चा जन्मिने बेला मलाई साथ दिन भनेर केही समयको निम्ति आए । तर सँगै बस्न न ठाउँ थियो न अवस्था… ।

प्रतिक्रिया दिनुहोस्