Logo
Logo

प्रेमले झोसेको विद्रोहको राँको



गाह्रोमध्ये पनि गाह्रो काम– आफैंलाई मार्नु । आगोले पोलोस् या चोट लागोस्, हतारहतार अस्पताल जान्छौँ । औषधिमुलो गर्छौँ । तर, समाजमा कोहीकोही यस्ता हुन्छन्, जसले आफूलाई मार्न कुनै संकोच मान्दैनन् ।

अघिल्लो मंगलबार यस्तै घटना भयो– प्रेमप्रसाद आचार्यको आत्मदाह । त्यो पनि संघीय राजधानीको मुटुमै । संसद् भवनअगाडि । सम्झँदा पनि मुटु काँप्ने । मथिंगल रन्थनाउने । जल्नु त प्रेमको देह जलेको थियो । तर, सबैको मनमा आगो सल्कियो । माघको जाडोले जमेको मुटु पग्लियो । बेचैनी बढ्यो ।

प्रेम जलेको धुवाँ हावामा मिसियो । हावा, सहरदेखि गाँउसम्म पुग्यो । प्रेम जलेको खबर चारैतिर फैलियो । सबै स्तब्ध भए । राज्यप्रति आक्रोश पोखे । अवसादमा परे । केही नेताले आफैँलाई दोषी ठानेँ । आत्मग्लानी गरे । सामाजिक सञ्जालमा आ–आफ्ना धारणा राख्दै श्रद्धाञ्जली दिए ।

प्रायः सबैको एउटै निष्कर्ष थियो– राज्य निकम्मा बन्यो । ‘गरिखान्छु’ भन्नेलाई उपयुक्त वातवरण भएन । सोझो भएर यो देशमा बाँच्न नसकिने ठहराए । कतिले त नेपाली नागरिक हुनुमा हीनताबोधसमेत गरे । केहीले भने फरक धारणा राखे । घर र परिवारलाई धोका दिएको ठाने । आत्मदाहलाई कायरताको संज्ञा दिए ।

वि.स. १९९८ मा अरुण नदीमा ६७ अनुयायीसँगै योगमायाले जलसमाधि गरेका थिए । उनले जलसमाधि लिनुको मुख्य कारण थियो– महिलाको हक अधिकारलाई सुनिश्चित गर्नु । सतीप्रथाको नाममा भएका महिलामाथिको हिंसा रोक्नु ।

यहाँ प्रेम मात्र मरेको होइन, गरिखाने आशा मरेको हो । प्रेम मात्रै जलेको होइन, घृणा जलेको हो । विश्वास जलेको हो । निरीह नागरिकको आशा जलेको हो । समग्रमा देशको लोकतन्त्र जलेको हो । यहाँ आफ्नो शरीरमा पेट्रोल छर्किन मात्र नसकेका हुन् । सपना र रहरको आत्मदाह गरिसकेका प्रेमहरू हजारौं छन् ।

योगमाया र प्रेम दुवै फरक युगका, फरक चेतनाका फरक घट्ना हुन् । योगमायालाई विद्रोहकी प्रतिक मानियो । तर, प्रेमको विद्रोहचाहिँ कायरता ! तर, जलसमाधि भन्दा पनि कठोर विद्रोह हो, आत्मदाह । मान्छेले आफ्नो शरीरमा आफैं आगो लगाउने कुरा अकल्पनीय नै हो ।

प्रेमले निजी असफलता र डिप्रेसनको कारणले आत्मदाहको बाटो रोज्दै रोजेका होइनन् ! डिप्रेसनको सिकारले आत्मदाह गरेको भए उनलाई काठमाडौं आउन जरूरी थिएन । संसद् भवन अगाडि पुग्दैनन् थिए ! सामाजिक सञ्जालमा त्यति लामो पत्र पनि राख्दैन थिए ! इलाममा पनि पेट्रोल पाइन्थ्यो !

भन्नै पर्दैन– जतिसुकै असफलतामा पनि आत्मदाहको बाटो रोज्नु सही होइन । यो निन्दनीय छ, यो अपराध पनि हो । असफलताको अन्तिम निष्कर्ष मृत्यु कदापि हुन सक्दैन । उनी, बाँचेरै लड्नुपथ्र्यो । तर, यहाँ प्रेम मरेको मात्रै होइन, विद्रोह जन्मिएको पनि हो । प्रेमले नै भनिराखेका छन्– ‘छोरीहरु ठूलो भएपछि भन्नु मेरो आत्मदाह आन्दोलनको एउटा रूप हो ।’

यहाँ प्रेम मात्र मरेको होइन, गरिखाने आशा मरेको हो । प्रेम जलेको मात्रै होइन, घृणा जलेको हो । विश्वास जलेको हो । निरीह नागरिकको आशा जलेको हो । विवेकको उद्यम गर्नेको विवेकशून्यता जलेको हो । समग्रमा देशको लोकतन्त्र जलेको हो ।

प्रेम मात्र त जलेको हुँदै होइन, भ्रष्ट व्यवस्था दनदनी बलेको हो । दलाल प्रवृत्ति दन्किएको हो । ‘मुर्दा राजनीति’ बलेको हो । भावनाविहीन आधुनिकता पनि जलेको हो । सत्य यही हो– हाम्रो शासन व्यवस्था प्रेम जन्माउने कारखाना बनेको छ । तर, राज्य संयन्त्र भने बोतल र जर्किनमा पेट्रोल बेच्न प्रतिबन्ध लगाउँछ ।

आत्मदाह गर्नुअघि प्रेमले भनेका सबै कुरा पूर्णरूपमा सत्य होलान्, नहोलान् । केही मनोगढन्ते र बढाइचढाइ पनि हुनसक्ला ! तर, त्यो झुटो भने कदापि होइन । उनका कुरामा हाम्रो राज्य र व्यावसायिक जगतको समग्र चित्र देखिन्छ । यो प्रेमले मात्रै भोगेका समस्या होइन । सबैको साझा समस्या हो ।

त्यसैले सबैले प्रेमको दुखेसोको आयतन र गहिराइलाई मापन र मनन गर्नैपर्छ । उनले फुकाइदिएको पोका–पन्तराभित्र केवल एक व्यक्तिको होइन, हरजनताका कथाहरू छन् । व्यवसायीका नमिठो भोगाइ छन् ।

यहाँ केही गर्न खोज्नेहरू पाइला पाइलामा हतोत्साही हुन्छन् । व्यावसायिक जगतभित्रै ठूलाबाट साना लुटिरहेका छन् । व्यापारीहरूबाट उत्पादकहरू ठगिरहेका छन् । यसको एउटा उदाहरण हो– उखु किसान । किसानले फलाएको उखु उधारोमा लैजान्छन् । त्यसबाट बनेको चिनी नगदमा बेच्छन् । तर, उखु किसानले भुक्तानी पाउँदैनन् । माइतीघरमा आएर गुलियो खेतीको तीतो याथर्थ ओकल्नुपर्छ ।

सबैभन्दा दुःखको कुरा– जे भइरहेको छ, त्यसप्रति सरोकारवालाको चिन्ता छैन । राजनीतिक दल र नेतालाई सत्ता र शक्तिको मात्रै चिन्ता छ । नागरिकका दुःख, पीडा र समस्यामा ध्यान नै जाँदैन । छुट्न, फुट्न र गठबन्धन बनाउनमै व्यस्त छन् । नाटक र नौटंकीमै रमाइरहन्छन् ।

सत्ता–समीकरण बनाउनु र भत्काउनुलाई राजनीतिको कौशल र चातुर्यको मापक बनेको छ । नागरिकका चासो, चिन्ता, सरोकार, आशा र अपेक्षाको कुनै मूल्य छैन । राज्यबाट जनताले पाउनुपर्ने सेवा, सुविधाको गुणस्तरमा सुधार आयो कि आएन भनेर कहिल्यै चासो दिँदैनन् ।

यहाँ आफ्नो शरीरमा पेट्रोल छर्किन मात्र नसकेका हुन् । सपना र रहरको आत्मदाह गरिसकेका प्रेमहरू हजारौं छन् । त्यसैले भन्नैपर्छ– प्रेम जल्दा उब्जेका प्रश्नहरूलाई सबैले गम्भीर रुपमा लिनैपर्छ । कसैलाई पनि निभ्न दिनु हुँदैन ।

जति कुरा गरे कुरैको दःुख, राज्यप्रति जति गुनासो गरेपनि सकिँदैन । र, जति कराएपनि सुन्दैन । तर, अब पनि राज्य निकम्मा बनिरहने हो भने यहाँ निराशा रोकिँदैन !

गरिखान खोज्नेहरूलाई राज्यले सहज बनाइदिनुपर्छ, सकस होइन । ताकि, भविष्यमा फेरि प्रेमको जस्तो विद्रोह गर्न नपरोस् । यो घटनाबाट पाठ सिक्नैपर्छ । नेतृत्वमा भएकाहरूले अब नैतिकता देखाउनैपर्छ । र, बाँकीलाई प्रेमको बाटो रोज्नबाट रोक्नैपर्छ ।

कुन व्यवस्थाले जन्मायो आत्मदाह गर्नुपर्ने अवस्था ? अब यसको मूल जरो खोतल्नैपर्छ । यसतर्फ हरेकले सोच्नुपर्छ । नत्र भने प्रेम आचार्यहरू जन्मिरहेछन् ।

प्रतिक्रिया दिनुहोस्