Logo
Logo

एसपीका कारण मेयरको बदनाम


- दृष्टि न्युज/संवाददाता


माधव पौडेल

चितवन, २७ असोज । चितवनका एसपी दानबहादुर मल्लका कारण नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी सुपुत्री भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकै बदनाम हुन पुगेको छ । मल्लले आफूलाई अध्यक्ष प्रचण्ड र मेयर दाहालको आशीर्वाद छ भन्दै मनपरी काम गर्दैआएका छन् । एसपी मल्लले चोरीका मोटरसाइकल र गाडी खरिदबिक्री गर्ने गिरोहदेखि ढुंगागिटी, जुवा अखाडा संचालन गर्नेहरुसँग असुली गर्न बिचौलिया नै राखेका छन् ।

एसपी दानबहादुर मल्ल

एसपी मल्लको ध्यान शान्तिसुरक्षा कायम गर्नेभन्दा पनि बढी कमाइमा केन्द्रित हुने गरेको छ । उनले राजमार्ग लगायतका विभिन्न प्रहरी कार्यालयका इन्चार्ज एक महिनामै परिवर्तन गरेका छन् । उनले टेण्डर गरेरै कसले कति घुस बुझाउन सक्छ भनेर इन्चार्ज खटाएको आरोप छ । एक महिनामै इन्चार्ज परिवर्तन गरी उनले मासिक रुपमा आफूलाई दररेट अनुसार घुस बुझाउने सर्तमा प्रहरी सहायक निरीक्षक (असई) र नायव निरीक्षक(सई) सरुवा गरेका छन् ।

उनले रामनगरका सईलाई एक महिनामै तानेर जिल्ला प्रहरी कार्यालयका सई गजेन्द्र शाहलाई खटाएका छन् । पद्मपुरमा हवल्दारको दरबन्दी भएको ठाउँमा सई बिष्णु श्रेष्ठलाई इन्चार्जमा पठाइएको छ । पद्मपुरबाट बालुवा र गिटी अबैध उत्खनन् र ओसारपसार हुने गरेको छ । चनौलीमा सई पद्म बस्ताकोटीलाई खटाएका छन् । चनौलीका सईलाई पनि एक महिनामै तानी बस्ताकोटीलाई पठाइएको छ । जिल्लाको मुद्दाका सई शैलेन्द्र खड्काले भनेजति घुस नदिएपछि अर्को नयाँ सईलाई जिम्मा दिएका छन् । लोथरमा कुलबहादुर खत्री एसपी मल्लको टेण्डर बुझाउने सर्तमा गएका छन् ।

जिल्लामा लामो समयदेखि घुमुवा बसेका असई सीताराम खतिवडालाई जुगेडीमा पठाएका छन् । खतिवडा चारैतिर पैसा असुलीमा बदनाम भएका हुन् । असई लक्ष्मण पाठकलाई गोन्द्राङको इन्चार्जमा पठाएका छन् । वडा प्रहरी कार्यालय नारायणगढका घुमुवा श्याम अधिकारी र दीपक श्रेष्ठलाई पनि एसपी मल्लले मासिक घुस बुझाउने सर्तमा राखेका छन् । यी घुुमुवाले पेट्रोल पम्प अगाडि ठेला चलाएर चिया र कपडा बिक्री गरी मुस्किलले गुजारा गर्नेहरुसँग पनि घुस असुली गर्ने गर्दछन् । जुगेडीमा सई एैजन थापालाई र पारस बसपार्कमा सुनिल थापालाई पठाइएको छ । उनीहरु पनि टेण्डर हालेरै गएका हुन् । सई भानु आचार्य सौराहाको बछ्यौली चौकीमा टेण्डर बुझाएरै गएका हुन् । सौराहामा होटलहरुबाट घुस असुली गर्न पाउने भएकाले आचार्यले टेण्डर बुझाएरै गएका हुन् ।

एसपी मल्लले रामनगरको मासिक ५० हजार, पद्मपुरमा १ लाख ५० हजार, लोथर, सौराहाको बछ्यौली, चनौली, गोन्द्राङ, जुगेडीमा १ लाख रुपैयाँ दररेट अनुसार घुस तोकिएको चर्चा चितवन प्रहरीमा हुने गरेको छ ।

यसैबीच, खोलेसिमलमा सधैं ठूलो जुवा अखाडा संचालन हुँदैआएको छ । जुन अखाडा संचालन गर्ने राम मगर, दोङ लामा, वोझराज पौडेल, विकास राईसँग एसपी मल्लका बिचौलिया विजय बिकले मासिक १५ लाख घुस लिई संरक्षण गर्दैआएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्