Logo
Logo
दस्तावेज

‘सत्ताधारी नेता र मन्त्रीबाटै गणतन्त्रमाथि खतरा छ’


माधव नेपाल, अध्यक्ष, एकीकृत समाजवादी

4.3k
Shares

वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपश्चात् मुलुकमा स्थिरता कायम हुनेछ भन्ने जुन अपेक्षा गरिएको थियो, त्यस विपरीत मुलुक अस्थिरतातर्पm धकेलिन सक्ने खतरा पैदा भएको छ । निर्वाचन सम्पन्न भएबाट संविधानको कार्यान्वयन र लोकतन्त्रको अभ्यासमा केही सकारात्मक योगदान भएको छ । तर, जुन त्रिशंखु प्रतिनिधि सभा बनेको छ । त्यसबाट मुलुक अस्थिरतातर्पm धकेलिन सक्ने खतरा उत्पन्न भएको छ ।

अहिलेको प्रतिनिधि सभा त्रिशंखु मात्र होइन खिचडी प्रकृतिको समेत छ । त्यहाँ गणतन्त्रवादी र गणतन्त्र विरोधी, संघीयतावादी र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्म सापक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी शक्तिहरू बीचको द्वन्द्वले गर्दा मुलुकमा अस्थिरता तथा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा निम्तिन सक्छ । भूराजनीतिक जटिलता थपिदै जाने र राष्ट्रियतामाथि दखल पुग्न सक्ने खतरा छ ।

निर्वाचनबाट मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको छ । स्थापित राजनीतिक दलहरूको जनमत आम रूपमा घटेको छ । २०७४ को निर्वाचनमा मुलुकको पहिलो दल बनेको नेकपा (एमाले) यस पटक दोस्रो स्थानमा ओर्लिएको छ । त्यसबेला दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस अहिले पहिलो बन्न पुगेको छ । यद्यपि, त्यसको लोकप्रिय मत भने घटेको छ । तेस्रो स्थानमा रहेको माओवदी केन्द्र तेस्रो स्थानमै रहे पनि लोकप्रिय मत त्यसको पनि घटेको छ । चौथो र पाँचौँ स्थानमा रहेका मधेसवादी दलहरू पछि परेका छन् । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) पनि अपेक्षा गरिएभन्दा पछाडि परेको छ ।

राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपाको जनमत बढेको छ । स्पष्ट सिद्धान्त, विचार र कार्यदिशा केही नभएको केवल पुराना पार्टी र तिनका नेतालाई गाली गरेर उदाएको रास्वपा, विगतमा पृथकतावादी गतिविधि चलाएका सिके राउतको जनमत पार्टी र थारु पहिचानको माग उठाएका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसमेत नयाँ शक्तिको रूपमा अस्तित्वमा आएका छन् ।

तत्कालीन गठबन्धन भत्किनुको कारण
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध संघर्ष गर्ने क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको थियो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन’ भन्ने प्रतिबद्धताका साथ तत्कालीन गठबन्धन निर्वाचनमा गएको थियो ।

यस प्रतिबद्धताअनुसार निर्वाचनपछि उक्त वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बन्नु पथ्र्यो । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैले आफु पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान लिएको र एक पटक बचन दिइसकेका देउवा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्ड अप्रत्यासित रूपमा एमालेसहितका दलहरूसँग गठबन्धन गरी प्रधानमन्त्री बन्न गएकाले निर्वाचनका बेला कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धन भंग भएको छ ।

अप्रत्यासित रूपमा नपाँ परिस्थिति उत्पन्न हुनुमा मूख्य चार कारण रहेका छन् । निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु र माओवादी केन्द्रको सत्ता केन्द्रित सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्तिका कारण तत्कालीन गठबन्धन भत्किन पुगेको छ ।

वाम–दक्षिणपन्थी खिचडी सरकार
नेकपा (माओवादी केन्द्र) अप्रत्यासित रूपमा निर्वाचनका बेलाको गठबन्धन छाडी नयाँ गठबन्धनमा गएपछि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, रास्वपा, नाउपा र जनमत पार्टी मिलेर सत्ता गठबन्धन बनेको छ । यो गठबन्धन खिचडी प्रकृतिको छ ।

यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, संघीयताको पक्षधर जसपा र संघीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नागरिक उन्मुक्ति पार्टी र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन् ।
यो गठबन्धन प्रगतिशील चरित्रको छैन । यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहीन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ ।

सत्तारुढबाटै व्यवस्थामाथि खतरा
आजको अवस्था हिजो दुईदुई पटक संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम हो । तिनै ओली वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन् । उनले आफ्नो दृष्किोण र उद्देश्य अनुरुप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्पm लाने प्रयत्न गर्दै छन् ।

वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको सरकार पनि प्रगतिशील होइन खिचडी चरित्रकै छ । सरकारको स्वरूप एकदमै भद्दा छ । चार वटा उपप्रधानमन्त्री राखिएको छ र स्वार्थ बाँझिने गरी मन्त्रीहरू नियुक्त गरिएको छ । राजनीतिक रूपमा अपरिपक्व व्यक्तिहरू मन्त्री बनेका छन् ।

सत्ता गठबन्धनका नेता र मन्त्रीहरूका अभिव्यक्ति र प्रतिबद्धताहरू यथार्थसँग पटक्कै मेल नखाने खालका छन् । उनीहरूका अभिव्यक्तिबाट संविधान, गणतन्त्र र संघीयतामाथि खतरा पैदा भएको छ । त्यसले गर्दा जनतामा नकारात्मक प्रभाव पर्न थालेको छ । गठबन्धनभित्रै पनि मतभेद र असन्तुष्टि देखापरेको छ । राजनीतिक वृत्तमा एक प्रकारको अन्योल सिर्जना भएको छ । विचारहीन र अराजनीतिक सत्ता गठबन्धन बनेको हुँदा मुलुकमा राजनीतिक स्थिरता कायम हुने होइन बरु अस्थिरताको खतरा बढेको छ ।

प्रधानमन्त्रीलाई किन विश्वासको मत ?
मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको छ । समाजवादी कार्यदिशा आँगालेका शक्तिहरू विरुद्ध प्रहार भइरहेको छ । मुलुकको आर्थिक अवस्था झनै संकटग्रस्त हुँदै गएको छ । राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको छ । हाम्रो पार्टीले सहमति र स्थिरता कायम गर्न सकिन्छ कि भन्ने सोचेर १५बुँदे सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ ।

हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौँ, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौँ । नेकपा (माओवादी केन्द्र) विगत गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौँ ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सरकार गठन गर्नका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डो¥याउने कि नडो¥याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको छ ।

कुन दल कस्तो ?
अहिले मुलुकको राजनीतिक रंगमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील छन् । ती राजनीतिक शक्तिहरू संसदभित्रसमेत क्रियाशील छन् भने केही संसद बाहिर मात्रै क्रियाशील छन् । संसद बाहिर खासगरी बिप्लव समूह, वैद्य समूह आदि कम्युनिष्ट आन्दोलनभित्रका केही घटकहरू रहेका छन् ।

कांग्रेस दलाल पुँजीपतिको पक्षपोषक
अहिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । तथापी, यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।

एमाले दक्षिणपन्थी अवसरवादी
प्रतिनिधि सभाको दोस्रो ठूलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।

माओवादी केन्द्र ढुलमुले
प्रतिनिधि सभाको तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ । तर, सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।

रास्वपा निराशाको उपज
प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पँुजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे पनि गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ ।

राप्रपा सामन्ती
प्रतिनिधि सभाको पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पँुजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टी समाजमा अवशेषको रुपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सब्घीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ ।

जसपा प्रजातान्त्रिक समाजवादी
प्रतिनिधि सभाको छैँठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक समाजवादी सिद्धान्त आँगालेको पार्टी हो । मुख्यतः मधेश प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सब्घीयताप्रति प्रतिवद्ध रहेको छ ।

जनमत सुधारउन्मुख पार्टी
प्रतिनिधि सभाको आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेशलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोंच आँगालेको पार्टी हो । तर, अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

लोसपा बुर्जुवा
प्रतिनिधि सभाको नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी हो । मुख्यगरी, मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।

नाउपाको वर्ग चरित्र अस्पष्ट
संसदको १०औँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर संगठित एवं क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन ।

नेमकिपा जडसूत्रवादी
प्रतिनिधि सभाको ११औँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवं अत्यन्त संकीर्ण चरित्रको कम्युनिष्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ । तर, नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र संकीर्णताले गर्दा निरन्तर खुम्चिदै गएको छ । भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै छ ।

जनमोर्चा संघीयता विरोधी
प्रतिनिधि सभाको १२औँ स्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक संगठन हो । यो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर, संघीयताको विरोधी पार्टी हो ।

श्रमजीवी वर्गको सच्चा प्रतिनिधि एकीकृत समाजवादी
नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रूपमा रहेको हाम्रो पार्टी प्रतिनिधि सभाको सातौँ स्थानमा छ । हामी वर्तमान संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहदै समाजवादी कार्यदिशा अँगालेर अगाडि बढिरहेका छौँ । हामीले आजभन्दा करिव १६ महिना पहिले तत्कालीन नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका साथै संविधानमाथिको आक्रमण र जनक्रान्तिका उपलब्धीमाथि धावा बोल्ने प्रतिगमनकारी कदमका विरुद्ध विद्रोह गरेर पार्टी पुनर्गठन अभियान सुरु गरेका थियौँ । त्यो अभियान अहिले पनि जारी छ ।

आजको राजनीतिमा सैद्धान्तिक रुपले हामी नै नेकपाका सच्चा प्रतिनिधि हौँ तर, एमालेबाट विद्रोह गरी आएको हुनाले त्यसका कैयन विसंगतिहरू हामीसँग पनि आएका छन् । हामीले ती विसंगतिहरूबाट आफुलाई मुक्त गरेर अगाडि बढ्नुपर्छ ।

निर्वाचनबाट प्राप्त उपलब्धि र शिक्षा
विभिन्न प्रकारका समस्या र कमी कमजोरीका बाबजुद यस निर्वाचनबाट केही उपलब्धि पनि हासिल भएको छ । यस निर्वाचनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित १० जना र प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १५ तथा समानुपातिक ९ गरी जम्मा २४ जना सदस्य निर्वाचित हुनुभएको छ । यो सानै भए पनि उपलब्धि हो ।

यस निर्वाचनबाट प्राप्त सबैभन्दा ठूलो शिक्षा भनेको सफलता प्राप्त गर्नका लागि बलियो र व्यवस्थित संगठन अनिवार्य छ भन्ने हो । त्यसबाहेक आर्थिक एवं स्रोत साधनको व्यवस्थापन हुनुपर्ने, जनताको मन छुने खालका प्रभावकारी प्रचार सामग्रीहरू हुनुपर्ने रहेछ भन्ने जस्ता शिक्षा पनि यस निर्वाचनले हामीलाई दिएको छ । यी शिक्षा हामीले पहिले पनि प्राप्त गरेकै शिक्षा हुन् ।

तथापि, यस निर्वाचनका माध्यमबाट पुनर्ताजगी भएको छ । यस पटकको निर्वाचनले आम जनतामा पुराना स्थापित दलहरूप्रति विकर्षण र नयाँ दलहरूप्रति आकर्षण बढेको देखायो । पुराना दलहरू रूपान्तरित नहुने हो र परम्परागत ढंगले नै चल्ने हो भने उनीहरूप्रतिको विकर्षण अझै बढ्दै जाने देखिन्छ । यो पनि यस निर्वाचनबाट प्राप्त भएको एउटा शिक्षा हो ।

वाम एकता र मोर्चा निर्माण
वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माण गर्नका निम्ति एउटा बलियो कम्युनिष्ट शक्तिको आश्यकता छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो बलियो कम्युनिष्ट शक्ति निर्माण हुन सक्तैन ।

यही मर्मलाई आत्मसात् गरेर हामीले पार्टी पुनर्गठन अभियान सुरु गर्दा नै नेपालको वाम आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने अवधारणा अगाडि सरेका थियौँ । र, केन्द्रीय कमिटीको प्रथम बैठक (२०७८ असोज ५–७) बाट पारित राजनीतिक प्रस्तावमा “वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो” भनेर उल्लेख गरेका थियौँ ।

यो कार्यभार वहन गर्नुपर्ने दायित्व आज पनि हाम्रो काँधमा छ । तर, के स्पष्ट हुनु पर्दछ भने हामी गैर कम्युनिष्ट पार्टी बन्न सत्तैmनौँ । पार्टी एकता हुनका निम्ति पार्टीको नाम कम्युनिष्ट पार्टी, मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, जनवादी केन्द्रीयताको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता र समाजवादी कार्यक्रम एवं कार्यदिशा मुख्य आधार हुन् ।

यी मुख्य आधारमा एकरूपता नभइकन पार्टी एकता हुन सक्दैन । सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ । त्यसका निम्ति हामीले पहल गर्नु पर्छ ।

सफलता सुनिश्चित छ
हामी इतिहासको एउटा विशिष्ट मोडमा छौँ । हालै सम्पन्न निर्वाचनपश्चात् मुलुकको स्वतन्त्रता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा र विकास, नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा र थप विकास एवं विस्तार गर्ने जस्ता गहन जिम्मेवारीहरू बहन गर्न हामी झनै जिम्मेवार हुनुपर्ने र कठोर मिहेनत गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अर्कोतर्पm, पार्टीलाई नयाँ ढंगले पुनर्गठन एवं रूपान्तरण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्ने र समाजवादी क्रान्तिको कार्यदिशालाई सशक्त ढंगले अगाडि बढाउने दायित्व पनि हाम्रो काँधमा छ । यी गहन जिम्मेवारी र दायित्व बहन गर्न हामी सुव्यवस्थित रूपमा संगठित एवं परिचालित हुनुपर्छ ।

हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कि, हाल नेपाली राजनीतिमा व्याप्त व्यक्तिवादी अहंकारवाद, दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, चरम गुटबन्दी र निरंकुश एवं स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध तिखो वैचारिक संघर्ष सञ्चालन गरेर मात्रै उपर्युक्त जिम्मेवारीहरू पूरा गर्न र दायित्व वहन गर्न सक्ने छौँ ।

त्यसैले आउनोस् हातमा हात र काँधमा काँध मिलाएर उपर्युक्त गहन जिम्मेवारी पूरा गर्न र दायित्व वहन गर्न दृढ संकल्पित भएर अगाडि बढौँ । नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र एकताको अभियानलाई सफलतामा पु¥याउने र समाजवादको झण्डालाई माथि उठाउने महान अभियानमा दृढ विश्वासका साथ जुटौँ ।

नेता तथा कार्यकर्ताको सक्रियतामा सशक्त संगठित शक्तिको निर्माण र परिचालनमा नै सफलता निर्भर गर्दछ । सशक्त संगठित शक्ति निर्माण गरेर दृढ निश्चय र गतिशीलताका साथ हामी अगाडि बढ्यौँ भने सफलता सुनिश्चित छ ।

(नेकपा (एकीकृत समाजवादी)को राजधानीमा माघ २१ र २२ गते बसेको केन्द्रीय कमिटीको पाँचौ बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको सम्पादित अंश ।)

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000