Logo
Logo

गणतन्त्रमाथि वामपन्थीबाटै खतरा छ : चित्रबहादुर केसी


चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा


राष्ट्रपतिको निर्वाचन नजिकिँदै छ, कस्तो पृष्ठभूमिको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना देख्दै हुनुहुन्छ ?
बजारमा चर्चा त विभिन्न खालका भइरहेका छन् । कतिपयले राजनीति बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेको पनि सुनिन्छ । तर, त्यस्ता व्यक्तिले राष्ट्रपति जस्तो गरिमामय पदको मर्यादा धान्न सक्दैनन् । परिवर्तनको लागि भूमिका खेलका दलहरूबाटै राष्ट्रपति बनाउनुपर्छ । लोकतन्त्रका लागि, गणतन्त्रका लागि लडेको नेतालाई नै राष्ट्रपतिका लागि उपयुक्त पात्र हुन्छ ।

एमालेले अघि सारेको उम्मेदवार राष्ट्रपति बन्छ कि, तत्कालीन पाँचदलीय गठबन्धनबाट ?
केपी ओलीलाई राज्य सत्ताका सबै पद सुम्पनु हुँदैन । अहिलेको परिस्थिति पनि त्यसतर्फ उन्मुख छैन । राष्ट्रिय सभाको अध्यक्ष पनि ओलीलाई, प्रतिनिधि सभाको सभामुख पनि ओलीलाई अनि राष्ट्रपति पनि ओलीलाई हुन सक्दैन ।

राष्ट्रपतिकै निर्वाचनले वर्तमान सत्ता गठबन्धन भत्किने र पुरानो पाँचदलीय गठबन्धन ब्युँतने सम्भावना छ ?
पाँचदलीय गठबन्धन ब्युँतनेभन्दा पनि ओलीहरूलाई अहिलेको गठबन्धन भत्काएर फाइदा छैन । सत्ता छाड्दा केन्द्रदेखि प्रदेशसम्म बाहिरिनुपर्ने हुन्छ । त्यसकारण ओलीले सहजै सत्ता छाड्छन भन्ने मलाई लाग्दैन । अहिलेको सत्ता गठबन्धन भत्कदा एमालेका नेताहरूले रजाइँ गर्न पाउँदैनन् । अहिले त केन्द्रीय सरकारमा मात्रै होइन, प्रदेशमा पनि एमालेका नेताहरूले रजाइँ गरेकै छन् । त्यो गुम्ने भएकाले एमालेले सहजै सरकार छाड्छ जस्तो लाग्दैन । यद्यपि, अहिले नै भविश्यवाणी गर्न अलि हतार हुन्छ । राष्ट्रपति चाहिँ पाँचदलीय गठबन्धनबाट हुने सम्भावना प्रबल छ । सरकार चाहिँ कति दलीय हुन्छ, अहिले नै भन्न सकिँदैन । राजनीतिक अवस्था क्लियर हुन यो हप्ता पर्खनुपर्छ ।

तपाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्नुभयो, प्रचण्डको बुझाइ के पाउनुभयो ?
प्रधानमन्त्री प्रचण्ड सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्नेमा अडिग हुनुहुन्छ । प्रधानमन्त्रीले आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान नछाडेको बताउनुभएको छ । सबै दललाई मिलाउन लागिपरेको छु भन्नुभएको छ । राष्ट्रियताको मुद्धा कमजोर भएको छ, राष्ट्रिय शक्ति मिलेर अगाडि बढ्नुको विकल्प छैन भन्ने नै प्रचण्डको बुझाइ पाएको छु । संघीयताबाहेक राष्ट्रिय जनमोर्चाले उठाउँदै आएका अन्य सबै मुद्दाहरू मेरा पनि मुद्धा हुन भन्नुभएको छ ।

प्रचण्डले भनेको राष्ट्रिय सहमति के रहेछ ?
राष्ट्रिय सहमति भनेको भएभरको पद एमालेलाई सुम्पनु हुँदैन भनेको हो । त्यति त तपाईँहरूले पनि बुझ्नुहुन्छ नि । मेरै मुखबाट किन ओकल्न खोज्नुहुन्छ ?

तपाईँले प्रधानमन्त्रीसँग के कुरा राख्नुभयो ?
राष्ट्रियताको रक्षा, शान्ति सुरक्षा र जनजीविकाको सवाल सम्बोधन गर्न हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौँ । संविधानको रक्षा र देशको अभिभावकीय भूमिका निभाउन सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेका छौँ । अहिलेको राष्ट्रपतिमाथि विभिन्न आरोप लाग्ने गरेको छ । अब राष्ट्रपति छान्दा त्यस्तो हुनु भएन भन्ने कुरा हो । संघीयता खारेज गर्नुपर्छ भन्ने मुद्धा पनि हामीले उठाएका छौँ । राष्ट्रियतामाथि बाह्य शक्तिको धेरै चलखेल भयो । एमसिसी स्वीकारेर गल्ती गर्नुभयो । गणतन्त्र धरापमा प¥यो । स्वयं सत्ताधारी पार्टीले राजालाई मिसाएर गणतन्त्र भत्काउने अभियान थाले । यस्तै विषय हामीले प्रधानमन्त्रीसँग राखेका हौँ ।

विदेशी सक्रियता पनि राष्ट्रपति निर्वाचनसँग जोडिएको छ ?
ठूला दलका नेताहरू आफ्नो स्वार्थअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन विदेशी ढोग्न गएपछि बाह्य सक्रियता बढ्नु स्वभाविक हो । हाम्रा नेताहरू नालायक भएकै कारणले अहिले बाह्य शक्तिले खेल्ने अवसर पाएका छन् । आफ्नो देश र स्वाधिनताको मामलामा आफैँले गर्नुपर्ने निर्णयमा आफ्नो दुनो सोझाउन शक्ति राष्ट्रहरूलाई गुहारिरहेका छन् । शक्ति राष्ट्रहरूले राष्ट्रिय मुद्धामा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएका थिए । तर, अहिले प्रत्यक्ष रुपमै आफ्नो देशको अनुकुल व्यक्तिलाई राष्ट्रपति बनाउने खेल खेलिरहेका छन् । यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दख्खल भइरहेको छ ।

विदेशी शक्ति राष्ट्रका कर्मचारी आउँदा लम्पसार पर्न लाज लाग्नुपर्ने हो । तर, त्यस्तो महसुस गरेको पाइँदैन । यहाँका राजनीतिक दलका नेताहरूको कमजोरीको फाइदा उठाएर अमेरिका, भारत लगायतका देशले आफुले भनेको मान्ने, आफ्नो एजेण्डा बोक्ने व्यक्तिलाई राष्ट्रपति बनाउन खोजेका छन् । यत्रो आवतजावत, बसिबसाउभित्र गम्भीर स्वार्थ लुकेको छ । विदेशीको आशिर्वादबाट हामीले दुनो सोझाउने जुन काम गरिरहेका छौँ, त्यो क्षम्य हुन सक्ने विषय होइन । केबल सत्ता र शक्तिमा रमाउनका निम्ति गणतन्त्रलाई सिध्याउने अभियान चलिरहेको छ ।

कसले चलाउँदै छ, गणतन्त्रलाई सिध्याउने अभियान ?
केहीदिन अघि सत्तारुढ दल नेकपा (एमाले)का नेताबाट पूर्वराज ज्ञानेन्द्रलाई उपस्थित गराएर पूर्वमा थालिएको अभियान के हो त ? झापामा जुन दृष्य देखियो, त्यसले गणतन्त्रमाथि मडारिएको कालो बादल देखियो । त्यसकारण गणतन्त्रमाथि आक्रमण सुरु भइसकेको छ । खुलेआम गणतन्त्रको विरुद्धमा सत्ताधारी दलका नेताबाटै अभियान चल्न सुरु गरेको छ । जुन शक्तिले मुलुकमा गणतन्त्र स्थापना गर्नका लागि संघर्ष ग¥यो, उसलाई मात्रै थाहा हुन्छ गणतन्त्रको महत्व । गणतन्त्र कसैको निगाहले, कसैको आशिर्वादले, कसैले दाइजो दिएको त होइन नि । हामी त ६०–६५ वर्षदेखि निरन्तर गणतन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा लडेर आएका हौँ । त्यसकारण गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ । अहिले सत्ता र शक्तिको लुछाचुडीबाट गणतन्त्र नै खतरामा पर्ने, लोकतन्त्र नै खतरामा पर्ने खालको दृष्य देखिएको छ । यसमा हामी सजग हुनैपर्छ ।

तपाईँहरू कम्युनिष्ट भन्नुहुन्छ, अनि गैरकम्युनिष्टलाई राष्ट्रपति बनाउन लाग्नुहुन्छ । भनाई र गराईँमा मेल खाएन नि ?
अब कम्युनिष्ट नाम राखेर मात्रै हुँदैन । आचरणमा के फरक छ ? कम्युनिष्ट नाम गरेको ओलीमा के फरक छ ? प्रचण्डमा के फरक छ ? त्यसकारण कसैले कम्युनिष्ट नाम राखिदियो भनेर कम्युनिष्ट हुन् भन्ने हुँदैन ।

हामीले त २०७४ मा कांग्रेसलाई हराउन एमाले, माओवादी, हामी सबै मिलेर वाममोर्चा बनाएकै हो । नेपाली जनताले पनि साथ दिएकै हुन् । तर, खत्तम परे नि । माल पाएर चाल नपाउनेहरू सँग तपाईँ कति पटक झुक्किनुहुन्छ ? वामपन्थीहरूको हविगत त टेस्ट गरिदिइ हाले नि । त्यो ०७४ को वाम एकतालाई कायम गरेको भए, अहिले मुलुकको स्थिति के हुन्थ्यो ? अहिलेको स्थानीय तह, प्रदेश र संघीय चुनावमा कति राम्रो पकड हुन्थ्यो वामपन्थीहरूको । त्यसकारण कांग्रेसलाई ल्याउनुपर्ने, कांग्रेस आउनुपर्ने परिस्थिति त यिनै वामपन्थी हुँ भन्नेका चरित्र र गतिविधिले नै निर्माण गरिदिएको हो । भन्नलाई मात्रै वामपन्थी भनेर हुँदैन । चरित्रमा पनि वामपन्थीको हुनुपर्छ ।

राष्ट्रियता, सुशासन, जनजीविकाबारे वामपन्थी र गैरवामपन्थीलाई कसरी छुट्याउनुहुन्छ ? वामपन्थी र गैरवामपन्थी सबै एकै खालका छन् । सत्तामा आएर कमाउने बाहेक अरु केही देखिएको छैन । सत्तामा आएर आफु बन्ने र आफ्नो मान्छे बनाउने प्रवृत्ति कांग्रेसको पनि हो, वामपन्थी भन्नेहरूको पनि हो । ०७४ मा वाम एकता भएको तुलनात्मक रुपमा वामपन्थीहरूले राष्ट्रियताको बढी रक्षा गर्छन भनेरै हो नि । त्यसलाई त धुलोपिठो पारिहाले नि । ओली प्रधानमन्त्री हुँदा के–के गरे भन्ने त आम जनताले छर्लंगै देखेकै छन् त ।

अहिले पनि ओलीबाटै खतरा हो ?
ओलीले केन्द्रीय कमिटीमा चयन गरेको व्यक्ति (दुर्गा प्रसाईँ) राजासँग मिलेर अभियान चलाएको देख्नुभएन झापाबाट ? अब, यो जान्दाजान्दै वामपन्थी मिल्नुपर्छ भन्छन् ओलीका मतियारहरू । गणतन्त्रमाथि खतरा वामपन्थीहरूबाटै हुन थालेको छ । यसलाई हामीले बुझ्नुपर्छ ।

विगतमा ओलीका गतिविधि र राष्ट्रपतिको भूमिकाले तपाईँहरू अझै शशंकित हुनुहुन्छ होइन ?
विगतमा मात्रै होइन, अहिले पनि त्यस्तै गतिविधि भइरहेका छन् । गणतन्त्र मास्ने षडयन्त्र अहिले पनि भइरहेको छ । जहाँसम्म राष्ट्रपतिको कुरा हो, राष्ट्रपति रबर स्ट्याम्प बन्नु त भएन नि । राष्ट्रपति भनेको त संविधानको पालक, संविधानको रक्षक हो । त्यस्तो त भएन । रक्षक नै भक्षक भएको त तपाईँ हामीले देखिहाल्यौँ ।

दलको कार्यकर्ता हुँदा रबर स्ट्याम्प हुने भएपछि दलभन्दा बाहिरबाट राष्ट्रपति बनाउँदा के बिग्रिन्छ ?
लोकतन्त्र, गणतन्त्रका लागि लड्दै आएका व्यक्तिबाट नभएको बाहिरबाट स्वतन्त्र भनिएका व्यक्ति जसको उद्देश्य जीन्दगीभर कमाउनु, आफ्नो बन्दोबस्ती गर्नुबाहेक केही चिन्तन भएन, त्यस्तो व्यक्तिले झन् धान्छन ? गणतन्त्रमा राष्ट्रपतिजस्तो महत्वपूर्ण पदको गरिमा ती स्वतन्त्र भनिएका व्यक्तिले बुझ्न सक्दैनन् । जसले निजी स्वार्थमा जीन्दगी बितायो, त्यसबाट के हुन्छ ? जीन्दगीभर आफ्नो, आफ्नो परिवार र आफन्तको बारेमा मात्रै सोच्ने व्यक्तिले कसरी राष्ट्रको अभिभावकत्व लिन सक्छ ? त्यसकारण राजनीतिक व्यक्तित्वलाई नै राष्ट्रपति बनाउनुपर्छ । चोर भएपनि, चण्डाल भएपनि दलहरूले लोकतान्त्रिक गणतन्त्रका लागि त्याग, संघर्ष गर्दै आएका छन् । अहिले कमजोरी भएपछि त्याग त दलका नेताहरूकै छ नि ।

त्यस्तो पात्र को त ?
राष्ट्रपति कि शक्ति राष्ट्रले टुंग्याउने हो, कि शक्ति राष्ट्रका गोटीले टुंग्याउने हो भन्ने कुरा अहिले भन्न सकिँदैन । एउटा कर्मचारी आउँदा लामलस्कर लागेको देख्नुभएन ? यसले राष्ट्रिय स्वाभिमान के बताउँछ ? नेपालबाट पूर्वप्रधानमन्त्री वा जिम्मेवार मन्त्री भारत जाँदा भारतीय शासकहरूलाई भेट्नै सक्दैनन् । र, निराश भएर फर्किनुपर्छ । तर, छिमेका कर्मचारी आउँदा नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू, आफुलाई जान्ने–सुन्ने देशका स्वाभिमान भन्नेहरू किन विदेशीका अगाडि लम्पसार परिरहेका छन् ? राष्ट्रिय स्वाभिमानको बारेमा अलिकति पनि लाज लाग्नुपर्ने होइन ? अहिले राष्ट्रियता अत्यन्तै कमजोर भएको छ, नेपालकै राजनीतिक पार्टीहरूको आत्मसमर्पणवादी प्रवृत्तिबाट शक्ति राष्ट्रहरूले फाइदा उठाएका छन् ।

तत्कालीन पाँचदलीय गठबन्धन ब्युँत्याउने विषयमा तपाईँहरूबीच छलफल भएको छैन ?
मैले अहिले तत्कालीन पाँचदलीय गठबन्धनका नेताहरूसँग भेटघाट केही पनि गरेको छैन । गठबन्धन भएको बेलामा मलाई बोलाउँछन, जान्छु । गत पुस १० गतेदेखि तत्कालीन गठबन्धनका नेताहरूसँग मेरो भेटघाट छैन । अस्ती प्रचण्डलाई पनि प्रधानमन्त्रीको हैसियतमा भेटेको हो, तत्कालीन गठबन्धनको नाताले होइन । अहिले त पाँचदलीय गठबन्धन नै भत्किएको अवस्था छ ।

भनेपछि गठबन्धन सत्ताका लागि मात्रै हुने रहेछ होइन ?
गठबन्धन सत्ताका लागि भनेको त तपाईँहरूले अर्थ लगाएको मात्रै हो । निर्वाचनमा पाँचदलीय गठबन्धन नभएको भए, ओलीले अहिलेसम्म के–के गरिसक्थे । ओलीले दुई–दुई चोटी संसद भत्काए । सर्वोच्चले संसद पुनस्र्थापना गरेपछि पनि ९ महिनासम्म ओलीले संसद चल्नै दिएनन् । तत्कालीन पाँचदलीय गठबन्धनकै कारण संसदले पाँच वर्षसम्म काम गर्न पायो । ओलीले दुई तिहाई ल्याउँछु भन्थे, गठबन्धनकै कारण ओली खुम्चिन बाध्य भए । त्यसकारण तत्कालीन पाँचदलीय गठबन्धनले केही गरेन भन्ने चाहिँ ओलीपक्षीय र दरबारीया मान्छे हुन् । त्यो गठबन्धनकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगिएको छ ।

अब, यो संसदको आयू चाहिँ कति छ त ?
मुलुकलाई खाली चुनावमा लगेर राज्यको अर्बौँ, खर्बौँ स्वाहाः पार्न त दिनु भएन नि । संसदले पाँच वर्ष पूरा कार्यकाल चल्नुपर्छ भन्ने हाम्रो चाहना हो । तर, गतिविधि हेर्दा पूरा कार्यकाल चल्न देलान जस्तो छैन । संसदको पहिलो बैठकमा ओलीले संसद भंग गर्ने कुरा गरिसके । त्यसकारण पनि स्थिरताका पक्षधरहरू सचेत हुनुपर्छ ।

ओलीले त ‘मिसन ग्रासरुट’ भनेर मध्यावधि चुनावको तयारी नै गरिसके नि ?
ओलीले चाहेर मात्रै त हुँदैन । ओलीले चाहेकै हुने भए त आज यो व्यवस्था नै नरहन सक्थ्यो । अहिले पनि अस्थिरता निम्त्याउने प्रयास हुन सक्छ । त्यसकारण स्थिरता, सुशासन र समृद्धिको नारा लिएर निर्वाचनमा गएका शक्तिहरू एकजुट हुनुपर्छ । मिलेर ल्याएको गणतान्त्रिक व्यवस्था मिलेरै बचाउनुपर्छ । यदि, हामी गणतन्त्र पक्षधर विभाजित भयौँ भने प्रतिगामी शक्तिहरूले खेल्ने ठाउँ पाउँछन् । अहिले पनि भएको त्यही नै हो । यो स्थितिलाई धेरै पर जान दिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्