Logo
Logo
टिप्पणी

राष्ट्रपतिमा यसो गरे कसो होला ?



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बनाउन भन्दा भत्काउनमा खप्पिस छन् । पाँच दलीय गठबन्धनले निर्वाचन पछाडि पनि दश, पन्ध्र वर्षसम्म वाम लोकतान्त्रिक गठबन्धनले निरन्तरता पाउने प्रतिवद्धता जनाएका थिए । तर, निर्वाचन परिणामपछि पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओली सफल भए । र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेँ ।

प्रधानमन्त्रीको ‘च्याप्टर’ अहिलेका लागि क्लोज भयो । अब राष्ट्रपतिको ‘च्याप्टर’ ओपन भएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेलाई राष्ट्रपतिमा सहमति जनाएका प्रचण्डलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी समेतले विश्वासको मत दिएपछि प्रचण्डको मनस्थिति फेरिएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिबाट राष्ट्रपति निर्वाचन हुनुपर्ने अडानमा छन् । शक्ति सन्तुलनको हिसाबले विगतमा पनि प्रमुख राजनीतिक पार्टीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा भागबन्डा गरेका थिए । दलीय व्यवस्थामा विगतको यो अभ्यासलाई उत्कृष्ट मान्नुपर्ने हुन्छ ।

विगतमा एउटै दलको राष्ट्रपति र प्रधानमन्त्री हुँदा के सम्म भयो भन्ने घटनाक्रमको विश्लेषण गर्ने हो भने, एउटै दलको नेतालाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनु हुँदैन भन्ने शिक्षा दिएको छ । त्यसमाथि राष्ट्रपति एमालेलाई दिनु हुँदैन भन्ने जनमत किन पनि बलियो भएको छ भने ‘आधा आधा’ कार्यकाल प्रधानमन्त्री चलाउने सहमति प्रचण्ड र ओलीबीच भएको छ । त्यो सहमति कार्यान्वयन भयो भने २ वर्षपछि ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पनि एमालेकै हुनेछ ।

यस्तो अवस्थामा प्रधानमन्त्री निरंकुश तानाशाह हुने खतरा हुन्छ । लोकतन्त्र धरापमा पर्न सक्छ । जुन विगतको तितो अनुभव पनि छ । यही कुरालाई मनन गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा खोजिरहेका छन् । राष्ट्रिय सहमतिको वातावरण पनि बनेको छ । संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिने भित्रि सहमति पनि भएको छ ।

पाँच दलीय गठबन्धनभित्र हुर्किएको यो वातावरणले एमाले अध्यक्ष ओली झस्किएका छन् । र, फेरि पाँच दलीय भत्काउन माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने कुरा एमाले खेमाबाट उछालिएको छ । ओली र नेपालबीच भेट भएको ‘पेक समाचार’ बजारमा पस्किएको छ । एमाले र एकीकृत समाजवादी पुनः एकता हुने हल्ला फैलाइएको छ । माधव नेपाल सशर्त राष्ट्रपति बन्न तयार भएको गलत सूचना प्रायोजित गरिएको छ ।

बजारको हल्लाको पछाडि नकुदेर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने हो भने पाँच दलीय गठबन्धनबाटै नेपालको नाम सर्वसम्मत रुपमा आउनुपर्छ । यदि पाँच दलीय गठबन्धनभित्र माधव नेपालको नाम सर्वसम्मत रुपमा आयो भने संविधानको पालना र लोकतन्त्रको रक्षा हुन्छ । पाँच दलीय गठबन्धनमा कांग्रेसको मतभार १६ हजार १४२, माओवादी केन्द्रको मतभार ७ हजार ७ सय ९३ र एकीकृत समाजवादीको मतभार २६ सय २२ रहेको छ । यो सबै जोड्दा २६ हजार ५ सय ५७ पुग्छ । राष्ट्रपतिका लागि चाहिने मतभार भनेको २६ हजार ३८९ मात्र हो ।

राष्ट्रपतिमा माधवकुमार नेपाललाई अगाडि सार्दा पाँच दलीय गठबन्धनबाटै मतभार पुग्छ भने एमालेको किन आवश्यकता ? बरु प्रचण्डपछि आलोपालो प्र्रधानमन्त्री नेपाली कांग्रेसले लिए हुन्छ । यसो गर्दा पाँच दलीय गठबन्धन पनि बलियो हुने र प्रतिगामी पुरुत्थानवादी तत्व परास्त हुन्छ । यो कोणबाट सोच्दा शक्ति सन्तुलन, दलीय भागबन्डा मिल्ने मात्र होइन, माओवादी र कांग्रेसको सरकारमा सहकार्यले पाँच वर्षसम्म निरन्तरता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्