Logo
Logo

अध्यागमनमा गृहका अधिकृतहरूको असुली आतंक


9.2k
Shares

काठमाडौं । गृह मन्त्रालय अन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा कार्यरत कर्मचारीले असुली आतंक मच्याइरहेको खुलासा भएको छ । 

विमानस्थलको प्रयोग गर्दै हुने अनेक गैर कानुनी काम अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा हुने गरेको बुझिएको छ । यसअघि मोटो रकम बुझाएर विमानस्थल पुगेका ति कर्मचारीले अहिले असुली धन्दा चलाउँदा यस्तो अवस्था आएको हो ।

गृहका तत्कालीन उपसचिव शोभाकर रेग्मी लगायतलाई मोटो रकम बुझाएर अध्यागमन पुगेका ति शाखा अधिकृत स्तरका थुप्रै कर्मचारीले सुरुदेखि नै पैसा कमाउने बाटो रोजेका हुन् । यसरी कमाउने धन्दामा लागेका कर्मचारी अध्यागमनको अन्तिम डेस्क र संवेदनशील क्षेत्रमा कार्यरत छन् । उनीहरूले ओके भनिसक्दा कानुनी रूपमा वर्जित कामसमेत तमाम हुने गरेका छन् ।

पैसा बुझाएर अध्यागमन पुगेका ति कर्मचारीले लामो समयसम्म शोभाकर लगायतलाई मासिक ३० लाख रुपैयाँभन्दा धेरै रकम बुझाउँदै आएका थिए । अहिले भने त्यो समूहले पैसा बुझाउने ठाउँ फेरिएको बुझिएको छ ।

अध्यागमनमा जारी असुली धन्दा गृह प्रशासनकै सेटिङ चलिरहेको स्रोतले बताएको छ । हाल गृहमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै लिएका छन् । त्यसैले गृहमा कर्मचारीकै हालीमुहाली चलिरहेको छ । अध्यागमनको सेटिङलाई गृहका जिम्मेवार कर्मचारीले नेतृत्व गरिरहेको स्रोतले बताएको छ । 

पैसा बुझाएर अध्यागमन पुगेका अधिकृतहरू गृहका उपल्लो नेतृत्वलाई महिनावारी पैसा बुझाउन निवासमै जाने गरेका छन् । कर्मचारीहरूका लागि अध्यागमन ‘मालदार’ क्षेत्रमा पर्छ । त्यसैले पैसा बुझाएरै विमानस्थलमा रजगज गरिरहेका छन् ।

अध्यागमनमा कार्यरत कर्मचारीलाई ड्युटीको समयमा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । तर, यसरी सेटिङमा काम गरिरहेका कर्मचारीहरू भने जातिखेर पनि स्टेण्डबाइ हुन्छन् । सेटिङका आधार काम गर्नुपर्ने भएकाले उनीहरू ड्युटीको बेला पनि मोबाइल प्रयोग गरिरहेका हुन्छन् ।

यसरी पैसा बुझाएर अध्यागमन पुगेका केही कर्मचारी भने गृहमै फर्किसकेका छन् । तर, केही भने अझै पनि पावर मिलाएर अध्यागमनमै रहेका छन् ।

अध्यागमन जान चाहने गृह अन्तरगतका कर्मचारीसँग गृह प्रशासनका उच्च अधिकारीहरूले सेटिङ मिलाउने क्रम पनि जारी छ । त्यसका लागि यसअघि अध्यागमन पठाउन भूमिका खेल्ने कर्मचारी र गिरोहहरुले नै काम गरिरहेको स्राेतले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्